बागमतीका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ड्राफ्ट, राजीनामाअघि मन्त्रीहरूले भेटेका थिए देउवा

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामालाई अविश्वासको प्रस्ताव ड्राफ्ट गरेर नेपाली कांग्रेसका चार मन्त्रीले राजीनामा दिएको खुलेको छ ।

लामासँग असन्तुष्ट कांग्रेसका चारजना मन्त्रीले राजीनामा दिएका छन् । उनीहरूले आफ्नै दलका मुख्यमन्त्री फेर्ने प्रयासस्वरूप मन्त्रीहरूलाई राजीनामा गराएको खुलेको छ ।

आजै कांग्रेस संसदीय दलको नेताबाट लामालाई हटाउनका लागि अविश्वासको प्रस्ताव संसदीय दलमा दर्ता गराउन ड्राफ्ट तयार गरेर ह्वाट्सएप मार्फत राजीनामा बुझाएइएको छ । कांग्रेसका एक सांसदले जानकारी दिए अनुसार संसदीय दलको नेताबाट हटाएर मुख्यमन्त्री पनि हटाउने तयारी गरिएको हो ।

मुख्यमन्त्री लामाले बजेटमा मनोमानी गरेको र योजना बेचेको भन्दै कांग्रेसकै मन्त्रीहरू उनीसँग रुष्ट थिए । आज युवा तथा खेलकुदमन्त्री मिनकृष्ण महर्जन, आन्तरिक मामिला तथा कानूनमन्त्री सुरजचन्द्र लामिछाने, संस्रकृति तथा पर्यटनमन्त्री विमल ठकुरी र सहकारी तथा गरिबी निवारणमन्त्री मधुकुमार श्रेष्ठले राजीनामा दिएका हुन् ।

राजीनामा दिएका चारैजना मन्त्रीले केही दिनअघि मात्रै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका थिए । कांग्रेस नेतृत्व पनि उनलाई निरन्तरता दिने पक्षमा नरहेको बुझिएको छ । सभापति शेरबहादुर देउवासँगको भेटपछि लामालाई राजीनामा गर्न सुझाव दिए पनि उनले नमानेको स्रोतले बतायो ।

कांग्रेसले लामाको स्थानमा इन्द्र बानियालाई नयाँ मुख्यमन्त्री बनाउन चाहेको छ । बानियाँ बागमती प्रदेश सभापति पनि हुन् ।

२०७९ पुस १३ गते भएको निर्वाचनमा बानियाँलाई ५ मतले हराएर लामा संसदीय दलको नेता निर्वाचित भएका थिए । बागमतीमा कांग्रेस र एमालेका गठवन्धन सरकार छ । कांग्रेसका ३७ जना सांसद छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *