काठमाडौं । नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्याैपानेले आफ्नो सचिवालयलाई चुस्त र दुरुस्त बनाउने बताएकी छन् ।
उनले भनिन्, ‘मलाई कुन लोभ लालस छैन, प्रधानमन्त्रीज्यूले काम गर्न यो जिम्मेवारी दिनुभएको हो । संघीयता कार्यान्वयन गर्ने मुख्य जिम्मेवार यही मन्त्रालय नै हो । त्यसैले कसरी सुशासन कायम गर्न सकिन्छ र प्रभावकारी काम गर्न सकिन्छ भने दृढ भएर काम गर्नेछु ।’
घुस प्रकरणको अडिओ बाहिरिएसँगै विवादित बनेका राजकुमार गुप्ताको राजीनामापश्चात न्यौपानेलाई अघि सारिएको हो ।
नेपाल प्रेससँग कुरा गर्दै उनले संघीय निजामती विधेयकलाई जतिसक्दो चाँडै राष्ट्रियसभाबाट पारितका लागि आफूले पहल गर्ने प्रतिवद्धता जनाइन् ।
उनले भनिन्, ‘संघीय निजामती विधेयकमाथी सैद्धान्तिक छलफल भइसकेको छ र ७२ घण्टे विधेयकमाथिको संशोधन दर्ताको सूचना जारी भइसकेको छ । आज उक्त समय सीमा सकिएपछि सम्भव त अब विधायन व्यवस्थापन समितिमा जान्छ । राष्ट्रियसभा नियमावली अनुसार बढीमा २ महिना भित्र टुंगो लगाइसक्नुपर्छ । सम्भवत: हामी २ महिनाभित्र टुंगो लगाएर पारित गर्छौं ।’
निमित्तका भरमा चलिरहेका स्थानीय तहलाई शून्यमा झार्ने तयारी भइरहेको उनको भनाइ छ । त्यस्ता स्थानीय तहलाई जतिसक्दो चाँडै शून्यमा झार्ने गरी काम गर्न र त्यसको विवरण तयार पार्न मन्त्रालयका महाशाखा र शाखालाई निर्देशन दिइसकेको न्यौपानेले बताइन् ।
उनका अनुसार अहिले ७५३ स्थानीय तहमध्ये ११६ स्थानीय तह निमित्तको भरमा चलिरहेका छन् ।
न्यौपानेले भनिन्, ‘संघीयता कार्यान्वयनको मुख्य ठाउँ भनेकै स्थानीय तह हो । तर, अहिले पनि ११६ स्थानीय तह निमित्तको भरमा चलिरहेका छन् । कसरी हुन्छ यी सबैमा निमित्तबाट शून्यमा झार्नेछु ।’

Leave a Reply