रुपन्देही । धेरै ठाउँमा ठेकेदारले निर्धारित समयमा पुल निर्माण नगरेर अलपत्र पारेको समाचारहरु आइरहेका बेला कपिलवस्तुको वाणगंगाको एक पुल ठेक्का सम्झौताको १५ महिना अगावै निर्माण सम्पन्न भएको छ ।
वाणगंगा नगरपालिका वडा नं. ९ स्थित कोइली खोला (ख) मा सम्झौताअनुसार दुई वर्षको म्याद भए पनि समय अवधिभन्दा १५ महिनाअघि नै पुल निर्माणको काम सकिएको हो । समयअघि नै काम सकिएकाले स्थानीयवासी निकै उत्साहित रहेको त्यहाँस्थित नारायण बेल्वासे बताउँछन्। पुल निर्माण कार्य एक वर्ष नहुँदै सम्पन्न भएको हो ।
श्रेष्ठ एन्ड एनबी जेभी, बुटवल कम्पनीले २०८१ असार २० गते पुल निर्माणको लागि सम्झौता गरेकोमा नौ महिनामा शतप्रतिशत काम सम्पन्न भइसकेको ठेकेदार कम्पनीका प्रमुख नारायणप्रसाद भुसालले जनाएका छन् ।
लुम्बिनी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत सडक पूर्वाधार विकास कार्यालय कपिलवस्तुबाट सुरु गरिएको पुल निर्माणको काममा स्थानीय सडक पुल कार्यक्रम ललितपुरले प्राविधिक सहयोग गरेको हो। पुलको लम्बाइ ७३.५ मिटर तथा चौडाइ १० मिटर छ।
पूर्वमा कोइली खोला (क)मा पुल निर्माण भइसकेको थियो भने यो पुल कोइली (ख)मा पनि पुल निर्माण सम्पन्न भएपछि सो क्षेत्रको सञ्जाल अझ मजबुत भएको वडा नं.९ का वडाध्यक्ष कमल पौडेल बताउँछन् । पुलको समयमै सम्पन्नता र प्रभावकारी कार्यान्वयनले अन्य आयोजना निर्माणमा पनि सकारात्मक सन्देश दिने अपेक्षा गरिएको पौडेलको भनाइ छ।
उक्त पुल बनगाई–मोतिपुर–भलवाड–डोहोटे सडक खण्डअन्तर्गत पर्छ, जहाँ बर्खायाममा कोइली खोला तर्नु जोखिमपूर्ण हुने गरेको थियो। वाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणि अर्यालले पुल नहुँदा वर्षायाममा स्थानीयवासीले जोखिमपूर्ण यात्रा गर्दै आएकोमा अब पुल निर्माण सम्पन्न भएसँगै यात्रा सहज हुनुका साथै स्थानीय विकासमा समेत ठूलो सहयोग पुग्ने जनाएका छन् ।
पुल निर्माणले उक्त बाटो हुँदै अर्घाखाँची जान सहज भएको छ भने स्थानीयलाई पनि वर्षाको समयमा मुख्य मार्गमा जान सहज भएको छ । यो बाटो पूर्व–पश्चिम राजमार्गलाई बाणगंगा नगरपालिकाका वडाहरू हुँदै अर्घाखाँचीको शीतगंगा नगरपालिकाको गोरुसिँगे–सन्धिखर्क सडकसँग जोडेको छ । कपिलवस्तुबाट अर्घाखाँचीको डोहोटे जोड्ने मुख्य बाटो रहेको छ । यसले क्षेत्रीय यातायात सुधार गर्नुका साथै व्यापारिक सञ्जाललाई पनि गति दिने स्थानीयको अपेक्षा छ। उक्त पुलको अनुमानित लागत ११ करोड ४९ लाख २ हजार आठ सय रुपैयाँमा सम्झौता भएको थियो।
पूर्वमन्त्री तथा सो क्षेत्रका प्रदेश सांसद विष्णु पन्थीले जुत्ता खोलेर कोइली खोला वारपार गर्नुपर्ने बाध्यता हटाइएको बताए । उनले आधुनिक र भब्य पुल खडा भएसँगै बनगाइ मोतिपुर–भडवाड हुँदै अर्घाखाँचीको डोहोटे जोड्ने सडक यात्रालाई थप सहज बनाउने जनाएका छन् ।

Leave a Reply