एमालेलाई विद्या भण्डारी किन चाहियो ? केही सवालमा बुझौं

के दुई-दुई पटक गणतन्त्र नेपालको सर्वोच्च र सम्मानित पद (राष्ट्रपति) को गरिमालाई धारण गरेको व्यक्ति फेरि पार्टीको साँघुरो सीमामा फर्किन मिल्छ ? के शीतल निवासको उचाइबाट ओर्लिएर फेरि दलीय शक्तिको संघर्षमा होमिनु नैतिक रूपमा जायज छ ?

यी दुई प्रश्न चिया पसलदेखि सिंहदरबार र ‘ठूला’ भनिने मिडियासम्म व्यापक बनेको छ । यी सामान्य प्रश्न होइनन् । लोकतान्त्रिक मान्यता, संवैधानिक परम्परा र राजनीतिक नैतिकताको मर्मलाई यी प्रश्नले दर्शाउँछ । कुनै पनि राजनीतिक परिघटनालाई त्यसको ऐतिहासिक पृष्ठभूमि, तत्कालीन परिस्थितिको बाध्यात्मक अवस्था र भविष्यको दिशाबोध गर्ने आवश्यकताबाट अलग गरेर हेरियो भने एउटा सतही र भ्रामक टिप्पणीमात्र बन्न पुग्छ ।

विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा फर्किने सम्भावित घोषणा कुनै आकस्मिक हुरी वा व्यक्तिगत महत्वाकांक्षाको चट्याङ होइन । यो त नेपाली कम्युनिष्ट आन्दोलनको विशिष्ट परिस्थिति, नेकपा (एमाले) भित्रको गहिरो वैचारिक र संगठनात्मक संकट, अनि राष्ट्रिय राजनीतिको जटिल मोडमा एक अनुभवी र एकीकृत नेतृत्वको ऐतिहासिक आवश्यकताको उपज हो ।

यो कदम पछाडिको अनिवार्यतालाई साँच्चै बुझ्न हामीले इतिहासको पानालाई पल्टाएर संघर्षको आगोमा खारिएको एक नेतृत्वको यात्रालाई नियाल्नुपर्छ्, जसको यात्रा उनको पार्टी र राष्ट्रको भाग्यसँग अभिन्न रूपमा जोडिएको छ ।

आन्दोलनको आगोदेखि अग्रणी एमालेसम्म

कुनै पनि नेता रातारात बन्दैन । ऊ समयको गर्भबाट संघर्षको आगोमा खारिएर र जनताको मायाले सिँञ्चित भएरमात्र जन्मिन्छ । विद्या भण्डारीको राजनीतिक यात्रा भोजपुरको एउटा सामान्य किसान परिवारको आँगनबाट शुरू भएर तत्कालीन निरंकुश पञ्चायती व्यवस्थाविरुद्धको विद्यार्थी आन्दोलनको राँकोमा मिसिन पुगेको थियो । त्यो समयमा बोल्नु भनेको दमनको खुकुरी चल्नु थियो र संगठित हुनु भनेको राज्यको कोपभाजनमा पर्नु थियो । त्यस्तो बेला एउटी किशोरीको मनमा राजनीतिक चेतनाको बीऊ उम्रनु आफैँमा एउटा विद्रोह थियो ।

उनको यात्राले तत्कालीन वामपन्थी विद्यार्थी आन्दोलनको उर्बर भूमि रहेको विराटनगरको महेन्द्र मोरङ क्याम्पसबाट गति लियो । अनेरास्ववियु (पाँचौं) को एक साधारण कार्यकर्ताबाट स्ववियूको कोषाध्यक्षसम्मको यात्रा विचारप्रतिको अविचलित निष्ठा, संगठनप्रतिको समर्पण र नेतृत्व क्षमताको पहिलो सार्वजनिक परीक्षण थियो । महिलालाई घरको चुलो-चौकोमा मात्र सीमित राख्नुपर्छ भन्ने सामन्ती सोच समाजमा गहिरोसँग गढेको बेला एकजना जुझारु महिला विद्यार्थी राजनीतिमा सक्रिय हुनु र आफ्नो पहिचान स्थापित गर्नु आफैँमा एउटा सामाजिक क्रान्तिको बिगुल थियो ।

यदि एमालेभित्रको आन्तरिक संघर्ष झन् चर्कियो र पार्टी थप कमजोर भयो भने यसले समग्र कम्युनिष्ट आन्दोलनलाई नै निराशातर्फ धकेल्ने छ । एउटा बलियो र एकीकृत कम्युनिष्ट पार्टीको अभावमा वामपन्थी मत विभाजित हुने र दक्षिणपन्थी तथा यथास्थितिवादी शक्ति बलियो हुने खतरा बढ्छ । त्यसैले उनको पुनरागमन वाम आन्दोलनको लागि एउटा ‘टर्निङ प्वाइन्ट’ भएर कि त एकताको ढोका खोल्नेछ, कि त विखण्डनको खाडललाई अझ गहिरो बनाउने छ ।

