काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संविधानमा भएको अधिकार कसैले दिएको नभएकाले खोसेर जान नसक्ने बताएका छन्। लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको स्थापना दिवसलाई सम्बोधन गर्दै संविधान संशोधन अहिलेको आवश्यकता रहेको बताए।
उनले भने, ‘संविधान संशोधनमा कांग्रेसको पोजिसन प्रस्ट हुन आवश्यक छ, संविधानमा भएको विषयलाई सुदृढ बनाउन मात्रै कांग्रेसको पोजिसन हुन्छ। कुनै कुरालाई कम्प्रमाइज गर्ने कांग्रेसको पोजिसन हुँदैन।’
उनले संविधान संशोधनका लागि पार्टीभित्र कार्यदल बनाएर सघन छलफल बनाएर पार्टीको मत बनाएपछि एमालेसँग भएको सहमति अनुसार कार्यदल बनाउने बताए। दुई दलबीचको कार्यदलमा सहमति भइसकेपछि माओवादीसहित अन्य दलहरूसँग संवाद गर्ने उनले बताए।
उनले भने, ‘हामी नहुने भने यो कसले सम्हाल्छ, नेपालको आदिवासी जनजातिले प्राप्त गरेको अधिकार आजको दिनमा कांग्रेसले अलिकति खुट्टा डगमगाउने हो भने यो अधिकार सबै स्वाहा भएर जान्छ, सबै जान्छ यहाँ कोही छैन इमानदार यो मुद्दाप्रति, हामी उत्तेजनामा आएर भित्तामा लेखेर यहाँ आएका होइनौँ, अनुभवबाट आएका छौँ।’
उनले यस्तै तरिकाबाट सङ्घीयता नचल्ने भन्दै निर्मम भएर समीक्षा गर्नुपर्ने बताए। सङ्घले प्रदेशलाई अधिकार दिनै नचाहेको उनको भनाइ छ। उनले संघमा बढीमा ८ मन्त्रालय भए पुग्ने बताए। प्रदेश सङ्घको कपीजस्तो भएको भन्दै यसरी नचल्ने बताए।

Leave a Reply