काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा अनियमितताको आरोपबारे छानबिन गर्न खेलकुद मन्त्रालयले बनाएको कार्यदलले प्रतिवेदन बुझाएको छ । कार्यदलकी अध्यक्ष रञ्जना प्रधानले खेलकुदमन्त्री तेजुलाल चौधरीलाई आज प्रतिवेदन बुझाएकी हुन् ।
एनपीएलको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि मन्त्रालयले छानबिनका लागि कार्यदल बनाएको थियो । कार्यदललाई सुरुमा १५ दिनको म्याद दिइएको थियो । तर, त्यस अवधिमा कार्यदलले काम नसकेपछि फेरि १५ दिन थपियो । थपिएको म्याद सकिएको छ ।
म्याद सकिने अन्तिम दिन कार्यदलले प्रतिवेदन बुझाएको हो । प्रतिवेदनमा ९ वटा फायलहरू संलग्न रहेको बुझिएको छ । कार्यदलले नेपाल क्रिकेट संघ (क्यान) लाई गत आइतबार पत्र पठाएर जवाफ मागेको थियो ।
अख्तियारको छानबिन नसकिँदासम्म एनपीएलका काम कारवाहीहरू सबै रोक्न पत्रमा भनिएको छ । कार्यदलले क्षेत्राधिकार नाघेर यस्तो निर्देशन दिएको भन्दै विवाद उब्जिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले नै सार्वजनिक कार्यक्रममा एनपीएल नेपालको गौरव हो भन्दै दोस्रो संस्करणको भव्य तयारी थाल्न भनेका छन् ।
स्रोतका अनुसार आज बुझाइएको प्रतिवेदनमा कार्यदल संयोजक प्रधान र एक सदस्यले हस्ताक्षर गरेका छन् भने अर्का एक सदस्यले हस्ताक्षर गर्न बाँकी रहेको छ । प्रतिवेदन बुझाउने क्रममा संयोजक प्रधानले यसअघि क्यानलाई लेखिएको पत्रमा अनावश्यक व्यहोरा लेखेर आफूलाई हस्ताक्षर गर्न वाध्य पारिएकोप्रति असन्तुष्टि पोखेकी थिइन् ।
नेपाल प्रेससँग कुरा गर्दै कार्यदल संयोजक प्रधानले आफूहरुले आज खेलकुद मन्त्रीलाई प्रतिवेदन बुझाएको बताइन् । उनले प्रतिवेदनको निस्कर्षबारे केही पनि बताउन चाहिनन् । आफूले कार्यदलबाट राजीनामा दिएको भनेर चलेका हल्लाहरु सत्य नभएको उनको भनाइ छ ।

Leave a Reply