तीन दिन मोबाइल नचलाउँदा के हुन्छ ? (भिडियो)

कहिलेकाहीँ तपाईंलाई मोबाइलबाट ब्रेक लिन मन लाग्छ ? तर सधैँ त सकिँदैन जस्तो लाग्छ होइन त ? अब सधैं पर्दैन ३ दिन मात्रै मोबाइलबिना बस्न सक्नुहुन्छ ? मोबाइल बिना पनि पर्दैन, तपाईंले फोन गर्न र उठाउन पाउनुहुन्छ । यदि सक्नुहुन्छ तपाईंले कल्पना गरेभन्दा बढी फाइदा मिल्नेछ ।

हामीले चाहेर पनि मोबाइल टाढा रहने अवस्था छैन । र विभिन्न अध्ययनका अनुसार अत्यधिक मोबाइल प्रयोगले शारीरिक र मानसिक स्वास्थ्यमा गम्भीर असर पर्छ ।

त्यसैले, अनुसन्धानकर्ताहरुले अहिलको हाइली कनेक्टेड लाइफस्टाइलमा यदि मोबाइलबाट ब्रेक लिने हो भने के हुन्छ त भनेर अनुसन्धान गर्न खोजे ।

त्यही क्रममा भर्खरै कम्प्युटर इन ह्युमन साइन्स जर्नलमा प्रकाशित जर्मनीमा भएको पछिल्लो अनुसन्धानअनुसार केवल तीन दिन अर्थात ७२ घण्टा मोबाइल विशेषगरी इन्टरनेट र सामाजिक सञ्जालबाट टाढा रहँदा निकै फाइदा पुग्ने पत्ता लाग्यो । उक्त अध्ययनका अनुसार तीन दिन मोबाइल कनेक्सनबाट ब्रेक लिँदा हामीले कल्पना गरेभन्दा बढी फाइदा हुनेछ ।

त्यसको अर्थ निरन्तर घण्टौंको इन्टरनेट कनेक्सनले हाम्रो मस्तिष्क र जीवनयापनमा तपाईं हामीले सोचेभन्दा बढी हानी गर्छ । अध्ययनमा रिसर्चरहरुले मस्तिष्कका कामहरु रिवार्ड प्रोसेसिङ र एटेन्सनमा छोटो समय मोबाइल नचलाउँदा कस्तो असर गर्दोरहेछ त भनेर पत्ता लगाउन खोजेका थिए ।

भिडियो

यसअघिका एक्सपेरिमेन्टमा मोबाइलको अति धेरै प्रयोगले गम्भीर असर गर्ने पत्ता लागिसकेका छन् । यो अध्ययन मोबाइल कनेक्सनबाट ब्रेक लिने हो भने असर कम हुन्छ कि भन्नेसँग सम्बन्धित थियो । ‘मोबाइलले मानिसको मानसिक स्वास्थ्य र ब्रेन स्ट्रक्चरमा असर गर्छ’, अनुसन्धानमा संलग्न डा. रोबर्ट क्रिस्टियन वल्फले बताए । अनुसन्धानमा १८ देखि ३० वर्ष समूहका २५ जना मोबाइल नियमित चलाउने सामान्य युवाहरुलाई सहभागी गराइएको थियो ।

उनीहरुको सुरुमा एफएमआरआई गरेर ब्रेनको फंक्सन पत्ता लगाइएको थियो । एफएमआरआई भनेको रगतको फ्लो हेरेर मस्तिष्कको गतिविधि थाहा पाउने पाउने सिस्टम हो । सुरुमा गरिएको स्क्यानिङ र ७२ घण्टासम्म मोबाइलको प्रयोग गर्न नदिएपछिको स्क्यानिङको तुलना गरिएको थियो । त्यतिमात्र होइन अनुसन्धान अझै तथ्यगत होस् भनेर दुवै पटक प्रश्नहरु पनि सोधिएको थियो ।

प्रश्नको आधारमा भनेर मोबाइल चलाइरहँदा र तीन दिन नचलाउँदा खासै फरक नतिजा देखिएन किनकी त्यो प्रश्नहरुको उत्तर व्यक्ति स्वयमंले दिएका थिए । उसो त आफ्नो गतिविधि मोबाइलकै रेकर्डमा हेर्न लगाइएको थियो । यद्यपि उनीहरुलाई मोबाइलमा जरुरी काम गर्न, आफ्नाहरुसँग फोन गर्ने सुविधा थियो । ब्रेन स्क्यानिङमा मोबाइल नचलाउँदा र चलाउँदामा निकै फरक अवस्था भेटिएको थियो ।

नतिजामा ७२ घण्टा मोबाइल नचलाउँदा मस्तिष्कको एन्टेरिअर सिंगुलेट र न्युक्लियस एकुम्ेबन्सको गतिविधि तीव्र भएको थियो । यी दुवै क्षेत्रहरु हाम्रो तृष्णा र रिवार्डसँग सम्बन्धित छन् । त्यसकारण प्रश्नहरुको आधारमा उनीहरुले मूल्याकंन गर्दा ७२ घण्टा मोबाइल चलाउन नपाएपनि उनीहरुमा मोबाइलप्रतिको क्रेभिङ नभएको देखिएको थियो । तर ब्रेन स्क्यानले त्यसको उल्टो नतिजा दियो । जसरी क्याफिन र निकोटिनले मानिसको मस्तिष्कमा डोपामिन र सेरोटिनन जस्ता ब्रेन केमिकल्सलाई एक्टिभ गराउँछन् । मोबाइल चलाउँदा पनि त्यस्तै हुने अध्ययनले देखायो । यसको अर्थ निरन्तर मोबाइल चलाइरहँदा तपाईंलाई जे जे कुराले तान्छ त्यो मस्तिष्कमा निस्किएको तिनै डोपामिन र सेरोटिनन जस्ता मस्तिष्कका रसायनले गर्दा हो । जुन गतिविधि निरन्तर रहेमा उक्त कार्यप्रति झन तृष्णा जागृत गराउने अनुसन्धानले खुलाएको थियो ।

अझ रोचक त के छ भने यसको असर कम गर्न ३ दिन मात्रै इन्टरनेट र सामाजिक सञ्जाल नचलाए मात्रै पनि निकै फाइदा हुने उक्त अध्ययनमा भनिएको छ । समग्रमा यदि केही समयको अन्तरालमा केवल तीन दिन मात्रै पनि मोबाइल कनेक्टिभिटीबाट टाढा रहने हो भने हाम्रो मस्तिष्क र सर्वत्र मानसिक स्वास्थ्यलाई राम्रो गर्ने अनुसन्धानको निष्कर्ष थियो । यदि तपाईं मोबाइलसँग सम्बन्धित कुनै पनि डिसअर्डर भोगिरहनुभएको छैन भने बेलाबेलामा ३ दिन मोबाइलबाट आंशिक ब्रेक लिनु निकै देखिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *