काठमाडौं । राजावादी प्रमुख दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र दुई गुटबीचको अन्तरसंघर्ष चर्किँदै जाँदा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको खोजी हुन थालेको छ । उनी अहिलेको गुटगत लडाईंमा कतै पनि सामेल भएका छैनन् ।
पदीय हिसाबले मिश्र राप्रपामा अध्यक्ष राजेन्द्र लिङदेनपछिको ‘सेकेन्ड म्यान’ हुन् । अहिले राप्रपामा लिङदेन नेतृत्वको संस्थापन पक्ष र महामन्त्री डा. धवलशम्शेर राणा नेतृत्वको असन्तुष्ट समूहबीच चर्को अन्तरविरोध छ । मिश्र भने दुवै गुटका पक्षमा खुलेका छैनन् ।
अध्यक्ष लिङदेनले एकपछि अर्को गर्दै संस्थापनइतरका नेताहरुलाई कारवाहीको डण्डा हान्न थालेपछि अन्तरद्वन्द्व चर्किएको हो । उनले संस्थापन इतरका नवराज सुबेदीलाई अनुशासन समितिबाट र सगुन सुन्दर लावतीलाई प्रवक्ताबाट एकैदिन हटाएका थिए ।
उक्त कारवाहीको विरोधमा निकालिएको वक्तव्यमा हस्ताक्षर गरेको उपाध्यक्ष मुकुन्दश्याम गिरीलाइए पनि लिङदेनले बर्खास्त गरे । यसले पार्टीभित्र ठूलै खल्बली पैदा गरेको छ ।
असन्तुष्ट पक्षहरु कारवाही अवैधानिक रहेको भन्दै निर्वाचन आयोग धाइरहेका छन् । लिङदेन भने रोकिने मुडमा छैनन् । अझै पनि थप नेताहरु कारवाहीमा पर्न सक्ने संस्थापन पक्षको चेतावनी छ ।
राप्रमा सबै प्रमुख नेताहरु कारवाहीको पक्षमा विपक्षमा खुलिसकेका छन्, शिवाय रविन्द्र मिश्र । वैचारिक हिसाबले मिश्र महामन्त्री डा. धवलशम्शेर राणासँग निकट मानिन्छन् । उनीहरुबीच व्यक्तिगत सम्वन्ध पनि सुमधुर छ ।
तीनकुनेको आन्दोलनपछि उनीहरु एकसाथ पक्राउ परेर सँगै हिरासतमा समेत बसेका थिए । तर राणाले बोलाएको असन्तुष्ट पक्षको वैठकमा मिश्र सहभागी भएनन् । त्यसयता पनि असन्तुष्ट पक्षका कुनै पनि गतिविधिमा उनी संलग्न छैनन् ।
त्सो तर अध्यक्ष लिङदेनसित पनि मिश्रसँग सम्वन्ध बिग्रेको छैन । राप्रपा प्रवेश गरेयता मिश्रले लिङदेनको विषयमा नकारात्मक टिकाटिप्पणी गरेको अहिलेसम्म सुनिएको छैन । यद्यपि, मिश्रप्रति लिङदेन सँधै सशंकित देखिन्छन् । निर्णायक समयमा उनले संस्थापन इतर समूहलाई साथ दिन सक्ने त्राश उनलाई छ । यता संस्थापन इतर समूह मिश्रको भौतिक नभए पनि भावनात्मक साथ पाउनेमा आशावादी देखिन्छ ।
मिश्रका निकटस्थहरु भने उनी पार्टीको आन्तरिक एकताको पक्षमा रहेको बताउने गर्छन् । राप्रपाको इतिहासमा पटकपटक टुटफुट र बिग्रहबाट गुज्रिँदै आएकाले फेरि त्यो अवस्था नदोहोरियोस भन्नेमा उनको प्रमुख चिन्ता भएको निकटस्थहरुको भनाइ छ ।
‘कम्तिमा ८४ को चुनावसम्म सबै मिलेर जाउँ भन्ने उहाँको मनशाय देखिन्छ । राजसंस्थाको पक्षमा राम्रो माहोल भएकाले ८४ को चुनावमा एकतावद्ध भएर जाँदा राम्रो नतिजा आउन सक्ने तर अन्तरकलह वा विभाजन भएको खण्डमा फेरि धक्का खानुपर्ने हुन सक्ने उहाँको निस्कर्ष हो,’ ती नेताले भने ।
मिश्र अहिले राजनीतिक रुपमा त्यति सक्रिय पनि छैनन् । हिरासतबाट निस्केयता उनी लगभग निस्क्रिय अवस्थामै देखिन्छन् । पार्टीका वैठकहरुमा बाहेक अन्य गतिविधिहरुबाट उनी टाढै छन् ।
तीनकुने आन्दोलनपछि सँगै पक्राउ परेका राणा र मिश्रमध्ये सरकारी निकायहरुले मिश्रप्रति बढी कठोरता देखाएका थिए । उनलाई हिरासतमा लैजाँदा हरेकपटक हातमा हत्कडी लगाइएको थियो । यस्तै पुर्पक्षका लागि भएको बहसमा राणाको तर्फबाट दुई जना जुनियर सरकारी वकिलहरुले बहस गरेका थिए भने मिश्रको विरुद्ध सहन्यायाधीवक्ताकै नेतृत्वमा ८ जना सरकारी वकिलहरु लर्को लागेका थिए ।
मिश्रलाई जसरी पनि जेलमै सडाउने षडयन्त्रसहित राज्य संयन्त्र नै लागेको उनका वकिलहरुको बुझाइ छ । त्यही भएर वकिलहरुले उनलाई मुद्दा चलुञ्जेल सकेसम्म राजनीतिक भूमिका र अभिव्यक्तिहरुलाई न्यूनीकरण गर्न दवाव दिइरहेका छन् ।
तर, पार्टीको आन्तरिक राजनीतिमा नबोल्नुको कारण भने उनको तटस्थतावादी लाइन नै हो । राष्ट्रिय राजनीतिका मुद्दाहरु, खासगरि राजसंस्थाको वकालतमा अरु नेताभन्दा बढी नै मुखर भएर सामाजिक सञ्जालमा सक्रिय हुने गरेका भए पनि पार्टीको आन्तरिक विवादमा भने प्राय उनी मौन नै बस्ने गरेका छन् ।
मिश्र भन्छन्- मेरो जुँगा धेरै नतान्नुस् न
आफ्नो मौनतालाई लिएर प्रश्नहरु उठ्न थालेपछि मिश्रले हिजो सामाजिक सञ्जालबाटै जवाफ दिए ।
उनले आफ्नो पुरानो भिडिओ सेयर गर्दै लेखेका छन्, ‘मेरो जुँगा धेरै नतान्नोस् न, कृपया !’ प्रमुख नेताहरुले देशमा धेरै विवाद र संकट भएमा सार्वजनिकरुपमा बोल्नुपर्ने तर पार्टीभित्रको विवाद र संकटमा धेरै बोल्नु नहुने आफ्नो मान्यता उनले दोहोर्याएका छन् ।
उनी लेख्छन्, ‘म देशको प्रमुख नेता होइन तर पदीयरूपमा पार्टीको एकजना प्रमुख नेता हुँ । त्यसैले म अत्यावश्यक नभई बोल्दिन। सबैले एकै पटक बोल्नु पर्दैन। नबोल्नुलाई डराएको भनेर कसैले सोचेको छ भने त्यसको मुल्य महंगो पर्न सक्छ।’

Leave a Reply