उनको राजनीतिक र वैचारिक जीवनलाई निखार्ने र एउटा स्पष्ट दिशा दिने काम जननेता मदन भण्डारी र उहाँले प्रतिपादन गर्नुभएको जनताको बहुदलीय जनवाद (जबज) को सिद्धान्तले गर्‍यो । मदन एक व्यक्तिमात्र नभई एक विचार, एक दृष्टिकोण थिए, जसले मार्क्सवाद-लेनिनवादजस्तो वैज्ञानिक दर्शनलाई नेपाली माटोको सुगन्धसँग मिसाएर कसरी लाखौँ जनताको मुक्तिको कार्यक्रम बनाउन सकिन्छ भनेर देखाइदिए । भूमिगतकालको त्यो कठिन समयमा मदनसँगको वैचारिक संगत र सहयात्राले विद्यालाई एक राजनीतिक कार्यकर्ताबाट एक परिपक्व नेतृमा रूपान्तरण गर्‍यो ।

जबज एउटा राजनीतिक सिद्धान्तमात्र नभई कम्युनिष्ट पार्टीलाई कसरी लोकतान्त्रिक बनाउने, कसरी जनताको मन जितेर श्रेष्ठता हासिल गर्ने र कसरी शान्तिपूर्ण माध्यमबाट समाजवादको आधार तयार गर्ने भन्ने एउटा जीवन्त मार्गदर्शन थियो । विद्या भण्डारीले जबजको यही जगमा आफ्नो राजनीतिक यात्रालाई अगाडि बढाइन् । मदनकी जीवनसंगीमात्र नभई जबजकी सच्चा अनुयायी र सहयोद्धा पनि थिइन् ।

२०५० साल जेठ ३ गते दासढुंगाको त्यो कालो दिनले नेपाली राजनीतिबाट मदनलाई भौतिकरूपमा खोसेर लग्यो । त्यो एउटा युगको अन्त्य गर्ने प्रयास थियो । के विचारको पनि मृत्यु हुन्छ र ? मदनले रोपेको जबजको बीऊलाई हुर्काउने र त्यसलाई नेपाली राजनीतिको मूलप्रवाह बनाउने जिम्मेवारी एमालेको काँधमा थियो । त्यो शोकको घडीलाई शक्तिमा बदल्दै मदनको निधनपछि रिक्त काठमाडौं- १ को उपनिर्वाचनमा तत्कालीन सत्ताधारी दलका शीर्ष नेता पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईजस्ता हस्तीलाई पराजित गर्नु विद्या भण्डारीको राजनीतिक जीवनको एउटा ऐतिहासिक ‘टर्निङ प्वाइन्ट’ थियो । उक्त विजय चुनावी जितमात्र नभई मदन भण्डारीप्रतिको अथाह जनसम्मान र जबजको विचारको अनुमोदन थियो । त्यसले विद्या भण्डारीलाई राष्ट्रिय राजनीतिको अग्रभागमा स्थापित गरिदियो ।

महिला अधिकारको अथक पैरवी र ३३५ को कोसेढुंगा

कम्युनिष्ट विचार बोक्ने व्यक्तिले सधैँ वर्गीय मुक्तिको लडाइँलाई सामाजिक विभेदविरुद्धको संघर्षबाट अलग गर्न सक्दैन । विद्या भण्डारीको राजनीतिको एउटा महत्वपूर्ण आयाम भनेको महिला अधिकार र लैंगिक समानताको पक्षमा उनको निरन्तर र अथक संघर्ष हो । अखिल नेपाल महिला संघ (अनेमसंघ) को नेतृत्वमा रहँदा होस् वा पार्टीको केन्द्रीय कमिटीमा उनले सधैँ महिलालाई राजनीतिक र सामाजिक रूपमा सशक्त बनाउनुपर्छ भन्ने आवाजलाई बुलन्द गरिन् ।

उनको सबैभन्दा ठूलो योगदान संसदमा महिलाको ३३ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्नुपर्छ भनेर उनले राखेको संकल्प प्रस्ताव थियो । त्यसबेला धेरैले यसलाई असम्भव र अव्यवहारिक भनेर हाँसोमा उडाए । उनको दृढ अडान र निरन्तरको लबिङले गर्दा नै आज नेपालको संविधानले राज्यका हरेक अंगमा महिलाको एक तिहाइ प्रतिनिधित्वलाई मौलिक हकको रूपमा स्थापित गरेको छ ।

यो आधा आकाश ओगट्ने महिलाको आत्मसम्मान, पहिचान र निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिताको ग्यारेण्टी हो । आज राष्ट्रपतिदेखि सभामुख, प्रधानन्यायाधीश र स्थानीय तहका हजारौँ पदमा महिलाले नेतृत्व गर्दैगर्दा हामीले त्यसको जग बसाल्ने विद्यादेवी भण्डारीको योगदानलाई बिर्सन मिल्छ ? यो उनको राजनीतिक जीवनको कोसेढुंगालाई इतिहासले सधैँ सम्मानका साथ स्मरण गर्नेछ ।

तीनवटा संकटको भूमरीमा फसेको पार्टीलाई बाहिर निकाल्न एउटा सामान्य मर्मत-सम्भारले पुग्दैन । ठूलै शल्यक्रियाको आवश्यकता पर्छ । त्यसको लागि वैचारिक स्पष्टता, संगठनात्मक अनुभव र बलियो नैतिक धरातल भएको नेतृत्व चाहिन्छ । विद्यादेवी भण्डारीको पुनरागमनको सन्दर्भ यही गर्भबाट जन्मिएको हो ।

नेकपा (एमाले) भित्र उनको यात्रा निरन्तर उकालो लाग्यो । पार्टीपंक्तिमा उनको बढ्दो स्वीकार्यता र नेतृत्व क्षमतालाई प्रमाणित गर्दथ्यो । आठौँ महाधिवेशनबाट पार्टीको उपाध्यक्षजस्तो महत्वपूर्ण पदमा निर्वाचित हुनु यसको प्रमाण थियो । उनले रक्षामन्त्रीको रूपमा देशको राष्ट्रिय सुरक्षाजस्तो संवेदनशील जिम्मेवारीलाई पनि सफलतापूर्वक पूरा गरिन् ।

२०७२ को असोजमा नयाँ संविधान जारी भयो र २३८ वर्ष पुरानो राजतन्त्रात्मक व्यवस्थाको अन्त्य भयो । देशले अब नयाँ राष्ट्रपति चुन्नुपर्ने थियो । नेकपा (एमाले) भित्र विभिन्न नेताको नाम चर्चामा थियो । तर, पार्टीले उनलाई नै किन अगाडि सार्‍यो ? यसका पछाडि केही गम्भीर कारण थिए ।

पहिलो, उनी पार्टीको एकीकरण र वैचारिक निरन्तरताको प्रतीक थिइन् । दोस्रो, महिला अधिकारको आन्दोलनमा उनको योगदान र राष्ट्रिय छविका कारण उनी सबैभन्दा स्वीकार्य उम्मेदवार थिइन् । तेस्रो, भर्खरै जारी भएको लैंगिक समानता र समावेशितालाई अंगीकार गरेको संविधानको कार्यान्वयनको प्रतीकात्मक शुरुवात गर्नका लागि एक महिलालाई राष्ट्र प्रमुख बनाउनु ऐतिहासिक रूपमा सान्दर्भिक थियो ।

त्यसैले, उनको राष्ट्रपतिको उम्मेदवारी पार्टीको निर्णयमात्र नभई नयाँ नेपालको भावनाको अभिव्यक्ति थियो । विद्यार्थी आन्दोलनको एउटा सानो झिल्कोबाट शुरु भएर गणतन्त्र नेपालको सर्वोच्च शिखरसम्म पुगेको यो यात्रा, संघर्ष, त्याग र विचारप्रतिको अविचलित निष्ठाको एउटा अनुपम गाथा हो । यही पृष्ठभूमि र यही राजनीतिक पुँजीलाई नबुझिकन उनको वर्तमान कदमको सही मूल्यांकन हुनसक्दैन ।

गणतन्त्रको सर्वोच्च संस्थाः अपेक्षा र यथार्थ

कुनै पनि संस्था व्यक्तिभन्दा ठूलो हुन्छ । तर, संस्थाको गरिमा र प्रभावकारिता त्यहाँ बस्ने व्यक्तिको विवेक, निष्ठा र दूरदर्शितामा निर्भर गर्दछ । २०७२ सालमा विद्यादेवी भण्डारीले गणतन्त्र नेपालको पहिलो महिला राष्ट्रपतिको रूपमा शपथ ग्रहण गर्दैगर्दा एक व्यक्तिको विजयमात्र नभई वर्षौंदेखिको नेपाली महिलाको संघर्ष र बलिदानको विजय थियो ।

नेपालको संविधानले राष्ट्रपतिलाई संविधानको संरक्षक, राष्ट्रिय एकताको प्रवद्र्धक र राष्ट्राध्यक्षको रूपमा परिभाषित गरेको छ । यो पद कार्यकारी अधिकारबाट अलग भए पनि राष्ट्रिय जीवनमा अत्यन्तै महत्वपूर्ण र सम्मानित भूमिकामा छ । उनको सात वर्षे कार्यकाललाई मूल्यांकन गर्दा जटिल र संक्रमणकालीन राजनीतिको चित्र प्रस्तुत गर्ने उपलब्धि र विवादका तरंग सँगसँगै उठेको देखिन्छ ।

उनको कार्यकालको सबैभन्दा महत्वपूर्ण उपलब्धि भनेको २०७२ को संविधानलाई संस्थागत गर्नुथियो । संविधान जारी भएपछिको संक्रमणकाल अत्यन्तै चुनौतीपूर्ण थियो । त्यही समयमा स्थानीय, प्रादेशिक र संघीय गरी तीनै तहको निर्वाचन सफलतापूर्वक सम्पन्न गराएर देशमा संघीय लोकतान्त्रिक गणतन्त्रको जग बसाल्ने काम भयो ।

मदन भण्डारीको जबजको विरासत बोकेकी नेतृको रूपमा उनले वैचारिक आधारमा कम्युनिष्टहरूलाई एकै ठाउँमा ल्याउने नैतिक बल राख्छिन् । यदि यो प्रयास सफल भयो भने यसले नेपाली राजनीतिमा फेरि एकपटक बलियो वामपन्थी ध्रुव निर्माण गर्नेछ, जसले देशको राजनीतिक कोर्षलाई नै बदल्नसक्छ ।

कूटनीतिक मोर्चामा छिमेकी राष्ट्र भारत र चीनसँगको सम्बन्धलाई सन्तुलित बनाउन र अन्य मित्रराष्ट्रसँगको सम्बन्धलाई विस्तार गर्न उनले खेलेको भूमिका स्मरणीय छ । राष्ट्रपति पदमा पुगेपछि पनि उनले महिला अधिकार र सामाजिक सुधारको आफ्नो अभियानलाई बिर्सिइनन् । ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’ मार्फत् दुर्गम क्षेत्रका विपन्न महिलाको उद्धार र सशक्तीकरणमा राज्यको ध्यान केन्द्रित गराइन् ।

अब चर्चा गरौँ ती विषयको, जसलाई लिएर उनको सबैभन्दा बढी आलोचना हुने गर्छ । उनको कार्यकालमा सबैभन्दा पेचिलो बनेको विषय थियो दुई पटकको प्रतिनिधिसभा विघटन । आलोचकले यसलाई प्रधानमन्त्रीको असंवैधानिक कदमलाई राष्ट्रपतिले आँखा चिम्लेर सदर गरेको भनेर व्याख्या गरे । हामीले परिस्थितिको गहिराईमा पुगेर हेर्नुपर्छ ।

तत्कालीन समयमा झण्डै दुई-तिहाइको जनमत भएको देशको सबैभन्दा ठूलो राजनीतिक दलभित्रको आन्तरिक कलहले सरकार र संसद दुवैलाई बन्धक बनाएको थियो । सरकार चलाउने दलले नै संसदबाट विश्वास लिन नसक्ने र नयाँ सरकार बन्ने विकल्प पनि नदेखिने अवस्था सिर्जना भएपछि ताजा जनादेशका लागि जनतामा जानु लोकतन्त्रको एउटा विकल्प हो कि होइन ? राष्ट्रपतिले गरेको निर्णय एउटा जटिल राजनीतिक गत्यावरोधलाई संवैधानिक निकास दिने प्रयासको रूपमा हेरिनुपर्छ, जुन मन्त्रिपरिषद्को सिफारिसमा आधारित थियो ।

त्यस्तै, नागरिकता विधेयकबारे सवाल उठ्यो । संसदबाट दुई्-दुई पटक पारित भएको विधेयकलाई राष्ट्रपतिले प्रमाणीकरण नगरेर संविधानको उल्लंघन गरिन् भन्ने आरोप लाग्यो । तर, यसको अर्को पाटो पनि छ । नागरिकताजस्तो अत्यन्तै संवेदनशील विषयमा दलहरूबीच अझ गहिरो छलफल होस्, राष्ट्रिय सहमति कायम होस् भन्ने संविधानको संरक्षकको चिन्तालाई के हामीले गलत भन्न मिल्छ ? उनले विधेयक रोकेको नभई संविधानले नै राष्ट्रपतिलाई दिएको अधिकारको प्रयोग गर्दै पुनर्विचारका लागि फिर्ता पठाएकी हुन् ।

नेकपा (एमाले) लाई किन विद्या भण्डारी चाहियो ?

कुनै पनि रोगको सही उपचार गर्न सबैभन्दा पहिले रोग के हो भनेर ठ्याक्कै किटान गर्नुपर्छ । आज नेकपा (एमाले) मा विद्यादेवी भण्डारीको पुनरागमनको चर्चा गर्दा यसलाई केही नेताको व्यक्तिगत महत्वाकांक्षाको टकरावको रूपमा मात्र व्याख्या गर्नु समस्याको अत्यन्तै सतही विश्लेषण हो । संकट व्यक्तिको होइन, प्रवृत्तिको हो । संकट गुटको होइन, विचारको हो । विद्या भण्डारीको पुनरागमनको आवश्यकतालाई बुझ्न हामीले नेकपा (एमाले) आज कुन-कुन संकटबाट गुज्रिरहेको छ भन्ने कुरालाई इमानदारीपूर्वक स्वीकार गर्नुपर्छ ।

पहिलो र सबैभन्दा गम्भीर संकट हो, वैचारिक । जननेता मदन भण्डारीले प्रतिपादन गर्नुभएको जबजले नेपाली कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाइ दियो । मदनको भौतिक अवसानपछि हामीले जबजलाई एउटा जडसूत्रको रूपमा मात्र ग्रहण गरेनौँ । समयको गतिसँगै विकसित र परिमार्जित गर्न सकेनौँ । आजको विश्व र समाजको आकांक्षालाई सम्बोधन गर्ने गरी जबजको जगमा नयाँ वैचारिक संश्लेषण गर्ने काममा पार्टी लगभग असफल भएको छ । गतिहीन विचारले संगठनलाई दिशाहीन बनाउँछ, जुन आज एमालेको मूल समस्या हो ।

दोस्रो संकट हो, संगठनात्मक क्षयीकरण । कुनै बेला सुदृढ र अनुशासित संगठनका लागि चिनिने एमालेमा आज विचारको ठाउँ गुटले र नीतिको ठाउँ नेताको चाकडीले लिएको छ । सामूहिक नेतृत्वको ठाउँमा व्यक्तिवाद हावी भएको छ । यो संगठनात्मक अराजकताले पार्टी र जनताबीचको जीवन्त सम्बन्धलाई कमजोर बनाएको छ ।
तेस्रो संकट हो, राजनीतिक र नैतिक स्खलन ।

कम्युनिष्ट पार्टी समाज बदल्ने आन्दोलन हो, तर पछिल्ला वर्षमा हामीमाथि सत्तामा पुगेपछि जनतालाई बिर्सिएको आरोप लागिरहेको छ । नेताको जीवनशैली र जनताको जीवनस्तरबीचको खाडल बढेको छ । भ्रष्टाचार र अनियमितताका काण्डमा पार्टीका नेताको नाम मुछिन थालेको छ । जनताको विश्वासमा गम्भीर चोट पुर्‍याएको छ ।

यी तीनवटा संकटको भूमरीमा फसेको पार्टीलाई बाहिर निकाल्न एउटा सामान्य मर्मत-सम्भारले पुग्दैन । ठूलै शल्यक्रियाको आवश्यकता पर्छ । त्यसको लागि वैचारिक स्पष्टता, संगठनात्मक अनुभव र बलियो नैतिक धरातल भएको नेतृत्व चाहिन्छ । विद्यादेवी भण्डारीको पुनरागमनको सन्दर्भ यही गर्भबाट जन्मिएको हो ।

विरासतको दायित्व र राजनीतिको नैतिक आयाम

अब प्रश्न उठ्छ, पार्टीमा यति धेरै नेता हुँदाहुँदै किन विद्या भण्डारी नै चाहियो ? के यो नयाँ पुस्ताको अपमान होइन ? यी प्रश्नको जवाफ तर्कसंगत ढंगले दिनैपर्छ ।
उनी केबल व्यक्तिमात्र नभई जननेता मदन भण्डारीको विचार र आदर्शको जीवन्त प्रतीक हुन् । आज पार्टी वैचारिकरूपमा दिशाहीन बनेको बेला जबजको मूल मर्मलाई पुनस्र्थापित गर्नसक्ने वैचारिक क्षमता र अधिकार उनीसँग छ ।

सात वर्षसम्म देशको राष्ट्रपतिजस्तो सम्मानित र निष्पक्ष पदमा बसेर उनले आफूलाई दलीय गुटबन्दीबाट अलग राखी सबै गुटलाई मिलाएर एकीकृत पार्टी निर्माण गर्नसक्ने सर्वस्वीकार्य व्यक्तित्व बनाइन् । उनको राजनीतिक जीवनमा व्यक्तिगत भ्रष्टाचार वा नैतिक पतनको एउटै पनि दाग नलाग्नु सबैभन्दा ठूलो राजनीतिक पुँजी हो, जसको आधारमा उनले पार्टीभित्रको विकृतिविरुद्ध निर्मम प्रहार गर्न सक्छिन् ।

आलोचना नं १– पूर्वराष्ट्रपति जस्तो सम्मानित व्यक्ति फेरि पार्टीको खुद्रा राजनीतिमा आउँदा पदको अवमूल्यन हुन्छ । यसले गलत नजिर बस्छ ।

पद ठूलो कि आन्दोलन ? संस्था ठूलो कि विचार ? जब सिंगो कम्युनिष्ट आन्दोलन नै संकटमा छ । हजारौँ कार्यकर्ताको बलिदानबाट बनेको पार्टी नै विघटनको डिलमा पुगेको छ, त्यतिबेला पदको गरिमा र नजिरको सैद्धान्तिक बहस गरेर बस्ने कि आन्दोलन बचाउन मैदानमा उत्रिने ? नजिर आवश्यकताले बनाउने हो । आजको आवश्यकता आन्दोलनको रक्षा हो । एउटा सेनापतिले युद्धको मैदानमा सिपाही बनेर लड्नुपरे पनि लड्छ, त्यसले युद्ध जिताउँछ भने । यो पुनरागमन पदको लागि नभई आन्दोलनको रक्षाको लागि हो ।

आलोचना नं २– उहाँ राष्ट्रपति हुँदा तटस्थ बस्न सक्नुभएन । उहाँले तत्कालीन प्रधानमन्त्री केपी ओलीको रबर स्ट्याम्पको रूपमा काम गर्नुभयो । उहाँबाट निष्पक्षताको आशा कसरी गर्ने ?

