विदेशबाट फर्किएर पत्नीको हत्या, नाबालक छोराछोरीको बिचल्ली

रुपन्देही । प्यूठानको सरुमारानी गाउँपालिका-३ गोठेरीकी २८ वर्षीया रुक्मणी बरालको हत्या पूर्वपति लीलबहादुर बरालले गरे । मंगलबार आफूलाई धोका दिएको आरोप लगाउँदै लीलबहादुरले चक्कुले हानेर हत्या गरेका गरेका हुन् ।

ऐरावती गाउँपालिका-२ कात्तिकेका ३० वर्षीय लीलबहादुरलाई घटनास्थलबाटै पक्राउ गरिएको प्यूठानका डीएसपी दिपेश बस्यालले जानकारी दिए । बस्यालका अनुसार घटना मंगलबार बिहान साढे ९ बजेतिरको हो ।

रोजगारीमा इजरायल पुगेका लीलबहादुर असार २४ मा नेपाल फर्किएका थिए । स्थानीयका अनुसार रुक्मणीले गत वैशाखमा दिपक परियारसँग अर्को बिहे गरेकी थिइन् । ठेक्कापट्टा गर्ने दिपक अहिले कामको सिलसिलामा संखुवासभामा छन् ।

रुक्मणी र लीलबहादुरबाट जन्मिएका एक छोरा र एक छोरी छन् । आमाको हत्या र बुबाको गिरफ्तारीपछि उनीहरू बिचल्लीमा परेका छन् ।

‘६ वर्ष र साढे ३ वर्षको बच्चालाई अब के गर्ने भन्ने छ । आमाको मृत्यु भइसक्यो, बाबु जेल जाने नै भए ’, डीएसपी बस्यालले भने ।

उनीहरूको पालन पोषण र पढाइको चिन्ता थपिएको छ ।

रुक्मणी दिपककी जेठानी डिला परियारको घरमा बसिरहेकी थिइन् । डिलाका अनुसार लीलबहादुरले उनलाई फोन गरी बोलाएर घरभित्र प्रवेश गरेका थिए । त्यसपछि चक्कु निकालेर रुक्मणीमाथि हमला गरेका थिए ।

‘मैले रोकेँ, कराएँ,नहान् भनेँ, तर मानेनन् । आँखै अगाडि छुरा हानेर मारे,’ डिलाले सुनाइन् ।

डीएसपी बस्यालले प्रारम्भिक अनुसन्धानअनुसार यो पूर्ववैवाहिक रिसईबीको कारण भएको देखिएको बताए । इजरायलबाट ३ वर्षपछि घर फर्कँदा रुक्मणीले अर्कै बिहे गरेको र फर्काउन कोसिस गर्न नमानेको साथै डिभोर्स पनि नदिएकाले श्रीमतीको हत्या गरेको लीलबहादुरले बयान दिएका छन् ।

‘म कमाउन विदेश जाने उ यहाँ अर्कैसँग रमाउने ? बालबालिका सानै थिए, म फर्केपछि पनि सँगै बसौं भने तर मानिन । डिभोर्स दिन पनि मानिन, अनि मेरो विकल्प केही नभएर हत्या गरेको हुँ,’ लीलबहादुरले प्रहरीलाई बयान दिएको बस्यालले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *