अमेरिका छाडेर रुकुमपूर्व पुगेका युवा डाक्टर खराल- म गाउँमै केही गरेर देखाउन चाहन्छु

रूपन्देही । अमेरिका जाने धेरै नेपालीको सपना हुन्छ । अमेरिका पुगेपछि स्वदेश फर्कने कमैको चाहना हुन्छ । त्यसमाथि अमेरिकामा अवसर पाएकाहरू सितिमिति फर्किहाल्न तयार नै हुँदैनन्, तर, रूपन्देहीको तिलोत्तमा नगरपालिका- १ नयाँमिलका ३० वर्षीय चिकित्सक डा. कृष्ण खराल स्वदेश फर्किएका छन् ।

अमेरिका बस्ने सजिलो बाटो हुँदाहुँदै उनी स्वदेश फर्किएर दुर्गम हिमाली जिल्ला रुकुमपूर्वको जिल्ला अस्पतालमा सेवारत छन् । सदरमुकामस्थित अस्पतालमा सेवा भए पनि उनी दुर्गम गाउँमा पुगेका छन्, त्यहाँ स्वास्थ्य सेवा दिइरहेका छन् ।

किन अमेरिका रोज्नुभएन भन्ने प्रश्नमा उनी विनम्र जवाफ दिन्छन्, ‘देशको मायाले, आफ्नै भूमिमा केही गर्ने उद्देश्यले फर्किएको हुँ ।’

उनका अनुसार अमेरिका पुग्न अवैध बाटो समाउने रुकुमपूर्वका स्थानीयले पनि यही प्रश्न पटकपटक सोध्ने गरेका छन् । सबैलाई उनले यही जवाफ दिँदै आएका छन् । अधिकांश नेपाली युवाले अमेरिका, अस्ट्रेलिया, क्यानडा र युरोप रोजिरहेका बेला अमेरिका पुगिसकेका एक युवा चिकित्सक त्यहाँको चम्किलो भविष्य त्यागेर रुकुमपूर्वको दुर्गम गाउँ रोजेकोमा धेरै अचम्भित छन् ।

‘धेरै यो निर्णय गल्ती भयो भनेको अवस्था छ, तर मैले गल्ती होइन, सही निर्णय लिएको हो । यो मेरो देश हो । यहाँका जनताले पनि सेवा पाउनुपर्छ भन्ने भावना बोकेर आएको हुँ’, उनले सुनाए ।

डा. खरालका बुवा भागिरथ र आमा शोभा सामान्य पेशा गर्दै तिलोत्तमामै बसोबास गर्छन् । उनका जेठा दाजु नवीन सडक विभाग बुटवलको इन्जिनियर र माइला दाजु लक्ष्मण बुटवल उपमहानगरमा इन्जिनियर छन् ।

उनले स्नातकसम्मको सम्पूर्ण अध्ययन पूर्ण छात्रवृत्तिमा गरेका थिए । २०६५ सालको एसएलसी परीक्षामा आफू नेपाल तेस्रो भएको उनी बताए ।

रूपन्देहीकै प्यारामाउन्ट माविबाट एसएलसी गरेका उनले काठमाडौंको पेन्टागन कलेजमा विज्ञान विषय लिएर पढे । त्यसपछि नेपाल सरकारको छात्रवृत्तिमा पोखरास्थित मणिपाल कलेज अफ मेडिकल साइन्सेसमा चिकित्साशास्त्र अध्ययन गरे ।

पढाइमा अब्बल उनी पढ्दापढ्दै चिकित्सा शिक्षा सुधार आन्दोलन, विभिन्न स्वास्थ्य शिविर, ग्रामीण सेवामा चिकित्सक शिक्षकको भूमिकामा खटिए । कोभिड महामारीका बेला उनी गोरखा जिल्लाको दुर्गम गाउँमा स्वयंसेवी चिकित्सकका रूपमा गए । पहिलो लहरमा त्यहाँ रहे, दोस्रो लहरमा उनी रूपन्देहीको फर्साटिकर गाउँमा महामारी नियन्त्रण अभियानमा जुटे । त्यो बेला थुप्रै निजी अस्पताल बन्द थिए, धेरै चिकित्सक काम गर्न डराइरहेका थिए, तर डा. खरालले जोखिम मोलेर गाउँ-टोलमा पुगेर सेवा गरे ।

