फेक अडियो बनाएर ‘सिधा कुरा’लाई दिने राजकुमार इटहरीबाट पक्राउ

विराटनगर । फेक अडियो बनाएर ‘सिधा कुरा’ अनलाइनलाई दिने राजकुमार तिम्सिना इटहरीबाट पक्राउ परेका छन् । उनले दिएको अडियोका आधारमा सो अनलाइनले ‘डार्क फाइल’ रिपोर्ट भन्दै प्रसारण गरेको थियो ।सो अनलाइनलाई फेक अडियो उपलब्ध गराउने तिमल्सिना पक्राउ परेको प्रहरीले जनाएको छ । डार्क फाइल प्रसारण भए यता प्रहरीको फरार सूचीमा रहेको तिमल्सिनालाई इलाका प्रहरी कार्यालय इटहरीले आइतबार साँझ कार्यालय परिसरबाटै पक्राउ गरेको हो ।

सिधा कुरा डटकम ले डार्क फाइल का नाममा प्रसारण गरेको अडियो सामग्री ‘फेक’ भएको सर्वोच्च अदालतले ठहर गरेको थियो ।

सो मुद्दामा सर्वोच्चले तिमल्सिनालाई दोषी ठहर गर्दै गत असोज १३ गते ६ महिना कैद सजायको फैसला गरेको थियो । फेक अडियो प्रसारण गर्ने ‘सिधा कुरा डटकम’ का प्रकाशक युवराज कँडेल र सम्पादक नवीन ढुङ्गानालाई ३\३ महिनाको कैद सजाय सुनाइएको थियो ।

त्यस्तै, ‘सिधा कुरा’ अनलाइनलाई ५ हजार जरिवाना हुने पनि फैसला भएको थियो ।

सो प्रकरणमा संलग्न आइतबार श्रीमतीको एउटा मुद्धाको छलफलका लागि तिमल्सिना इलाका प्रहरी कार्यालय इटहरीमै पुगेका थिए । त्यहाँ उनले प्रहरीलाई आफ्नो वास्तविक नाम उल्लेख नगरी अर्कै नाम बताए ।

तर शङ्का लागेपछि प्रहरीले थप सोधपुछ गर्दा उनी डार्क फाइल रिपोर्टका फरार प्रतिवादी रहेको पुष्टि भएपछि पक्राउ गरिएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

सञ्चार माध्यममा यो डार्क फाइलको अडियोले सनसनी मच्चाएको थियो ।

सो अडियोमा सर्वोच्च अदालतका न्यायाधीश, कानुन व्यवसायी, सञ्चार उद्यमी र पत्रकार समेतलाई लाञ्छित गरिएको थियो । त्यस पछि सो प्रकरण फेक अदालत सम्म पुगेको थियो ।

सर्वोच्चको ९ सदस्यीय बृहत् पूर्ण इजलासले अदालतको अवहेलना भएको भन्दै उत्पादक तथा प्रसारकहरूलाई कैद सजाय सुनाएको थियो ।

तत्कालीन प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ तथा न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुङ्गाना, हरिप्रसाद फुयाँल, नहकुल सुवेदी, विनोद शर्मा, महेश शर्मा पौडेल र बालकृष्ण ढकाल सहितको बृहत् पूर्ण इजलासको फैसला सुनाइएको थियो । फैसला बमोजिम ढुङ्गाना र कँडेललाई केन्द्रीय कारागार चलान भएका थिए । फैसला अघि सो अडियोको प्रयोगशाला मा परीक्षण हुँदा ‘फेक’ प्रमाणित भएको थियो ।अदालतले अडियो बनाउने तिमिल्सिनालाई ६ महिना कैद काल्पनिक सामग्री उत्पादन गरी प्रसारण गर्न दिएको कसुरमा तिमिल्सिनालाई ‘न्याय प्रशासन ऐन, २०७३ को दफा १७ को उपदफा (४) बमोजिम ६ महिना कैद सजाय हुने’ फैसला भएको थियो । त्यस यता तिमल्सिना फरार भएका थिए ।

उनलाई आजै काठमाडौँ लैजाने तयारी गरिएको इलाका प्रहरी कार्यालय प्रहरीले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *