काठमाडौं । नवराज सुवेदी राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपामा नै फर्किन खोजेपछि जनआन्दोलन समितिलाई अहिलेसम्मको भूमिकाका लागि धन्यवाद दिएको छ ।
समितिले एक विज्ञप्ति जारी गर्दै पार्टी परित्यागको घोषणा पछि ४४ वटा संघ संगठन र पार्टीहरूले स्वीकार गर्दै जिम्मेवारी दिएको स्मरण गरेको छ । अहिले आफ्नो पूर्ववत् पार्टीको जिम्मेवारीमा रहन चाहेकाले संयोजक रहँदासम्म उनले खेलेको भूमिकाप्रति आभार व्यक्त गरेको हो ।
यस्तै, सबै दल, अभियान र संघसंस्थाहरुसँग संवाद गरी चाँडै नै साझा स्वतन्त्र नागरिक आन्दोलन घोषणासहितका कार्यक्रम सार्वजनिक हुने पनि प्रवक्ता स्वागत नेपालले बताएका छन् ।
यस्तो छ विज्ञप्ति
राजसंस्था पुनर्स्थापनाका लागि
संयुक्त जनआन्दोलन
परिचालन समिति
प्रेस विज्ञप्ति मिति २०८२।०३।३१
आदरणीय राष्ट्रवादी, देशभक्त तथा प्रजातान्त्रिक (उन्नत लोकतान्त्रिक) विचारधारामा प्रतिबद्ध एवम् पृथ्वीपथमा विश्वस्त देश विदेशमा रहनु भएका सम्पूर्ण नेपाली आमाबुबा दाजुभाइ तथा दिदीबहिनीहरु!
राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी ज्युले आफू पूर्ववत् पार्टीमा फर्कन चाहनु भएपछि सिर्जित नयाँ परिस्थितिका सन्दर्भमा यो स्पष्ट दिशावोध सहित सबैमा निम्न लिखित आह्वान गर्दछौं ।
१. समितिका संयोजक ज्युलाई सबैका साझा व्यक्तित्वका रुपमा उहाँले पार्टीको आबद्धता परित्याग गर्नुभएको घोषणा पश्चात ४४ वटा पार्टी, अभियान, र संघसंस्थाहरुले स्वीकार गर्नु भएको थियो तर पुनः पार्टीकै जिम्मेवारीमा रहन चाहनु भएपछि आन्दोलनले पुनः स्वतन्त्र संयोजनकारी भूमिका निर्वाह गर्ने सामूहिक प्रयास खोजेको छ। उहाँले आफू आफ्नो पूर्ववत् पार्टीको जिम्मेवारीमै रहन चाहनु भएको अभिव्यक्ति दिनु पूर्वसम्मको भूमिकाका लागि उहाँमा हार्दिक आभार तथा धन्यबाद ज्ञापन गर्न कसैले कञ्जुस्याइँ गर्नु हुँदैन ।
२. संयुक्त जनआन्दोलनको प्रकृति भनेको दलका व्यक्तिहरु रहनै हुँदैन भन्ने हुन्न । यसपूर्व सबै प्रकारका संयुक्त जनआन्दोलन भनिएका गतिविधिहरुमा पनि सबै दल अभियान र संघसंस्थाहरुको सक्रिय संलग्नता मात्र होइन नेतृत्व नै हुने गरेको तथ्यलाई हामीले भुल्नु हुँदैन । र, संसारका सबै देशमा राजसंस्था पुनर्स्थापनाका लागि भएका आन्दोलनमा पनि केवल शुरुदेखि राजसंस्था पुनर्स्थापना गर्न सक्रिय रहेका दलहरु मात्र नभई शुरुमा राजसंस्था विरोधी पहिचान बनाएका दल, समूह र व्यक्तिहरुको पनि नेतृत्व नै रहने गरेको इतिहासलाई समेत सम्झँदै राजसंस्था पुनर्स्थपनाका लागि अझै पनि सबै देशभक्त, प्रजातान्त्रिक (उन्नत लोकतान्त्रिक), राष्ट्रवादी सबै दल, समूह, व्यक्तित्वहरु सबैको आआफ्नै स्थानबाट नेतृत्व नेपालमा पनि क्रमशः घोषित रुपमा अघि बढिरहेको छ ।
३. माथिका सबै सत्यहरुका साथ सत्य यो पनि हो कि जुनसुकै दलमा भए पनि कुनै पनि दलमा नभए पनि आन्दोलनले साझा स्वतन्त्र नागरिक आन्दोलनको स्वरुप धारण गर्नैपर्छ किनकि राजसंस्था पुनर्स्थापना हुँदा राजा चाहनेहरुका लागि मात्र होइन राजाविरोधी विचार राख्नेहरुका लागि पनि राजालाई सबैका साझा नै बनाउने गरी पुनर्स्थापित गराउने हो भन्ने सत्य बिर्सन मिल्दैन ।
४. संयुक्त जनआन्दोलन समिति समेतको पहलमा संयोजकले आफ्नो पछिल्लो अभिव्यक्ति दिनुपूर्वदेखि नै सबै दल, अभियान, संघसंस्थाहरुसँग संवाद अघि बढाइरहको छ र चाँडै नै साझा स्वतन्त्र नागरिक आन्दोलन घोषणा सहित सबै विकासक्षेत्र, अञ्चल, जिल्ला, पालिका, वडा र टोल समितिहरु समेतबारे पत्रकार सम्मेलनमार्फत जानकारी दिइने छ। राजसंस्था पुनर्स्थापनाको आन्दोलन रोकिएको छैन । विश्वका धेरै देशमा राजसंस्था पुनर्स्थापनाको आन्दोलनले नेपालभन्दा लामो समय पनि लिएको छ । नेपालमा आन्दोलनको सफलता चाँडै नै निश्चित हुने गरी नयाँ प्रविधि, सिर्जनशील प्रकृति र शान्तिपूर्ण तर छेक्नै नसक्ने गरी कार्यक्रमको तयारी भइरहेको छ।
५. सरकारले यस पूर्वझैँ शान्तिपूर्ण कार्यक्रममा षडयन्त्रपूर्वक ताकीताकी राष्ट्रिय गान गाइरहेको स्थानमा र आन्दोलनसँग सरोकार नै नभएका नागरिकहरुलाई समेत गोली हानेर मारेझैँ मार्ने योजना बनाएको सूचना प्राप्त भएपछि सरकारले छेक्नै नसक्ने नयाँ प्रकृतिका सिर्जनशील रुपमा प्रतिरोधी योजनाका साथ आन्दोलन अघि बढइने छ ।
६. नेपालमा कि राजसंस्था पुनर्स्थापना हुन्छ कि ग्लोबबाटै नेपालको नक्सा सदाका लागि मेटिने अवस्था बर्तमान विदेशी कठपुतली कुशासकहरुको व्यवस्थाकै कारण आउने छ । त्यसैले आन्दोलनलाई अझ तिब्रत्तर ढंगले अघि बढाउनुको विकल्प छैन ।
७. अतः सबै आमाबुबा दाजुभाइ दिदीबहिनीहरुमा संयम, धैर्य र साहसका साथ एक ढिक्का भएर देशको अस्तित्व जोगाउने लोकतान्त्रिक (प्रजातान्त्रिक) देशभक्तिपूर्ण राष्ट्रवादी आन्दोलनका अब घोषणा हुने नयाँ चरणको स्वतन्त्र नागरिक आन्दोलनमा गोलबद्ध भइदिनुहुन र खासगरी युवा साथीहरुमा चट्टान फोरेर पनि पिपलको बोट उम्रिन्छ भनेझैँ नेतृत्वका लागि तयार रहन पनि हार्दिक आह्वान गर्दछौं ।
स्वागत नेपाल
प्रवक्ता,
संयुक्त जनआन्दोलन परिचालन समिति

Leave a Reply