काठमाडौं नगरसभाः रास्वपाबाट निर्वाचित वडाध्यक्षले पनि प्रशासकीय अधिकृतलाई गरिनन् सम्बोधन

काठमाडौं । काठमाडौं महानगरपालिकाको नगरसभा बैठकमा अहिले बजेट तथा नीति कार्यक्रममाथि छलफल जारी रहेको छ । नगरसभा सदस्यहरुले बजेटमा समावेश गर्नका लागि विभिन्न सल्लाह-सुझावहरू प्रस्तुत गरिरहेका छन् ।

महानगरका प्रमुख बालेन्द्र साहको अध्यक्षतामा बैठक बसेको हो । मञ्चमा साहसँगै उपमेयर सुनीता डंगोल र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं बसेका छन् । सँगै बसे पनि नगर प्रमुख साहले प्रशासकीय अधिकृत गुरागाईंसँग बोलचाल गरेका छैनन् । उनले बैठक सुरु गर्दा पनि प्रशासकीय अधिकृतको नाम लिएनन् ।

बैठकमा बोलिरहेका अधिकांश नगरसभा सदस्यहरूले प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई सम्वोधन गरेका छन् । तर, रास्वपाबाट निर्वाचित १६ नम्बरकी वडाध्यक्ष रोजिना श्रेष्ठले भने उनलाई सम्बोधन गरिनन् । उनले ‘आजको १७ औं नगरसभाका सभाध्यक्ष बालेन्द्र साह ज्यू, उपप्रमुख सुनीता डंगोलज्यू, सम्पूर्ण कर्मचारीहरुज्यू, ३२ वटै वडाका वडाध्यक्षज्यू र सम्पूर्ण वडाका सदस्यज्यू लगायत सबै महानुभावमा न्यानो अभिभावदन !’ भन्दै सम्बोधन गरेकी थिइन् ।

काठमाडौंका वडाध्यक्ष श्रेष्ठ मेयर बालेन समर्थित मानिन्छिन् । प्रमुख प्रशासकीय अधिकृतलाई जनप्रतिनिधि र कर्मचारी मिलेर जबर्जस्ती कार्यालय प्रवेश गराइँदा श्रेष्ठ अनुपस्थित बनेकी थिइन् ।

श्रेष्ठले आफ्नो वडाका केही समस्या र मागहरु अघि सारिन् । उनले बालाजु बाइसधारा पार्कको डीपीआरसहितको योजना बजेटमा समावेश गर्न आग्रह गरेकी छन् । साथै, पार्कभित्रको सेतो घर भुम्कपले जिर्ण भएको हुँदा पुनर्निमाणको योजनाका लागि उनको प्रस्ताव छ ।

श्रेष्ठले नयाँ बजारमा रहेको सोसल ग्राउन्डमा फुटबल ग्राउन्ड निर्माण गर्नुपर्ने भएकाले बजेट छुट्याउन माग गरिन् । यस्तै १६ नम्बरमै रहेको पञ्चकुमारी मार्गमा रहेको सार्वजनिक जग्गामा पार्क बनाउन डीपीआरसहितको योजना पनि माग गरिन् । पकनाजोलस्थित नेपाल युवक माविको शिक्षालयको पुरानो भवन जीर्ण भएको भन्दै पुननिर्माण गर्नुपर्ने बताइन् ।

वडाध्यक्ष श्रेष्ठले सिस्डोलमा फोहोर फाल्ने गाडीहरुले फोहोर लग्दा ककनी पुगेपछि बाटोमा फोहोर चुहिएर स्थानीयलाई भइरहेको समस्याबारे पनि आवाज उठाएकी थिइन् ।

Comments

4 responses to “काठमाडौं नगरसभाः रास्वपाबाट निर्वाचित वडाध्यक्षले पनि प्रशासकीय अधिकृतलाई गरिनन् सम्बोधन”

  1. ram bhattarai Avatar
    ram bhattarai

    संस्कार हो,नैतिकता हो। जस्तो सिकेर आए उस्तै गरे, जे सिके त्यहि गरे !!

  2. samir Avatar
    samir

    भ्रष्ट पार्टीका झोलेहरुलाई सबै नेपालीले बहिस्कार गर्नुपर्छ।

  3. ksp pyl Avatar
    ksp pyl

    विधि के हो भने यदि प्रशासकीय अधिकृतले अख्तियारको दुरूपयोग गरेका छन् भने अनुसन्धान गर्ने निकायमा उजुरी गर्ने हो । भ्रष्टाचारी प्रमाणित गर्ने अधिकार न बालेनलाई छ न रास्वपाको सदस्यलाई । कानून नमान्ने बालेन र रास्वपाजस्ताहरू अरूलाई जबर्जस्ती खत्तम घोषित गरेर स्थापित हुन खोजिरहेका छन् । याद गर कालान्तरमा त्यो तिमीहरूको लागि घातक हुनेछ ।

  4. Krishna Narayan Shrestha Avatar
    Krishna Narayan Shrestha

    जे गरे जानेर वा नजानेर गरे ठिक गरे भ्रष्ट कर्मचारीलाई याे ठग बन्धन सरकारले स्विकार गरे पनि महानगरका न्याय प्रेमी जनताले कुनै पनि हालतमा सही मान्ने वाला छैनन चाहे अदालतले सफाइ नै किन नदिवस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *