‘बलिदान’को ६० फुट अग्लो पोस्टर सार्वजनिक, सेन भन्छन्,’यो एउटा सिनेम्याटिक क्रान्तिको सुरुवात हो’

काठमाडौं । अभिनेता समिर भट्ट अभिनित चलचित्र ‘बलिदान’को पोस्टर सार्वजनिक भएको छ। दसैँको फूलपातीको अवसर पारेर रिलिजको तयारीमा रहेको यो चलचित्रको ६० फिट अग्लो पोस्टर सार्वजनिक गरिएको हो।

बिहीबार काठमाडौंको गोङ्गबु बसपार्कस्थित ल्होत्से मलमा चलचित्रको पोस्टर सार्वजनिक गरिएको हो। सार्वजनिक पोस्टरले चलचित्रको भाव, शैली र उद्देश्यको एक स्पष्ट चित्र प्रस्तुत गर्छ ।

पोस्टरमा रगतले लतपतिएका, घाइते र क्रुद्ध मुद्रामा देखिएका अभिनेता समीर भट्ट एक विशालकाय मानव आकृतिमाथि भालाजस्तो देखिने अस्त्र प्रयोग गर्दै आक्रामक रूपमा प्रस्तुत छन् । उनको अनुहारमा आक्रोश, हिम्मत र बलिदानको भाव झल्किन्छ।

यो चलचित्रलाई सन्तोष सेनले निर्देशन गरेका हुन। पोस्टर सार्वजनिक गर्दै सेन भन्छन्,’बलिदान एउटा सिनेम्याटिक क्रान्तिको सुरुवात हो। यो केवल चलचित्र होइन, एउटा अभियान हो। चलचित्रको हरेक फ्रेममा हालिएको आत्माले यसलाई मजबुत सिनेम्याटिक संरचना बनाएको छ।’

‘आसुसेन फिल्म्स् प्रालि’को प्रस्तुति रहेको ‘बलिदान’मा समीर भट्टसंगै सौगात मल्ल, कविता राय, अर्पण थापा, ऋचा शर्मा, हेमन्त बुढाथोकी, प्रेम पुरीलगायत कलाकारहरूको अभिनय रहेको छ। चलचित्रका निर्माता पवन ब्राडफोर्ड बिस्ट हुन् भने कार्यकारी निर्माता प्रेम पुरी हुन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *