चितवन । त्रिभुवन विश्वविद्यालयकी निवृत्त प्राध्यापक डा. कान्ता पौड्यालले श्रीमानको मृत्युको वार्षिकी सकेर सिन्दूर लगाएकी छन् । श्रीमान इन्जिनियर यज्ञप्रसाद पौड्यालको यसै साता वार्षिकीको धार्मिक कर्म सम्पन्नपश्चात गत असार ३१ गते उनले बुहारीको हातबाट सिन्दुर लगाएकी हुन् ।
पूजा समाप्तिको टीका लगाउने बेला हातमा श्रीमान यज्ञप्रसादले बिहेमा दिएको सिन्दूर हातमा लिएर उपस्थित आफन्तजन र शुभेच्छुकसँग उनले केही प्रश्न गरेकी थिइन् । जुन भिडिओ सामाजिक सञ्जालमा शेयर भइरहेको छ ।
उनले वर्ष दिनमा अध्ययन गरेका हिन्दू धर्मसँग सम्बन्धित ग्रन्ध, वेद, गीतादेखि हिन्दूधर्मलाई निर्देशित गरिएका भनिएका ग्रन्थमा महिलाले श्रीमानको मृत्युपछि सिन्दूर लाउन हुने/नहुने कहाँ व्याख्या गरेको छ ? भन्ने प्रश्न गरिन् ।
पूजामा सहभागी सबैजना नाजवाफ उनको प्रश्न सुनिरहे । उनले महाभारतमा द्रौपदीले आफ्ना श्रीमानले सिन्दूरको मान राख्न नसकेको भन्दै सिन्दूर पुछेको बाहेक धर्मग्रन्थ, शास्त्रमा श्रीमानको मृत्युपछि श्रीमतीले सिन्दूर पुछ्नुपर्ने उल्लेख नै नभएको बताइन् । पूजामा उपस्थित पण्डितदेखि सबैजना मौन देखिए ।
पूजा सकेर बसिरहेका छोरा श्रेयन आमाले प्रश्न गरिरहँदा आँशु खसाइरहेका थिए । उनले श्रीमानको मृत्युपछि सेतो लुगामात्रै किन लाउने, किन एकल भन्ने, सिन्दूर किन लगाउन नहुने ? भन्ने प्रश्न सोधिरहिन् ।
सिन्दूरको प्रसंग महाभारत बाहेक अन्त आउँदै नआउने आफ्नो अध्ययनबाट पाएको उनको तर्क थियो । ब्यास स्मृतिमा स्वास्नी मान्छे विधवा भएपछि कालो टीका लगाएर तर्पन गर्नु, लोग्नेमान्छेसँग नबोल्नु, विधवा स्वास्नीमान्छेले कपाल काट्नु, सदुवाले काटे घोर पाप हुन्छ भनेको जुन व्यवस्था अहिलेको सामाजिक व्यवस्थासँग नमिलेको पनि उनको तर्क थियो । एउटा विधवा महिला भएकै कारणले ती काम आफूले गर्न नसक्ने पनि उनले सबैसमक्ष बताइन् ।
स्कन्दपुराणमा पनि श्रीमान बितेका स्वास्नीमान्छेले बिहानदेखि बेलुकासम्म भगवानको नाम जप्नु जसले श्रीमानलाई तार्छ भनेका जस्ता प्रसंग नारद पुराणको उल्लेख पनि गरिन् । उनले महिलालाई वेद भागवत पढ्न नदिएको प्रसंगमा उनले महिलाले ति ग्रन्थ पढ्दा विरित्तिएर गृहिस्थी जीवनमा नबस्ने पनि उल्लेख गरिन् ।
आफूले पढेका शास्त्रहरूको उल्लेख गर्दै आफ्नो श्रीमानले संसारका ८ अरब मान्छेहरुमध्ये आफूलाई छानेर लगाइदिएको सिन्दुर किन नलगाउने भनेर पुनः प्रश्न गरेकी थिइन् । आफ्नो लोग्नेको हातबाट पाएको सिन्दुर म फ्याँक्छु त ? उनले अझ उपस्थितहरूसँग प्रश्न गरिन्, सिन्दूर त्याग्नेभए मेरो लोग्नेले दिएको छोरा हो उसलाई पनि मैले त्याग्नुपर्यो !
आफ्नो जिन्दगीको सबैभन्दा सुन्दर चिज छोरा, सिन्दूर र लोग्नेले बनाइदिएको घर र आफ्नो इज्जत मान सम्मान लोग्नेले दिएको भन्दै उनले तिनै सबै चिज त्यागेमात्रै सिन्दूर त्याग्ने भन्दै सबैसँग सिन्दूर लगाउने अनुमति मागिन् । उपस्थित सबैले ताली बजाए ।
त्यसपछि पौड्यालले बुहारी शिवानीलाई आफ्नो सिउँदोमा सिन्दूर लगाइदिन अनुरोध गरिन् । बुहारी शिवानीले उनको शिरमा सिन्दूर लगाइदिइन् । त्यसपछि पण्डितको हातबाट टीका ग्रहण गर्दै आफ्ना कुल र मान्यजनसँग आशीर्वाद मागेकी थिइन् । प्रा.डा. पौड्यालको यो भिडिओ धेरैजनाले सकारात्मक प्रतिक्रियासहित शेयर गरेका छन् ।

Leave a Reply