कोभिडपछि डा. खराल अमेरिका लागे । त्यहाँ उनले क्लिनिकल एक्सपोजर, अवलोकन, अनुभव र विश्वस्तरीय स्वास्थ्य प्रणाली अध्ययन गरे । उनलाई मेडिकल परीक्षा दिएर अमेरिकामै जागिर खान सजिलो थियो, तर उनी त्यहा बसेनन् ।

‘विदेशमा बस्न सजिलो छ, तर त्यहाँ म नेपाली जनतालाई सेवा गर्न सक्दिनँ । देश हामीले बनाउनुपर्छ । यहाँका जनताले पनि राम्रो स्वास्थ्य सेवा पाउनुपर्छ’, डा. खराल भन्छन् ।

अमेरिकाबाट फर्किएपछि उनले लोकसेवा आयोगको परीक्षा दिए । कर्णाली प्रदेश लोकसेवामा नाम निकाले पनि । संघीय लोकसेवा आयोगमा पनि उत्कृष्ट अंक ल्याएर उत्तीर्ण भए । लुम्बिनी प्रदेशको हिमाली जिल्ला रुकुमपूर्व छनोट गरेर जिल्ला अस्पताल पोस्टिङ भए । अहिले उनी जिल्ला अस्पताल रुकुमपूर्वको निमित्त मेडिकल सुपरिटेन्डेन्ट (मेसु) छन् ।

अस्पताल छ, विशेषज्ञ छैनन्

रुकुमपूर्व दुर्गम हिमाली जिल्लामध्ये एक हो । जिल्ला अस्पतालमा ७० जनाको दरबन्दी भए पनि २५ प्रतिशतभन्दा बढी स्वास्थ्यकर्मी टिक्दैनन् । यहाँ एक जनामात्र विशेषज्ञ चिकित्सक छन् ।

उनले भने, ‘यहाँ बस्न कसैले मान्दैन । साधन, स्रोत, जनशक्ति सबै अभाव छ, तर म यिनै अभावका बीच आशा देख्न चाहन्छु । स्वास्थ्य सुधारको थालनी दुर्गमबाटै हुनुपर्छ ।’

उनको नेतृत्वमा रुकुमपूर्वमा अपरेसन, एमर्जेन्सी, सुरक्षित मातृत्व, बाल स्वास्थ्य कार्यक्रम र दैनिक ओपीडी सुधार अभियान सञ्चालनमा छ । उनी भन्छन्, ‘हामीसँग सबै कुरा छैन, तर जहाँ जे छ, त्यसैबाट सुरु गर्नुपर्छ । म यहीबाट उदाहरण देखाउन चाहन्छु, हामीले चाहे सबै कुरा सम्भव छ ।’

स्वास्थ्य नीतिमा सुधार ल्याउनु, ग्रामीण जनतालाई ‘कम्तीमा न्यूनतम सेवा सुनिश्चित’ गराउनु र जिल्लामा सेवा पुग्ने ढोका खोल्नु आफ्नो लक्ष्य भएको डा. खराल बताउँछन् ।

उनी भन्छन्, ‘अहिलेको पुस्ताले देश बनाउँछ भने त्यो बनाउने ठाउँ गाउँ हो, अस्पताल हो, स्कूल हो, सहर होइन । म गाउँमै केही गरेर उदाहरण देखाउन चाहन्छु ।’

आफू रुकुमपूर्व आएको धेरै नभए पनि केही सुधारका काम थालेको उनको भनाइ छ । ‘२ वर्ष बसेर केही नयाँपन दिने हो, म आएपछि अप्रेसन यही सुरु भएको छ, अक्सिजन प्लान्ट बन्द थियो, त्यो अघि बढ्यो’, डा. खराल भन्छन्, ‘भवन निर्माण अलपत्र थियो, अहिले कामको गति बढेको छ । नयाँ एम्बुलेन्सको व्यवस्थापन भयो । ब्लड बैंक छैन, त्यसको पहल भएको छ ।’

खासगरी डाक्टर नै नबस्ने अवस्था भएको र त्यसको वातावरण बनाउन आफू लागिपरेको उनको भनाइ छ । डा. खरालका अनुसार लामो समय युद्ध भएको क्षेत्र भएकाले यहाँ धेरै मानसिक बिरामी भेटिएका छन् ।

‘गाउँगाउँमा मानसिक बिरामी धेरै भेटिएका छन्, मैले नै धेरै ठाउँमा शिविर चलाएर मनोरोग विशेषज्ञमार्फत उपचार थालिएको छ’, उनले भने, ‘यसले नागरिकमा अपनत्वको भावना बढेको छ । उनीहरूले आफ्ना समस्या खुलेर बताउन थालेका छन् ।’

रुकुमपूर्वबाट रिफर गरेर दाङका अस्पताल पुग्न ११ घन्टा लाग्छ । त्यही भएकाले जटिल विषयबाहेकका उपचार गराउने व्यवस्था रुकुमपूर्वमै गर्नुपर्छ भनेर आफू लागिपरेको उनको भनाइ छ ।

‘प्रदेश र संघका स्वास्थ्य मन्त्रालयमा यी विषय उठाइरहेको छु । म आएपछि विस्तारै सम्बोधन भएको ठानेको छु’, डा. खराल भन्छन्, ‘जिल्ला अस्पतालमा अहिलेसम्म पूर्ण रूपमा मेसु बसेका छैनन् । अस्पतालमा मात्रै होइन, सबै कार्यालयमा कर्मचारी नै छैनन् । स्थानीयका समस्या निकै रहेछन् । एक ठाउँबाट अर्को ठाउँमा पुग्नै समस्या, आजमात्रै म मैकोटमा शिविर चलाएर आएको हुँ ।’

Comments

3 responses to “अमेरिका छाडेर रुकुमपूर्व पुगेका युवा डाक्टर खराल- म गाउँमै केही गरेर देखाउन चाहन्छु”

  1. दलु Avatar
    दलु

    प्रिय खराल डाक्टर साहेवलाई हजार स्नेह,लाख शुभकामना र कराेड बधाई छ । गाउँमा रहेर ,गाउँलेकाे सेवामा तल्लीन हुनुुस् । शुभेच्छा छ । तपाईजस्तै प्राविधिक युवाले हाे ,देश बनाउने । राेगीकाे सेवा गर्दागर्दै देशकाे नाम राख्नुस् ।

  2. manaia thompson Avatar
    manaia thompson

    नेपाल लाई ट्रम्प ले दिएको अर्को उपहार|जसले गर्दा एसता खबरहरु पढ्न र सुन्न पाईने भयो| यस्तै अर्का मान्छे कर्णालीको कुन्नि कसको planning officer भएर ठूला ठूला कुरा गरेको समाचार हाल्सालै पढ्न पाइएको थियो, अब यो खबर पढ़ियो|अन्धा,बहिरा र निमुखा [अ ब नि] नेपालीहरु भएकाले नै नेपाल आज यो अवस्थामा छ – चेतना भया:

  3. लेख नाथ पौडेल Avatar
    लेख नाथ पौडेल

    सच्चा नेपालीपन, “जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी”, को चरितार्थ चित्रण गर्नुभएकोमा डाक्टर साहेवलाई सबै नेपालीको तर्फबाट हार्दिक सुभकामना। 🙏🙏🙏

Leave a Reply

Your email address will not be published. Required fields are marked *