काठमाडौं । राजसंस्था पुनर्स्थापनका लागि संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले आन्दोलनलाई टुंगोमा पुर्याउन सकेनन् । उनले नेतृत्व गरेको आन्दोलन यत्तिकै तुहिएको छ र सुवेदी अहिले फेरि राप्रपामा फर्किन प्रयासरत छन् ।
समितिको नेतृत्व लिएलगत्तै सुवेदीले राप्रपा परित्याग गरेको घोषणा एक पत्रकार सम्मेलनमा गरेका थिए । त्यही घोषणालाई आधार मान्दै राप्रपा अध्यक्ष लिङदेनले सुवेदीलाई पार्टीको अनुशासन समितिको अध्यक्षबाट हटाइदिए । राप्रपाको संस्थापन पक्षले सुवेदी अहिले पार्टीको साधारण सदस्यसमेत नरहेको बताइरहेको छ ।
अर्कोतर्फ संयुक्त जनआन्दोलन समितिभित्र पनि सुवेदीप्रति असन्तुष्टि बढेको छ । समितिको नेतृत्व गरिरहेका व्यक्ति फेरि राप्रपामा फर्किन खोजेपछि केही सदस्यहरु उनलाई संयोजकबाट हटाउनुपर्ने पक्षमा देखिएका छन् । प्रवक्ता स्वागत नेपालले हिजो एक विज्ञप्ति नै निकालेर यसको छनक दिए ।
विज्ञप्तिमा सुवेदीलाई अहिलेसम्म खेलेको भूमिकाप्रति धन्यवाद ज्ञापन गरिएको छ । नेपाल प्रेससँग कुरा गर्दै नेपालले सुवेदी अब समितिको संयोजक नरहने र उनलाई मार्ग प्रशस्त गर्न भनिने बताएका थिए ।
यस विषयमा नेपाल प्रेससँग कुरा गर्दा सुवेदीले इन्कार गरे । आफू समितिको संयोजक छोड्ने पक्षमा नरहेको उनको भनाइ छ ।
‘मलाई समितिबाट कसैले हटाएको छैन र हटाउन पनि मिल्दैन । मैले छाडिहाल्न मिल्ने स्थिति पनि छैन’, उनले भने ।
हिजो समितिको नाममा जारी भएको विज्ञप्तिप्रति उनले अनभिज्ञता दर्शाए ।
सुवेदीले भने, ‘त्यो विज्ञप्ति स्वागत नेपालजीले लेखेर जारी गर्नुभएको हो । यो विषयमा उहाँलाई नै सोध्नुहोला । समितिमा मलाई कसैले पनि राजीनामा दिनुपर्छ भनेको छैन ।’
अब चाँडै आफूले संयुक्त जनआन्दोलन समितिको बैठक राख्ने र भावी कार्ययोजना बनाउने उनले बताए । यता प्रवक्ता नेपालले भने समिति नै पुनर्गठन हुने दाबी गरे । आफूले समितिमा आवद्ध ४४ वटै संस्थाका प्रतिनिधिहरुसँग कुरा गरेको र सबैले नयाँ संयोजक चयन गरेर जानुपर्ने पक्षमा रहेको उनको भनाइ छ ।
‘मैले नवराज सुवेदीजीसँग पनि कुरा गरेर समिति पुनर्गठन गरौं भनेको छु । डा. धवलशमशेर राणालाई पनि भनेको छु । उहाँले बैठक बसेर छलफल गरौंला भन्नुभएको छ । बैठकमा म आफैं पुनर्गठनको प्रस्ताव लैजान्छु’, उनले भने ।

Leave a Reply