काठमाडौं । गत वर्ष ‘दान्भी’ निर्देशन गरेका रुपेश तामाङले नयाँ चलचित्र ‘एक्का तीनःच्याप्टर एक’को घोषणा गरेका छन्।
यो चलचित्र सन् २०२६ मा प्रदर्शन गरिनेछ । चलचित्रको मुख्य भूमिकामा अभिनेत्री पूजा शर्मा रहने पक्का भइसकेको छ ।
‘एक्का तीन’मा जोडिएसँगै पूजाको ११ महिना लामो चलचित्रविहीन यात्रामा ब्रेक लागेको छ । गत वर्ष भदौमा प्रदर्शन भएको ‘रावायण’ फ्लप भएपछि उनी कामविहीन बन्न पुगेकी थिइन् । कामविहीन बनेसँगै चलचित्र नगरीमा उनको चर्चा समेत सेलाएको थियो । तर, ‘एक्का तीन’ को घोषणा भएसँगै पूजालाई राहत मिलेको छ ।
यो बीचमा उनी ‘हली’ नामक चलचित्रको प्रमोसनल गीतमा देखिनु नै उनको सबैभन्दा ठूलो उपलब्धि रह्यो । गत असार ७ मा प्रदर्शन भएको ‘दान्भी’ र ‘रावायण’ फ्लप भएपछि पूजाको करियरमा कालो बादल मडारिएको थियो । झनै ‘रावायण’मा निर्मात्री समेत रहेकी रहेकी उनलाई आर्थिक रुपमा पनि ठूलै धक्का लागेको बताइन्छ ।
यो बीचमा अभिनेत्री रेखा थापाले निर्माण गर्ने भनेको नयाँ चलचित्र ‘छत्तिस आँकडा’ मा पूजा अनुवन्धित भएकी थिइन् । तर, यो चलचित्रको निर्माण अहिले रेखाले स्थगन गरेकी छन् । ‘छत्तिस आँकडा’ लाई रोकेर उनले केही समयअघि मात्रै ‘काली’ चलचित्रको सिक्वेल घोषणा गरिन् । असार ७ गतेसम्म नाटक ‘मीरा’ मा अभिनय गरेपछि उनले नयाँ प्रोजेक्टको रुपमा ‘काली’ चलचित्रको सिक्वेलको घोषणा गरेकी हुन् ।
यद्यपि रेखाको ‘काली’को सिक्वेल पनि पछाडि धकेलिने सम्भावना धेरै देखिन्छ । किनभने भर्खरै रेखा ‘भाइटीका’ नामक चलचित्रमा अनुबन्ध भएकी छन् । उनको अपोजिटमा विपिन कार्की फिचर्ड छन् । रेखाले ‘छत्तिस आँकडा’लाई पछाडि धकेलेपछि पूजालाई कमब्याक गरेर दुई चलचित्रले दिएको असफलताको घाउ पुर्न समय लाग्ने देखिएको थियो। यहीकारण पनि पूजाका लागि ‘एक्का तीन’ विशेष देखिन्छ ।
चलचित्रले दर्शकको मन कत्तिको जित्न सक्छ, त्यो भने हलमै प्रदर्शन भएपछि मात्रै थाहा हुनेछ । अहिलेलाई भने नयाँ चलचित्रको घोषणाले उनलाई ठूलै राहत भएको देखिन्छ ।
चलचित्रबाहेक पूजा व्यवसायमा पनि संलग्न छिन् । उनले झम्सिखेलमा प्रेमी युद्ध बानियाँसँग मिलेर ‘ट्याग’ नामक रेस्टुरेन्ट सञ्चालन गरिरहेकी छन् । निकै तडकभडकसहित खोलिएको यो रेस्टुरेन्टको आजकाल उति चर्चा सुनिँदैन । ‘प्रेमगीत’बाट दर्शकको मन जितेकी पूजाका फ्यानहरुलाई ‘एक्का तीन’ को घोषणाले उत्साहित बनाउने देखिन्छ ।

Leave a Reply