काठमाडौं । लगातारको वर्षा अभावका कारण देशभर गर्मीको असर तीव्र बनेको छ भने तराई-मधेशका जिल्लाहरू गम्भीर खडेरीको चपेटामा परेका छन् । खेतबारीमा रोपाईं ठप्प भएको छ भने खानेपानीसमेत अभाव हुन थालेपछि जनजीवन कष्टकर बनेको छ ।
यसै सन्दर्भमा प्रदेश सरकारद्वारा मधेशलाई ‘सुखा क्षेत्र’ घोषणा गरिएको छ । यता संघीय सरकारले पनि मधेश प्रदेशका सबै जिल्लालाई ‘विपद् संकटग्रस्त क्षेत्र” घोषणा गरिसकेको छ।
पूर्व उपप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफ्नो फेसबुकमार्फत् खडेरीबाट प्रभावित जनताको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै तत्काल राहत प्याकेज घोषणा गर्न सरकारलाई आग्रह गरेका छन् ।
उनले लेखेका छन्, ‘खडेरीको कारण रोपाईं मात्र होइन, खानेपानीसमेत समस्या भएको छ। तर अहिलेसम्म सरकारले त्यसतर्फ समुचित ध्यान दिन सकेको छैन। तत्काल राहत प्याकेज घोषणा गरियोस् ।’
श्रेष्ठले संघीय र प्रदेश दुवै सरकारलाई संकटको समयमा जिम्मेवारीपूर्वक कार्य गर्न आह्वान गरेका छन् ।

Leave a Reply