यो आरोपको जवाफ माथि पनि दिएको छु । राष्ट्रपतिको संस्था कार्यकारी होइन । उसले मन्त्रिपरिषद्को सिफारिसमा काम गर्ने हो । तत्कालीन सरकारसँग झण्डै दुई तिहाईको जनमत थियो । त्यो सरकारले गरेको सिफारिसलाई संवैधानिक आधारमा टेकेर कार्यान्वयन गर्नु राष्ट्रपतिको कर्तव्य थियो र बाध्यता पनि ।

समस्याको जड पार्टीभित्रको शक्ति संघर्षले सरकारलाई नै अस्थिर बनायो । त्यसको दोष राष्ट्रपतिलाई दिनु भनेको खोला तर्न नसक्नेले भेललाई दोष दिनुजस्तै हो । जहाँसम्म निष्पक्षताको कुरा छ, अब उनी पार्टी राजनीतिमा फर्किएपछि उनको भूमिका फरक हुन्छ । अब उनी संविधानको संरक्षक नभई पार्टीको संरक्षकको भूमिकामा हुनेछिन् । उनको निष्पक्षताको परीक्षण अब पार्टीका सबै सदस्यप्रति समान व्यवहार गरे, नगरेको आधारमा हुनेछ ।

आलोचना नं ३– उहाँको आगमनले पार्टीमा नयाँ पुस्ताको बाटो रोकिन्छ । यो नेतृत्व हस्तान्तरणको प्रक्रिया विपरीत छ ।

यो सबैभन्दा भ्रामक तर्क हो । के नेतृत्व हस्तान्तरण भनेको एउटा पुस्ताले अर्को पुस्तालाई भग्नावशेष हस्तान्तरण गर्नु हो ? कि, एउटा बलियो र गतिशील संगठन हस्तान्तरण गर्नु हो ?

आज पार्टी जुन वैचारिक र संगठनात्मक संकटमा छ, यदि यसलाई समयमै ‘रेस्क्यु’ गरिएन भने भोलिको पुस्ताले नेतृत्व गर्नका लागि पार्टी नै बाँकी नरहन सक्छ । विद्या भण्डारीको भूमिका पुलको जस्तो हो । एउटा संकटग्रस्त वर्तमान र एउटा आशालाग्दो भविष्यलाई जोड्ने पुल । उनको काम भनेको पार्टीलाई वैचारिक र संगठनात्मक रूपमा पुनर्जीवित गर्ने, विधि र पद्धतिमा चलाउने र एउटा स्वच्छ वातावरण निर्माण गरेर नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने हो । उनी बाटो छेक्न होइन, बाटो बनाउन आएकी हुन् ।

एमाले र नेपाली राजनीतिको भविष्य

कुनै पनि ठूलो राजनीतिक घटनाले शान्त पोखरीमा ढुंगा हानेजस्तै तरंग पैदा गर्छ । विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा फर्कने घोषणाले नेकपा (एमाले) भित्रको शक्ति सन्तुलनमा एउटा नयाँ र शक्तिशाली तरंग सिर्जना गरेको छ । यो तरंगले पार्टीको आगामी महाधिवेशन र समग्र नेतृत्वपंक्तिलाई कसरी प्रभाव पार्छ भन्ने अबको मुख्य चासो हो ।

हाल नेकपा (एमाले) को नेतृत्व अध्यक्ष केपी शर्मा ओलीको वरिपरि केन्द्रिकृत छ । पार्टीभित्र उहाँको निर्णयलाई चुनौति दिनसक्ने कद भएको अर्को नेताको अभाव खड्किएको थियो । विद्या भण्डारीको आगमनले यो समीकरणलाई ठाडै चुनौति दिएको छ । उनी केवल अर्को एक नेता नभई पूर्वराष्ट्रपतिको नैतिक उचाइ, मदन भण्डारीको वैचारिक विरासत र पार्टीको उपाध्यक्षसम्म भएर काम गरेको संगठनात्मक अनुभव छ ।

यसले उनलाई स्वाभाविक रूपमा ओलीपछिको वा ओलीकै समानान्तर शक्तिकेन्द्रको रूपमा स्थापित गर्छ । यसले पार्टीभित्र लामो समयदेखि एउटै व्यक्तिको वरिपरि घुमिरहेको शक्तिलाई विकेन्द्रित गर्ने र एक स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना गर्ने सम्भावना बोकेको छ ।

नेकपा (एमाले) आफ्नो महाधिवेशनको संघारमा छ । विद्या भण्डारीको पुनरागमनले महाधिवेशनको गणितलाई पूरै बदलिदिन सक्छ । अब नेतृत्वको दौड वर्तमान पदाधिकारीबीच मात्र सीमित रहने छैन । उनी आफैँ अध्यक्षको उम्मेदवार बन्छिन् वा ‘किङमेकर’ को भूमिका खेल्छिन्, त्यो भविष्यले बताउला । उनको उपस्थितिमात्रले पनि महाधिवेशनमा विचार र नीतिको बहसलाई प्रमुख बनाउन दबाब सिर्जना गर्नेछ ।

