काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले विद्यालय शिक्षा विधेयकमाथि तुषारापात भए शिक्षा क्षेत्र भताभुङ्ग र लथालिङ्ग हुनसक्ने चेतावनी दिएका छ्न् ।
नेपाल सामुदायिक विद्यालय कर्मचारी संघले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा थापाले २०२८ सालको विद्यालय ऐनलाई विस्थापित गर्दै सचेत नागरिक निर्माण गर्न विधेयकले धेरै काम गरिरहेको भन्दै अब पनि विद्यालय शिक्षा विधेयकमा तुषारापात हुन नहुने बताए ।
शिक्षालाई सुधार गर्न विधेयक अघि बढेपनि यो शिक्षा विधेयक भन्दा पनि ‘शिक्षक विधेयक’ जस्तो भइसकेको उनको भनाइ छ ।
‘शिक्षक महासंघका सभापति यहिँ हुनुहुन्छ । मसँग सबैकुराको सहमति हुन्छ । अन्त गएर के हुन्छ थाहा हुँदैन । अब स्वत: स्थायी, स्वत: बढुवा हुँदैन । प्रतिस्पर्धा गर्नुपर्यो । शिक्षाको गुणस्तर असल शिक्षक बनाएपछि मात्र हुन्छ ।’
थापाले थपे, ‘अहिले पनि आन्दोलन गर्छौं भनिरहनुभएको छ । आन्दोलनले शिक्षा क्षेत्र बन्ने होइन । नेविसंघलगायत सबैजसो विद्यार्थी संगठनले ज्ञापन पत्र दिइसकेका छन् । सत् प्रतिशत खुला गर भनेर ज्ञापन पत्र बुझाएका छन् । हामी कहाँ जाने ? सधैँ बेरोजगार बस्ने ? पुरानाले मात्र जागिर खाने भनिरहेका छ्न् ।’
सभापति थापाले समितिमा शिक्षा विधेयक लक भइसकेको भन्दै अग्रगमनको बाटो लिने वातावरण बन्छ भने आवश्यक बुँदा थप गर्न तयार रहेको प्रष्ट्याए । शिक्षकहरूको असन्तुष्टि र कांग्रेसका कारण विधेयक रोकिएको भन्दै विधेयकलाई सहज रूपमा अघि बढ्ने वातावरण बनाउन कांग्रेस सभापति शेरबहादुर देउवालाई आग्रहसमेत गरे ।
देउवातिर हेर्दै उनले भने, ‘अलिअलि त्यहीँबाटै अड्किएको छ है हजुर !’

Leave a Reply