६ महिनामा २६ लाख सवारी लाइसेन्स प्रिन्टको तयारी

काठमाडौं । ६ महिनाभित्र छाप्न बाँकी २६ लाख लाइसेन्स प्रिन्ट गरेर वितरण गर्ने तयारीसाथ काम अघि बढाएको छ । योसँगै नयाँ ट्रायल र नवीकरणका लागि आवेदन दिएकाहरूले अब एकैपटक लाइसेन्स पाउने छन् ।

यातायात व्यवस्था विभागको एउटामात्रै मेसिनले ५ लाख र बाँकी २६ लाख थान सुरक्षण मुद्रण केन्द्रले छपाइ गर्नेछ । त्यसका लागि विभाग र केन्द्रबीच सम्झौता भइसकेको छ ।

हालसम्म विभागले मात्रै लाइसेन्स प्रिन्ट गरेर अति आवश्यक परेकोलाई वितरण गर्दै आइरहेको थियो । दैनिकरूपमा विभागमा आएर र अनलाइनबाट फर्म भरेर अति अत्यावश्यक परेकाहरूको ५ सय लाइसेन्स छापिँदै आएको छ । त्यसको अतिरिक्त देशभरबाट दैनिक नयाँ र नवीकरणका लागि ५ हजार लाइसेन्स प्रिन्टका लागि आउने गरेको छ ।

विभागका वरिष्ठ कम्प्युटर इन्जिनियर केशव खतिवडा सुरक्षण मुद्रणले बाँकी रहेको मध्ये २६ लाख लाइसेन्स प्रिन्ट गर्ने भनेर सम्झौता भइसकेको बताउँछन् ।

खतिवडाले नेपाल प्रेससँग भने, ‘केन्द्रले हामीलाई ६ महिनासम्ममा २६ लाख लाइसेन्स प्रिन्ट गरेर दिने भनेको छ । एक घण्टामा ५ हजार लाइसेन्स छाप्न सक्ने मेसिन केन्द्रसँग रहेछ ।’

विभागले छाप्ने लाइसेन्समा चिप्स हुने र केन्द्रले छाप्नेमा क्यूआर राखिनेछ । विभागले छापेको लाइसेन्स प्रतिगोटा २.५० डलर अर्थात् ३४५ रूपैयाँमा तयार हुँदै आएको छ । अब केन्द्रले छपाइ गर्दा २ सयभन्दा कम खर्च लाग्ने बताइएको छ ।

त्यस्तै, देशभरका लिखित र ट्रायल गराउने यातायात कार्यालयले ३ दिनभित्र सिस्टममा डाटा इन्ट्री गराउनै पर्ने भएको छ । नत्र विभागको सिस्टमले नलिने खतिवडाले बताए । यसअघि यातायात कार्यालयलेले अनुकूलताको आधारमा डाटा इन्ट्री गरेकाले यसलाई कडाइ गरिएको हो ।

Comments

One response to “६ महिनामा २६ लाख सवारी लाइसेन्स प्रिन्टको तयारी”

  1. Binodkumar rai Avatar
    Binodkumar rai

    1 ghantama 5 hajar print garne mechin cha bhannele 2 barsa samma ma kina print garna nasakeko?Dherai murkha nabaùnu jantalai.Yatayat karyalaya ko kam kachuwako talma cha.Ani bakbas garera nathakne virus haru.

Leave a Reply

Your email address will not be published. Required fields are marked *