काठमाडौं । गायक रामकृष्ण ढकाल पनि संजालमा आफूमाथि गालीगलौज गर्ने र अभद्र टिप्पणी गर्नेहरुको आइडी सार्वजनिक गर्ने अभियानमा सक्रिय भएका छन् । उनले आफूलाई गालीगलौज गर्ने र अभद्र टिप्पणी गर्नेहरुको आइडीको स्क्रिनसट सार्वजनिक गर्दै भण्डारफोर अभियानमा जोडिएका हुन् ।
ढकालले एक लामो स्टाटस लेख्दै केही दुषित र आपराधिक मनोवृत्ति भएका मानिसहरुले प्रतिविधि र मिडियाको चरम दोहन गर्दै कलाकारहरुको व्यक्तिगत जीवनमाथि प्रहार गरिरहेको उल्लेख गरेका छन् ।
यसले उनीहरुको पारिवारिक सम्बन्धहरु तलमाथि हुनुका साथै अतिरिक्त रुपमा मानसिक तनाव पनि देखिन थालेको बताएका छन् । उनले लेखेका छन्, ‘भन्न पाइयो, बोल्न पाइयो र लेख्न पाइयो भन्दैमा कसैको व्यक्तिगत जीवनमै धक्का पुग्ने गरी मानसिक पीडा दिन र दुःख दिन कदापि पाइदैन ।’
उनले थप प्रश्न गरेका छन्, ‘व्यक्तिगत जीवन खराब वा नराम्रो होस् भनेर को चाहन्छ र ? तर, नचाँहदानचाँहदै पनि कहिलेकाही भैदिन सक्छ । यहाँ कमजोरीविहीन मान्छे को छ र ? ब्यक्तिगत जीवनमा केही न केही तलमाथि कसको हुँदैन र ?’
उनले धेरैजसो कलाकार प्रतिकूल परिस्थितिबाट गुज्रँदै लामो संघर्ष गरेपछि स्थापित भएको भन्दै असंवेदनशील बनेर गाली बर्साउँदा उनीहरुको जीवनमा ठूलो असर गर्ने बताएका छन् । त्यस्तो गाली गर्ने अधिकार कसैलाई नभएको पनि उल्लेख गरेका छन् ।
बाँकी कानुनी उपचारका लागि साइबर व्युरो गुहार्ने पनि उल्लेख गरेका छन् । उनले गायिकाद्धय एलिना चौहान र समीक्षा अधिकारीले भण्डारफोर अभियान चलाएर देखाएको साहसको पनि सम्मान गर्न चाहेको उल्लेख गरेका छन् ।
केही समयअघि एलिना र समीक्षाले सामाजिक संजालमा तुच्छ, अपाच्य गाली गर्नेहरुको आइडी सार्वजनिक गर्ने अभियान चलाएका थिए । यससँगै एलिनाले साइबर व्युरो पनि गुहारेका थिए । उनको उजुरीका आधारमा कवि गुन्जन राई पक्राउ परेका थिए ।

Leave a Reply