काठमाडौं । यो वर्ष विभिन्न सेवाका २२११ जना कर्मचारी अनिवार्य अवकाशमा जाने भएका छन् । राष्ट्रिय निजामती किताबखानाको तथ्यांकअनुसार अवकाशमा जानेको सूचीमा मुख्यसचिव एकनारायण अर्यालसहित २१ सचिव र ७८ जना सहसचिव पनि छन् ।
विभिन्न सेवाका सचिवमध्ये केही ५ वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा जान लागेका हुन् । साथै कोही ५८ वर्षे उमेर हदले घर जाँदैछन् ।
२०८१ भदौ १३ गते मुख्यसचिव नियुक्त भएका एकनारायण अर्याल आगामी मंसिर १० मा उमेर हदका कारण अनिवार्य अवकाशमा जाँदैछन् । मुख्यसचिवको कार्यकाल ३ वर्ष भए पनि ५८ वर्षे उमेर हदका कारण उनी १५ महिना पूरा नगर्दै घर जान लागेका हुन् । अर्यालसँगै गृहसचिव गोकर्णमणि दुवाडी पनि अवकाशमा जाने छन् । दुवाडी ५ वर्षे सचिवको कार्यकाल पूरा गरेर अवकाशमा जान लागेका हुन् ।
न्याय समूहतर्फ नेपाल कानून आयोगका सचिव आलोकचन्द्र श्रेष्ठ उमेर हदका कारण साउन ८ गते अवकाशमा जाँदैछन् । श्रेष्ठ एक वर्षअघि बढुवा भएका थिए ।
सर्वोच्च अदालतमा मुख्य रजिष्ट्रार देवेन्द्रराज ढकाल, एक महिनाअघि मात्र बढुवा भएका उपमहालेखापरीक्षक नारायण एमसी पनि उमेर हदका कारण अवकाश जाँदैछन् । ऊर्जासचिव सुरेश आचार्य भदौ १५ मा, भर्खरै बढुवा भएका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रमुख सचिव खगेन्द्रप्रसाद सुवेदी भदौ १८ मा, नायव महान्यायाधिवक्ता गोपालप्रसाद रिजाल असोज ५ मा अवकाशमा जाँदैछन् ।
यसै वर्ष सचिवबाट अवकाश हुनेमा प्रधानमन्त्री कार्यालयमा कार्यरत कानून सेवाका सचिव फणिन्द्र गौतम आगामी मंसिर १८ गते, प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव भरतमणी सुवेदी पुस २९, राष्ट्रिय योजना आयोगका सचिव सुमनराज अर्याल माघ १९, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरे फागुन २०, युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. हरिप्रसाद लम्साल फागुन २४, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा चैत ९ र कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. दिपककुमार खराल चैत १५ रहेका छन् ।
यस्तै नेपाल ट्रष्टको कार्यालयका सचिव रामआधार साह वैशाख १०, खानेपानी मन्त्रालयका सचिव प्रमिलादेवी बज्राचार्य आगामी असार १७, राष्ट्रिय तथ्यांक कार्यालयका प्रमुख तथ्यांक अधिकारी मधुसुदन बुर्लाकोटी असार २१, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा. कृष्णहरी पुस्कर असार २४ र असार २८ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव खगेन्द्रप्रसाद नेपाल पनि अवकाशमा जाने छन् ।



Leave a Reply