प्रचण्ड र बादलसँगको फोटो राख्दै बाबुराम- माओवादी आन्दोलनसँग जोडिएका एक हुनसके सब ठीक हुन्छ

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले पुष्पकमल दाहाल प्रचण्ड र रामबहादुर थापा बादलसँगको फोटो राख्दै तत्कालीन माओवादीभित्रको गल्ती औँल्याएका छन् । माओवादी आन्दोलनसँग जोडिएका, तर अहिले विभिन्न धारमा छरिएकाले आन्दोलन कमजोर भएको उनले बताए ।

उनले भने, ‘माओवादी आन्दोलनसँग जोडिएका, तर अहिले विभिन्न धारमा छरिएका साथीहरूबीच एउटा सोच पछिल्लो चरणमा निकै झाँगिँदै गएको प्रतीत हुन्छ, नेताहरू फुटेकाले आन्दोलन कमजोर भयो । त्यसैले सबै जना फेरि एकजुट हुनसके सबै थोक ठीक हुन्छ । यो एकदम पवित्र, तर बाल सुलभ बुझाइ र सोच हो । यसबारे तथ्य र तर्कसहित प्रस्ट पार्न ठूलै ठेली आवश्यक पर्छ ।’

बाबुरामले औंल्याएका तत्कालीन माओवादीभित्रका मुख्य गल्ती

राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति र शक्ति सन्तुलनको ठीक मूल्याङ्कन गरेर शान्ति प्रक्रियामा आइसकेपछि पनि मुख्य नेतृत्वमा रहेका क. प्रचण्डको पटकपटकको ढुलमुले र मौकापरस्त अडान र नीतिले गर्दा आन्दोलनमा सम्भावित थप उपलब्धि हासिल गर्न हामी चुक्यौँ ।

पहिलो- २०६४ श्रावणको काठमाडौँ बालाजु भेला÷बैठकमा क.प्रचण्डले प्रयोग गरेको र पार्टीभित्र जिब्रोमा गडेको मुखमा संविधानसभाको निर्वाचन, मनमा सशस्त्र विद्रोहको दोधारे कुराले पार्टीमा तलसम्म गहिरो विभाजन ल्यायो । जनसमुदायमा समेत भ्रम छर्‍यो र पार्टीलाई पछिसम्म अपूरणीय क्षति पुर्‍यायो ।

दोस्रो- २०६७ मङ्सिरमा गोरखा पालुङटारमा भएको विस्तारित बैठकमा बाबुराम पक्षको संविधान बनाउने, किरण पक्षको विद्रोहको तयारी गर्ने र प्रचण्ड पक्षको पर्ख र हेर भन्ने अढाई-लाइनको सङ्घर्षमा पार्टीले कुनै निर्णय गर्न सकेन । त्यसको एक महिनापछि २०६७ पुसमा काठमाडौंमा भएको केन्द्रीय समितिको बैठकमा किरणसँग एकता प्रधान, बाबुरामसँग सङ्घर्ष प्रधान भन्ने क. प्रचण्डको अर्को चर्चित महावाणी आयो । केही महिनापछि ( सायद २०६८ वैशाख ?) सिन्धुपाल्चोकको सुकुटेमा भएको बैठकमा क. प्रचण्ड संविधान निर्माण गरेर अघि बढ्ने बाबुरामको लाइनमा आएपछि बल्ल संविधान निर्माणले बाटो समात्यो । त्यति बेलासम्म परिस्थिति निकै प्रतिकूल बन्दै गइसकेको थियो ।

तेस्रो- २०६९ जेठ २ गते मेरो प्रधानमन्त्रीत्वकालमा कांग्रेस, एमालेसहितको सहभागितामा संविधानका बाँकी सबै प्रमुख असहमतिका बुँदामा सहमति कायम भएको थियो । जस्तैः फ्रान्सेली मोडेलको प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र संसद्बाट अनुमोदित प्रम, पहिचानसहितको ११ प्रदेशको सङ्घीयता, संवैधानिक अदालत आदि, तर त्यसमा आफ्नै पार्टीभित्रबाट समेत विरोध भएर अन्ततः भाँडिनु ठूलो गल्तीमात्र नभएर अपराधै भयो ।
यदि त्यो सहमति कायम भएको भए पहिलो संविधानसभाबाट २०६९ जेठ १४ गते संविधान जारी हुन्थ्यो र माओवादी आन्दोलनको उपलब्धि नेपाली इतिहासमा युगौँयुगसम्म स्थापित हुन्थ्यो ।

कसरी स्खलित भयो ?

पूरै क्रान्ति र आन्दोलन स्खलित भएको हैन । समाज विकासको नियमअनुसार क्रान्तिको एउटा चरण आफ्नै मौलिकतासहित पूरा भएर नयाँ चरणमा प्रवेश गरेको हो । नेपालमा आफ्नै मौलिकतासहित माओवादी भाष्यमा भन्दा पुँजीवादी जनवादी क्रान्तिको चरण पूरा भएर नयाँ ढङ्गको समाजवादी रूपान्तरणको चरणमा प्रवेश गरेको हो । यसलाई बुझ्ने र लागू गर्ने विषयमा मूल नेतृत्व पंक्तिमा बुझाइको समस्या र सांस्कृतिक रूपमा भयङ्कर स्खलन र विचलन आजको मुख्य समस्या हो ।

त्यो स्खलन आज अकस्मात् पलाएको नभई जनयुद्धकालदेखि नै उम्रेको विषवृक्षको विस्तारित रूप हो । खासगरी अति केन्द्रीकृत ढाँचामा बनेको पार्टीको मूल नेतृत्व वरिपरि स्वार्थ समूह हुर्कनु र पछिल्लो सत्तादेखि सत्तासम्मको संसदीय खेलमा त्यो झन् जब्बर बन्दै जानु मुख्य चुनौती हो ।

त्यसैले सबै चिजको आयु भए झैँ माओवादी आन्दोलनले पनि आफ्नो एउटा चरणको कार्यभार पूरा गरिसकेको सन्दर्भमा अर्को ऐतिहासिक चरणमा समग्र आन्दोलनको नै वैचारिक, राजनीतिक, सांस्कृतिक, साङ्गठनिक ढङ्गले रूपान्तरण गरेर अघि बढ्नुपर्छ भन्ने हाम्रो आग्रह हो ।

माओवादी आन्दोलन पुनर्गठनबारे

एक्काइसौँ शताब्दी सँगसँगै चौथो औद्योगिक क्रान्तिको चरणमा प्रवेश गरेको विश्वका नयाँ अर्थ-राजनीतिक अन्तर्विरोधहरू र भर्खरै किनारा पुँजीवादको चरणमा प्रवेश गरेको र भूमण्डलीकृत पुँजीवादको साङ्लोमा बाँधिँदै गएको नेपालका समस्याहरू हल गर्न हिजोको ‘माओवाद’को वैचारिक-राजनीतिक घेराभित्र मात्र सीमित भएर हुँदैन । पछिल्लो ज्ञान विज्ञानले समृद्ध नयाँ विचार, दर्शन, राजनीतिको पुनर्संश्लेषण जरुरी छ ।

त्यस निम्ति माओवादी र अन्य कम्युनिष्ट धारका नेता कार्यकर्ताहरूले सृजनशील ढङ्गले सोच्न र पहल लिन जरुरी छ । विगतका कम्युनिष्ट सत्ताहरू किन ढले ? संसदीय कम्युनिज्म किन लोप हुँदै गइरहेछ ? तिनको वस्तुनिष्ठ ढङ्गले सोधखोज गरेर देश काल सापेक्ष नयाँ वैकल्पिक राजनीतिको संश्लेषण गर्नु आजको आवश्यकता हो । केही समयदेखि हामीले पैरवी गर्दै आएको नयाँ शक्ति अभियानको औचित्य र मर्म त्यही हो ।

ख्याल रहोस्, पहिल्यै बनिबनाउ नेताहरू जम्मा भएर विचार र आन्दोलन बन्ने हैन । प्रारम्भिक विचारले अभियान/आन्दोलन गरेर त्यो आन्दोलनले सक्षम नेता निर्माण गर्ने र नेताले थप सशक्त आन्दोलन र विकसित विचार संश्लेषण गर्दै यो चक्र दोहोर्‍याउँदै जाने नै क्रान्ति/परिवर्तनको आधारभूत नियम हो ।

(कभर तस्बिर : getty image)

Comments

One response to “प्रचण्ड र बादलसँगको फोटो राख्दै बाबुराम- माओवादी आन्दोलनसँग जोडिएका एक हुनसके सब ठीक हुन्छ”

  1. लेख नाथ Avatar
    लेख नाथ

    यो फोटोको अर्थ त कसको घडी महङ्गो हो भन्ने देखिन्छ । अब घडी देखाएर जनता नझुक्किएलान कि डा साप ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *