जीवनलाई मैले समाजसँग जोडेर हेर्ने गरेको छु । म पहाडकै काखमा जन्मिएँ । पहाडको स्वच्छ हावामा सास फेर्दै खोलामा बगिरहेको चिसो पानी पिएर मैले जीवनको गोरेटोमा अघि बढ्न सुरु गरेँ ।
सामाजिक कार्य र समाजसँग बुबाको सामिप्यताले पनि बाल्यकालदेखि नै आफूसँगसँगै समाजलाई पनि सधैँ उत्साह जगाउँदै अघि बढाउन प्रयासरत छु र त्यसलाई निरन्तरता पनि दिइराखेको छु । त्यही उत्साहले मभित्र ऊर्जा थप्छ ।
सात समुद्रपारीको व्यस्त जीवनलाई पनि मेरो देशको धर्म, संस्कृति, रीतिरिवाज, परम्परालाई अन्य देशका समाज र हाम्रै नयाँ पुस्ताबीच कसरी चिनाउन सकिन्छ भनेर तल्लीन छु ।
आफू रहेको ठाउँमा जसरी भए पनि आफ्नो धर्म, संस्कृतिको पहिचान गराउने सामाजिक अठोटलाई ग्रेटर स्याक्रमेन्टो, क्यालिफोर्निया, अमेरिकामा रहनुभएका सज्जन मनहरूको सहयोग र सहभागिताले प्रोत्साहित गरी केही लक्ष्यमा पुग्न समर्थ बनाएको महसुस गरेको छु ।
आफू मात्र होइन, सबै नेपालीभाषीहरूलाई नेपाल र नेपालीको पहिचानका लागि कसरी आकर्षित गराउन सकिन्छ भनेर प्रवासमा रहेका नेपालीहरूसँग समन्वय गर्दै विभिन्न संघसंस्थाहरूको स्थापना, सञ्चालन र निरन्तरतामा दुई दशकको अनुभवले झन् मलाई उत्साहित बनाउँदै लगेको छ ।
विगत २०–२५ वर्षदेखि नेपालबाट अवसरको खोजीमा विदेशिनेको लहरसँगै अमेरिकामा पनि धेरै नेपालीहरू आइसकेका छौँ । हामी नेपालीहरूको जातीय विविधता, आ-आफ्नै भिन्न धर्म, संस्कार र अमेरिकामा बढ्दो नेपाली जनघनत्वसँगै नेपाली समाजले आफ्नै भवन (कम्युनिटी सेन्टर) को आवश्यकता महसुस गरी अमेरिकाका विभिन्न राज्यका सहरहरूमा नेपाली संस्कृति झल्किने मन्दिर र कम्युनिटी भवनहरू निर्माण र सञ्चालन भइरहेका छन् । यसले संसारभरिबाट अमेरिकामा भेला भएका समुदायका बीच गर्विलो पहिचान दिएको छ ।

क्यालिफोर्निया राज्यको लस एन्जलसमा नेपाली समुदायले आफ्नो पहिचान झल्किने गरी पशुपति र बुद्ध मन्दिर (हिन्दु टेम्पल) र कम्युनिटी सेन्टरको स्थापना र सञ्चालन गर्दै आएका छन् ।
अर्को ठूलो संख्यामा नेपाली समुदाय रहनुभएको सन फ्रान्सिस्को वे एरियामा पनि उत्तम कार्की, अनिल पाण्डे, धन दवाडी, तेज राई जस्ता अभियान्ताहरूको लामो अथक प्रयास र अभियानले नेपाली समुदायको संस्था न्यान्सको अगुवाइमा आफ्नै कम्युनिटी भवन स्थापना भएको छ ।
नेपाली पहिचान, नेपालीको गौरव, नेपालीको भविष्य र शान झल्काउने यो सामुदायिक भवन रिचमन्ड, क्यालिफोर्नियामा अवस्थित छ । त्यो हलको क्षमता ७ सयभन्दा बढीको संख्यामा आगन्तुक अटाउने छ, जसले गर्दा ठूला कार्यक्रम गर्न हामीले अन्यत्र ठाउँ खोजिरहनु पर्दैन भने यसको अगुवाइ न्यान्सका अध्यक्ष प्रितेश कार्कीले गरिरहनुभएको छ ।
यसैबीचमा रिचमन्ड, क्यालिफोर्निया एरियामा नै बसोबास गरिरहेका नेपाली अभियान्ताहरूले मुक्तिनाथ धाम स्थापना गरी नियमित धार्मिक भजनकीर्तन लगायतका कार्यक्रम सञ्चालन भइरहेको छ ।

यस्तै, क्यालिफोर्नियाको क्यापिटल सिटी स्याक्रमेन्टोमा ग्रेटर स्याक्रमेन्टो एरियामा बस्नुहुने सज्जन नेपालीजनहरूको सहयोग र सद्भावमा दीपक मास्केले नेतृत्व गरी ग्रेटर स्याक्रमेन्टो नेपाली कम्युनिटी सेन्टरस्थापना हुन पुग्यो र जसको अथक प्रयासपछि कार्मिचाइल, स्याक्रमेन्टोमा करिब ६ लाख डलरमा एउटा भवन खरिद गरी सञ्चालन र प्रवद्र्धन गर्दै आएका छौँ, जहाँ अहिले साहित्यिक, धार्मिक, सांस्कृतिकदेखि अन्य कार्यक्रमहरू भइरहेका छन् । यस भवनलाई नेपाली मन्दिरसहितको बृहत् बनाउन हामी प्रयासरत छौँ ।
नयाँ पुस्तालाई नेपाली भाषा सिकाउनकै लागि केही पहिलेदेखि नै रिचमन्ड वे एरियामा नेपाली स्कुल सञ्चालन गरिरहेको थियो भने नाटोमास, याक्रमेन्टोमा पनि स्रष्टा कृष्ण गिरीको अगुवाइमा नेपाली भाषा पाठशाला सञ्चालन भइरहेको छ, जहाँ शनिबार र आइतबार नेपाली भाषा पढाइन्छ ।
नेपाल र नेपालीको भावना जोड्ने उद्देश्यले पनि सामुदायिक भवनको स्थापनाका लागि समाज र समाजका अगुवाहरू तल्लीन रहँदै आएका छन् । नेपाली समुदायका लागि नेपाली कम्युनिटी सेन्टरको आवश्यकता र महत्व बुझी नेपाली समाजले अन्य सहरहरूमा पनि कम्युनिटी भवनको आवश्यकतालाई महसुस गरी प्रक्रिया अगाडि बढाइरहेका छन् ।
यस अभियानले मूर्तरूप पाओस्, मेरो व्यक्तिगत साथ सहयोग रहने नै छ ।

प्रश्न उठिराखेको छ, किन विदेशी भूमिमा पनि नेपाली सामुदायिक भवन नै चाहियो त ? मैले माथि नै दर्शाइसकेँ, नेपाल र नेपालीको पहिचानका लागि, हाम्रो धर्म, संस्कार, संस्कृति हाम्रै नयाँ पुस्ताले सहर्ष स्वीकार गरून् भन्नका खातिर । अर्को पाटो छ, अधिकांश अमेरिका बसोबास गर्नुहुनेले आफ्ना अभिभावकलाई पनि आफूसाथ ल्याएका छन् ।
उहाँहरूको लागि पनि यस प्रकारका सामुदायिक भवन फलदायी हुनेछन् । धेरै जना भएपछि एकआपसमा गफ गर्दै दिनचर्या व्यतीत गर्न सहज हुनेछ । अनि महत्त्वपूर्ण कुरा, हामी सबैको निवृत्त जीवनलाई सहज बनाउन सकियोस् भनी नेपाली महान् पर्वहरू एकै ठाउँमा भेला भएर खुसी साटासाट गर्दै हर्षोल्लासले मनाउन सकौँ ।
विविधताले भरिएको हाम्रो जात, धर्म, संस्कार र परम्परालाई सबैसामु चिनाउने प्रवासमा रहेका नेपाली समुदायको प्रयास हो । राज्य सञ्चालकले हामीलाई (गैरआवासीय) गैरनागरिकको रूपमा हेरे पनि राज्यप्रतिको हाम्रो उत्तरदायित्व, देशको चिनारीका लागि सबै प्रवासमा बसेका नेपाली एकजुट हुनुपर्छ ।
राज्य भनेको राज्य सञ्चालकको मात्र होइन, त्यहाँको माटोको सुगन्ध, कलकल बग्दै गरेका खोलाको पानी, डाँडापाखामा रमेर हुर्किएका कर्मठ हाम्रो पनि हो । चित्त कुँडिन्छ, विमानस्थलमा ओर्लिएपछिको व्यवहारदेखि कुनै पनि सरकारी, गैरसरकारी कार्यालयमा आफ्नो व्यक्तिगत काम लिएर जाँदा प्रशासन र कर्मचारीको व्यवहार स्पष्ट नीति–नियम नभएकोले ।

गैरनागरिकको व्यवहार जहाँबाट जजसले गरे तापनि हामीले हाम्रो माटोलाई भुल्नुहुन्न । सदैव हामीले हाम्रो संस्कृतिका साथसाथै हाम्रो संस्कार तथा विचारधारा ‘वसुधैव कुटुम्बकम’ – ‘अयं निजः परो वेति गणना लघुचेतसाम् । उदारचरितानां तु वसुधैव कुटुम्बकम्’ अर्थात् ‘यो मेरो हो, त्यो अर्काको हो भन्ने सोच संकुचित हृदय भएकाहरूको हुन्छ, उदार चरित्र भएकाहरूका लागि त सारा पृथ्वी नै एउटा परिवार हो’ भन्ने सोच राखेर अगाडि बढ्नुपर्छ ।
हाम्रो राष्ट्रको पहिचानको लागी जहाँ छौं, जस्तो छौं, जति सक्छौं, एकजुट भएर लाग्नुपर्छ ।
(लेखक नेपाली समाज सेक्रेमेन्टो क्यालिफोर्नियाका विभिन्न सामाजिक संस्थाका संस्थापक सामाजिक अभियान्ता एनआरएन हुन्)

Leave a Reply