गुटगत समीकरणहरू भत्किने र नयाँ समीकरणहरू बन्ने प्रक्रिया शुरू हुनेछ । लामो समयदेखि किनारामा पारिएका वा असन्तुष्ट रहेका नेता-कार्यकर्ताले एउटा नयाँ र वैकल्पिक केन्द्र देख्नेछन्, जसले पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई बलियो बनाउन मद्दत गर्नसक्छ ।

उनको आगमनको परिणाम दुईतर्फी हुनसक्छ । यदि, उनले सबैलाई मिलाएर गुटभन्दा माथि उठेर र विधि-पद्धतिलाई स्थापित गरेर अगाडि बढ्न सकिन् भने उनी पार्टी एकताको सूत्र बन्न सक्छिन् । उनको नेतृत्वमा पार्टीभित्रको चरम गुटबन्दी अन्त्य भई एउटा नयाँ, एकीकृत र शक्तिशाली एमालेको पुनर्जन्म हुनसक्छ । यदि, उनको आगमनलाई पनि अर्को गुटको उदयको रूपमा व्याख्या गरियो र शक्तिसंघर्ष थप चर्कियो भने यसले पार्टीलाई थप विभाजनतर्फ धकेल्ने खतरा पनि उत्तिकै छ । यसको सफलता उनी र पार्टीका अन्य शीर्ष नेताको विवेक र दूरदर्शितामा निर्भर गर्दछ ।

कम्युनिष्ट आन्दोलनको भविष्य एकता कि थप विखण्डन ?

विद्या भण्डारीको पुनरागमनको प्रभाव ‘एमाले पर्खाल’ का चार कुनामा मात्र सीमित रहने छैन । यसले छरिएर रहेका कम्युनिष्ट घटक र समग्र वामपन्थी आन्दोलनको भविष्यमा पनि दूरगामी असर पार्नेछ । नेकपा (एमाले) विभाजित भएर बनेको नेकपा (एकीकृत समाजवादी) लगायत अन्य साना वामपन्थी समूहसँगको एकताको प्रयास पटक-पटक असफल हुँदै आएको छ । यसको मुख्य कारण व्यक्तिगत टकराव र विश्वासको संकट हो ।

पूर्वराष्ट्रपतिको हैसियतले विद्या भण्डारी हालका अन्य नेताको तुलनामा बढी स्वीकार्य र समन्वयकारी व्यक्तित्व बन्न सक्छिन् । उनको पहलमा हुने एकता वार्ताले नयाँ गति लिनसक्छ । मदन भण्डारीको जबजको विरासत बोकेकी नेतृको रूपमा उनले वैचारिक आधारमा कम्युनिष्टहरूलाई एकै ठाउँमा ल्याउने नैतिक बल राख्छिन् । यदि यो प्रयास सफल भयो भने यसले नेपाली राजनीतिमा फेरि एकपटक बलियो वामपन्थी ध्रुव निर्माण गर्नेछ, जसले देशको राजनीतिक कोर्षलाई नै बदल्नसक्छ ।

अर्कोतर्फ, यदि एमालेभित्रको आन्तरिक संघर्ष झन् चर्कियो र पार्टी थप कमजोर भयो भने यसले समग्र कम्युनिष्ट आन्दोलनलाई नै निराशातर्फ धकेल्ने छ । एउटा बलियो र एकीकृत कम्युनिष्ट पार्टीको अभावमा वामपन्थी मत विभाजित हुने र दक्षिणपन्थी तथा यथास्थितिवादी शक्ति बलियो हुने खतरा बढ्छ । त्यसैले उनको पुनरागमन वाम आन्दोलनको लागि एउटा ‘टर्निङ प्वाइन्ट’ भएर कि त एकताको ढोका खोल्नेछ, कि त विखण्डनको खाडललाई अझ गहिरो बनाउने छ ।

विद्या भण्डारीको यो कदमले नेपाली लोकतन्त्रका केही आधारभूत प्रश्नमाथि गम्भीर बहस सिर्जना गरेको छ । के पूर्वराष्ट्रपतिले सक्रिय राजनीतिमा फर्कनु नैतिक हो ? यसले सम्मानित संस्थाको गरिमा घटाउँछ कि घटाउँदैन ? यो बहसले भविष्यमा राष्ट्रपतिको पद र त्यसको अवकाशपछिको जीवनबारे कानूनी र संवैधानिक व्यवस्थाहरूमा पुनर्विचार गर्नुपर्ने आवश्यकता औंल्याएको छ । के पूर्वराष्ट्रपतिहरूलाई राज्यले विशेष सम्मान र सुविधा दिएर राजनीतिबाट टाढा राख्ने ? वा, उनीहरूको अनुभव र ज्ञानलाई राष्ट्र निर्माणमा लगाउन दिने ? यो प्रश्नको जवाफले नेपालको लोकतान्त्रिक अभ्यासको भविष्यको दिशा तय गर्नेछ ।

यो घटनाले राजनीतिमा नैतिकताको परिभाषा के हो भन्ने प्रश्न पनि उठाएको छ । के कानूनले नरोकेको कुनै पनि काम गर्नु नैतिक हो ? कि, राजनीतिमा कानुनीभन्दा माथि नैतिक बन्धनहरू पनि हुन्छन् ? उनको पुनरागमनलाई आन्दोलन बचाउने कर्तव्यको रूपमा हेर्ने कि पदको लोभको रूपमा ? यसले हाम्रो समाजको राजनीतिक चेतनाको स्तरलाई पनि देखाउँछ । यो बहसले राजनीतिलाई शक्ति आर्जनको खेलको रूपमा नभई एउटा नैतिक कर्मको रूपमा स्थापित गर्नुपर्ने आवश्यकतालाई जोड दिएको छ ।

अवसर, चुनौती र भविष्यको बाटो

हरेक ठूलो राजनीतिक कदम अवसर र चुनौतिको भारी बोकेर आउँछ । विद्यादेवी भण्डारीको राजनीतिक पुनरागमन पनि यसको अपवाद होइन ।

चुनौतीहरू

– राष्ट्रपति हुँदाका केही निर्णयका कारण गुमेको तटस्थ छविलाई पुनःस्थापित गर्नु र पार्टीका सबै पक्षको विश्वास जित्नु उनको पहिलो र सबैभन्दा ठूलो चुनौती हुनेछ ।

-पार्टीभित्र जकडिएर बसेको गुटबन्दीको जालो तोडेर विधि र पद्धतिमा आधारित संगठन निर्माण गर्नु फलामको च्यूरा चपाउनुसरह हुनेछ ।

-नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने मार्गचित्र प्रस्तुत गर्न नसके उनीमाथि बाटो छेकेको आरोप लागिरहने छ ।

अवसरहरू

-जबजको मर्मलाई आजको सन्दर्भमा व्याख्या गर्दै पार्टीलाई वैचारिक रूपमा पुनर्जीवित गर्ने ऐतिहासिक अवसर उनीसँग छ ।

-आफ्नो कद र छविको प्रयोग गरेर छरिएका कम्युनिष्टलाई एकतावद्ध गरी बलियो वामपन्थी शक्ति निर्माण गर्ने अवसर छ ।

-आफ्नो निष्कलंक छविको आधारमा पार्टी र राजनीतिभित्रको भ्रष्टाचार र विकृतिविरुद्ध शून्य सहनशीलताको अभियान शुरू गर्ने अवसर छ ।

विद्यादेवी भण्डारीको पुनरागमन एउटा व्यक्ति फर्किएको घटनामात्र होइन । यो त नेपाली कम्युनिष्ट आन्दोलन र समग्र लोकतन्त्र एक नयाँ मोडमा आइपुगेको संकेत हो । यो बाटो कता जान्छ, त्यो केवल उनको व्यक्तिगत प्रयासले मात्र निर्धारण गर्दैन । यसमा नेकपा (एमाले) को समग्र पंक्ति अन्य राजनीतिक दल र नेपाली जनताको विवेकले पनि उत्तिकै महत्वपूर्ण भूमिका खेल्नेछ ।

एउटा कुरा निश्चित छ, यो घटनाले नेपाली राजनीतिमा लामो समयसम्म तरंग र बहस सिर्जना गरिरहने छ र यसैको गर्भबाट भविष्यको राजनीतिले आफ्नो आकार ग्रहण गर्नेछ ।

Comments

2 responses to “एमालेलाई विद्या भण्डारी किन चाहियो ? केही सवालमा बुझौं”

  1. Riyaz Ahs khan Avatar
    Riyaz Ahs khan

    सन्दर्भिक लेख

  2. ksp pyl Avatar
    ksp pyl

    पार्टीमा सिन्को नभाँच्ने यस्ता कामचोरहरू विद्याको फेर समातेर पार्टीमा हालिमुहालि गरौंला भनेर बढाई चढाई गर्दै विद्याको बखान गर्दैछन् । यस्ता लेख लेख्नेहरू त मलाई दिल्लीका दलालहरू हुन् कि जस्तो लाग्न थालिसक्यो । न विद्यामा त्यो क्षमता छ, न दृष्टिकोण छ । मदन भण्डारीको मृत्यु भएपछि आक्रोश र आँसुको भोटले चुनाव जितेको हो । बाँकी त ओलिकै दयाले खाईरहेको हो । न क्षमता छ न केही छ । छ भने केवल लोभ, पदलोलुपता छ । लाजै नमानि राष्ट्रपति पदको गरिमालाई कुल्चनेबाट केही आश गर्नेहरू केवल एमाले कमजोर बनाउन हिडेका दिल्लीका भाडाका टट्टु हुन् । ओम्नी र यतिका डिजाईनरहरूलाई ओलिले सरकार र पार्टीमा भित्तामा पुर्याए पछि विद्यालाई बोकेर खान पाईन्छ कि भनेर आएका हुन् ।कान्छी श्रीमतिलाई न्यायाधिश नियुक्त नगरिदिएको भनेर ओलिलाई देखाईदिन विद्या ठिक भन्दै प्रवक्ता जस्तै गरेर हिडेको छ पश्चिमको एउटा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *