अडियो काण्डमा मुछिएका मन्त्री अधिकारीले आज एक वर्षे उपलब्धि सार्वजनिक गर्दै

काठमाडौं । सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तापछि केपी ओली सरकारका अर्का मन्त्री पनि अडियो प्रकरणमा मुछिएका छन् । उनले ३२ लाख रुपैयाँ घुस लिएको दाबी गरिएको एउटा अडियो सार्वजनिक भएको छ ।

पोखरामा १ सय ३५ रोपनी जग्गा व्यक्तिको नाममा ल्याउने प्रयासमा एक समूहसँग उनले घुस लिएको दाबीसहितको अडियो बाहिर आएको हो ।

यसअघि गुप्ताको अडिओमा पनि उनको नाम जोडिएको थियो । गुप्ताले चौतर्फी दबाबपछि पदबाट राजीनामा दिइसकेका छन् भने बलराम अधिकारीमाथि पनि दबाब बढ्दै छ ।

सार्वजनिक अडिओमा मन्त्री अधिकारीको आफ्नै आवाज भने छैन । अडिओमा सामान्य प्रशासन मन्त्रालयका तत्कालीन सचिव अर्जुन पोखरेल, मन्त्री अधिकारी छोरा मनोज अधिकारीसमेतको नाम लिइएको सुनिन्छ ।

मन्त्री अधिकारीलाई छोरामार्फत ३२ लाख रुपैयाँ लिएको दाबी गरिएको छ भने मन्त्री गुप्ताले ३५ लाख र सचिव पोखरेलले ५ लाख लिएको दाबी छ । जग्गाका लागि डेढ करोड खर्च भइसकेको अडिओमा सुनिन्छ ।

अधिकारी भने अडिओमा आफ्नो नाम नभएकाले आफू नमुछिने तर्क गरिरहेका छन् । गुप्ताको अडियो आएपछि जुन औँलामा विष लागेको छ त्यही झर्ने उनले बताएका थिए ।

यसैबीच मन्त्री अधिकारीले राजीनामाको साटो आफ्नो मन्त्रालयको एक वर्षे उपलब्धि सार्वजनिक गर्ने तयारी गरेका छन् । आज ३ बजे मन्त्रालयमै पत्रकार सम्मेलन गर्दै उनले आर्थिक वर्ष २०८१÷८२ का उपलब्धि सार्वजनिक गर्न लागेका हुन् । सम्भवतः उक्त पत्रकार सम्मेलनमा अधिकारीले अडियो काण्डबारे थप प्रष्टीकरण दिनेछन् ।

Comments

One response to “अडियो काण्डमा मुछिएका मन्त्री अधिकारीले आज एक वर्षे उपलब्धि सार्वजनिक गर्दै”

  1. हलुवाकाका Avatar
    हलुवाकाका

    मन्त्री कमरेडलाई पत्रकारहरुले यो प्रश्न वा जिज्ञाशा पनि राख्ने गरी दिन -घुस माग्दा पनि मोबाइल – फोन वा अन्य साधन प्रयोग गर्न नहुने हो नि ! भनेर सम्झाई दिनुपऱ्यो पत्रकारहरुले !

Leave a Reply

Your email address will not be published. Required fields are marked *