काठमाडौं । क्रिकेटर आदिल अन्सारी करिब ३ वर्षपछि राष्ट्रिय टोलीको क्याम्पमा कमब्याक गरेका छन् । २०७९ मा भएको नेपाल टी-२० लिगमा ‘स्पट फिक्सिङ’ को आरोप लागेका आदिलले २०८१ मा सफाइ पाएका थिए ।
सफाइ पाएपछि पनि आईसीसीको अनुमतिलगायत विभिन्न प्रक्रिया पुर्याउनुपर्ने कारण उनले पुनरागमनका लागि केही समय पर्खिनुपर्यो । आउँदो अक्टोबरमा हुने आइसीसी टी-२० विश्वकपको एसिया र पूर्वी एसिया प्यासिफिक क्वालिफायरका लागि छनोट भएका ३२ खेलाडीको सूचीमा उनी अटाएका हुन् ।
क्याम्पमा फर्किएसँगै आदिलको चर्चा सुरु भएको छ । क्रिकेट समर्थकहरू उनको ‘हेलिकप्टर सट’ फेरि हेर्न पाइने प्रतीक्षामा छन् । यद्यपि, उनले राष्ट्रिय टीममा स्थान बनाउँछन् नै भन्ने पक्का चाहिँ छैन । यसका लागि उनले बन्द प्रशिक्षणका क्रममा प्रशिक्षकको मन जित्नुपर्ने हुन्छ । आफ्नो क्षमता र योग्यताको पुनःपुष्टि गर्नुपर्ने हुन्छ । यद्यपि, २१ वर्षिय आलमसँग आफ्नो करिअरलाई पुनरुत्थान गर्न प्रशस्त समय छ ।
राष्ट्रिय टीमबाट खेल्न थालेको छोटो समयमै आदिल प्रतिवन्धमा परेका थिए । त्यसपछि उनको करिअर लथालिंग भयो । प्रतिवन्धमा पर्नुअघि उनलाई खासगरि टि २० मा आशालाग्दा अलराउन्डरको रुपमा हर्न थालिएको थियो । मध्यक्रममा आएर आक्रमक ब्याटिङ गर्ने उनी मध्यम गतिको बलिङ पनि गर्छन् ।
आदिलले कम समय राष्ट्रिय टोलीबाट खेले पनि आफ्नो छाप छोड्न सफल भएका थिए । २०७८ को अन्तिमतिर टीयू क्रिकेट मैदानमा भएको त्रिकोणात्मक टी-२०आई सिरिजअन्तर्गत पीएनजीविरुद्ध उनले डेब्यू गरेका थिए । सुरुआती दुई खेलमा अवसर नपाएका आदिल तेस्रो खेलमा प्लेइङ ११ मा अटाए । डेब्यू खेलमै आदिलले उत्कृष्ट प्रदर्शन गरे । पाँचौं नम्बरमा ब्याटिङ गर्न आएका उनले विष्फोटक शैलीमा खेल्दै ११ बलमा ३१ रन बनाए । उनले एक चौका र ३ छक्का प्रहार गरेका थिए । यही म्याचमा उनले प्रहार गरेको ‘हेलिकोप्टर सट’ अहिलेसम्म उनको पहिचान बनिरहेको छ ।
अर्को म्याचमा मलेसियाविरुद्ध आदिलले ९ बलमा १४ रन बनाएर रनआउट भएका थिए । त्यसमा उनले एक छक्का प्रहार गर्न भ्याए । यो खेलमा नेपालका दिपेन्द्रसिंह ऐरीले ५७ बलमा ११० रनको शानदार पारी खेलेका थिए । प्रतियोगिताको फाइनलमा भने आदिलले सातौं नम्बरमा ब्याटिङ गर्दै १३ बलमा १५ रन जोडेर आउट भएका थिए ।
यो प्रतियोगितापछि आदिल नेपाली टीमको केन्या भ्रमणमा समेटिए । केन्याविरुद्ध ५ वटा खेलमा मौका पाए पनि उनको प्रदर्शन निराशाजनक रह्यो । पहिलो म्याचमा उनले सातौं नम्बरमा ब्याटिङ गर्दै २ बलमा २ रन (अविजित) जोडेका थिए । दोस्रो म्याचमा १३ बलमा २० रन बनाए, जसमा एक छक्का र एक चौका समावेश थिए । तेस्रो म्याचमा उनले ७ बलमा २ चौका र एक छक्कासहित १६ रन जोडे । बलिङमा पनि एक विकेट लिए । चौंथो म्याचमा उनले १५ बल खेल्दा ८ रन मात्र जोड्न सके । यो खेलमा नेपालले ९४ रन मात्र जोड्न सकेको थियो । पाँचौं खेलमा उनी ७ बलमा ४ रन बनाएर आउट भए । बलिङमा एक विकेट लिए । यही म्याच नै उनको अन्तिम टि २० आइ बन्न पुग्यो ।
ओडीआईमा पनि उनले शानदार डेब्यु गरेका थिए । आइसीसी लिग-२ अन्तर्गत अमेरिकाविरुद्ध पाएको अवसर आदिलले खेर जान दिएनन् । उक्त खेलमा उनले २४ बलमा ३६ रन बनाउँदै आक्रामक ब्याटिङको प्रदर्शन गरे । उनले ३ चौका र २ छक्का प्रहार गरेका थिए । उक्त खेलमा उनी बलिङमा पनि चम्किए । ९ ओभर बलिङ गरेका आदिलले महत्वपूर्ण ३ विकेट लिए ।
अर्को म्याचमा ओमानविरुद्ध उनको ब्याटिङ गर्ने पालो आएन । त्यसपछि उनी अमेरिकाविरुद्ध १० बलमा ४ रन बनाएर आउट भए । नामिबियाविरुद्धको अर्को म्याचमा पनि उनी चलेनन् । आठौं नम्बरमा आएका उनले १३ बलमा १० रन बनाएर आउट भए । त्यसपछि स्कटल्यान्डविरुद्ध उनी सातौ नम्बरमा ब्याटिङमा आए पनि एक बल पनि फेस गर्न पाएनन् । यो खेलमा उनले बलिङमा भने उत्कृष्ट प्रदर्शन गर्दै १० ओभरमा ३१ रन खर्चेर तीन विकेट लिएका थिए ।
लिग २ अन्तरगत नै नामिबियाविरुद्धको म्याचमा आदिलले ३० बलमा २० रन बनाएर आउट भए । बलिङमा भने प्रभाव पार्न सकेनन् । यही नै उनको अन्तिम एकदिवसीय म्याच बन्यो ।
आदिलको करिअर रेकर्ड त्यति सन्तोषजनक छैन । ओडिआईमा उनले ६ म्याचमा १७.५० को कमजोर औसतमा केवल ७० रन हानेका छन् भने ६ विकेट लिएका छन् । टी-२०आईमा ८ म्याचमा १५.७१ को औसतले ११० रन जोड्नुका साथै भने ५ विकेट लिएका छन् । ओडीआईमा उनको उच्च स्कोर ३६ रन र टि २० मा ३१ रन छ । यी दुवै रन उनले डेब्यू म्याचमै बनाएका हुन् । त्यसपछि उनको प्रदर्शन खस्किएको थियो ।
सन् २०२१ मा भएको यू-१९ राष्ट्रिय क्रिकेटअन्तर्गत सुदूरपश्चिम प्रदेशविरुद्ध सातौं नम्बर आएर अविजित ८७ रन बनाएपछि आदिलको राष्ट्रिय टोलीमा ढोका खुलेको थियो । उक्त खेलमा आदिलले ४३ बलमा ७ चौका र ६ छक्का प्रहार गरेका थिए । उक्त प्रतियोगितामा उनी उच्च स्टाइक रेटमा ब्याटिङ गर्ने खेलाडी बनेका थिए ।
त्यस लगत्तै उनी राष्ट्रिय यू-१९ टोलीमा परे । यूएईमा भएको यू-१९ एसिया कपको ३ खेलमा आदिलले ५७ रन बनाउनुका साथै ३ विकेट लिए । उनले कुवेतविरुद्ध ४२ बलमा ४९ रन हानेका थिए । त्यसपछि उनी मधेश प्रदेशको सिनियर टोलीमा पर्न सफल भए । सन् २०२१/२२ मा भएको प्रधानमन्त्री कप क्रिकेटमा मधेश प्रदेशबाट आदिलले आक्रामक ब्याटिङ गरे । गण्डकीविरुद्ध १ रनमा आउट भएका उनले एपिएफविरुद्ध १४ बलमा ३५, लुम्बिनीविरुद्ध ८ बलमा १३ र ४ बलमा १२ रन प्रहार गरे । बलिङमा ४ खेलमा २ विकेट लिए । यही प्रदर्शनले आदिललाई राष्ट्रिय टोलीसम्म डोहोर्यायो ।
प्रतिवन्धमा पर्नुअघि खेलेको नेपाल टी-२० लिगमा भने उनले खासै राम्रो प्रदर्शन गर्न सकेनन् । ८ खेलमा उनले ४४ रन बनाउँदा ४ विकेटमात्रै लिन सकेका थिए ।
निलम्बनका बेलामा पनि आदिलले भारतको विहारमा भएको पाँचौं संस्करणको अमन सिंह राजपुत (एएसआर) कप क्रिकेट खेल्दै शानदार ब्याटिङ गरेका थिए । बाली-११ सुपौलबाट खेलेका आदिलले ४० बलमा ११४ रनको शतकीय अविजित इनिङ खेलेका हुन् ।
आदिलसँग एउटा राम्रो अलराउन्डर बन्न सक्ने खुबी अवश्य छ । उनको ब्याटिङ शैली खासगरि टि-२० का लागि उपयोगी हुन सक्छ । तर, राष्ट्रिय टीममा अहिले चर्को प्रतिस्पर्धा छ । कुशल मल्ल जस्ता विष्फोटक ब्याट्सम्यानले समेत आफ्नो स्थान गुमाएका छन् । त्यसैले आदिलले राष्ट्रिय टीममा स्थान बनाउनका लागि आफ्नो ब्याटिङ स्किलपमा अझै सुधार ल्याउनुपर्ने छ ।

Leave a Reply