यूएईका लागि नेपाली श्रमिकको न्यूनतम तलब १३ वर्षपछि बढ्यो, कसको कति पुग्यो ?

काठमाडौं । नेपालको एउटा प्रमुख श्रम गन्तव्यका रूपमा रहेको संयुक्त अरब इमिरेट्स (यूएई) मा जाने नेपाली श्रमिकको न्यूनतम तलब नेपाल सरकारले १३ वर्षपछि बढाएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार ऐन, २०६४ को दफा २३ ले दिएको अधिकार प्रयोग गर्दै मन्त्रिस्तरीय निर्णयबाट १३ वर्षपछि बढाएको हो ।

मन्त्रालयका अनुसार अदक्ष कामदारका लागि यस अघि रहेको मासिक न्यूनतम ८०० दिरामलाई १ हजार वा त्यस भन्दा बढी दिराम पुर्याएको छ। यस्तै मासिक खाना खर्च ४ सय वा त्यस भन्दा माथी गरेर जम्मा १ हजार ४०० दिराम वा त्यस भन्दा माथी रहने निर्णय भएको छ । अर्धदक्ष कामदारका हकमा मासिक न्यूनतम पारिश्रमिक तलब १ हजार २०० वा त्यस भन्दा बढी दिराम तोकिएको छ । यस्तै मासिक खाना ४ सय वा त्यस भन्दा माथी गरेर जम्मा मासिक १ हजार ६०० दिराम भन्दा माथी जम्मा मासिक तोकिएको छ ।

यस्तै दक्ष कामदारको हकमा मासिक न्यूनतम १ हजार ५०० दिराम वा त्यस भन्दा माथि र्पुयाउने निर्णय भएको छ । यस्तै मासिक खाना खर्च चार सय वा त्यस भन्दा माथी गरेर जम्मा मासिक १ हजार ९०० वा त्यस भन्दा माथी रहने निर्णय गरिएको छ । उच्च दक्ष कामदारको हकमा मासिक न्यूनतम पारिश्रमिक ६ हजार वा त्यस भन्दा माथि तोकिएको छ । यस्तै मासिक खाना खर्च ४ सय वा त्यस भन्दा माथी गरेर जम्मा मासिक ६ हजार ४०० वा त्यस भन्दा माथि तोकिएको छ ।

यूएई नेपाली कामदारका लागि एउटा प्रमुख श्रम गन्तव्य मुलुकमा रुपमा रहेको छ । त्यहाँ नेपालीको संख्या ६ लाख भन्दा बढी रहेको वैदेशिक रोजगार विभागले जनाएको छ । घरेलु कामदारमा जाने महिलाले खाडी मुलुकमा यौन शोषण तथा अन्य दुव्र्यवहार भोगेको घटना बढ्न थालेको भन्दै २०७३ सालमा संसदीय समितिले त्यसरी खाडी मुलुक र मलेशियामा काम गर्न जान प्रतिबन्ध लगाएपछि त्यस क्षेत्रमा श्रमिक जान रोकिएका छन् । यद्यपि पछिल्लो समय नेपाल र युएईविचमा नयाँ श्रम सम्झौता गरेर घरेलु महिला श्रमिकका लागि समेत बाटो खोल्ने तयारी छ ।

सामान्यतः अदक्ष वा अर्धदक्ष वर्गका मानिने घरेलु श्रमिकका लागि न्यूनतम पारिश्रमिक मासिक झण्डै ४०० अमेरिकी डलर अर्थात करिब ५४ हजार रुपैयाँ हुनुपर्ने भनी नेपालले अघि सारेको प्रस्तावमा भने सहमति हुन सकेको थिएन ।

अहिले बढाइएको न्यूनतम पारिश्रमिकले नेपाली श्रमिकलाई कम्तीमा खाना खर्च पुग्ने वा थोरै थप बचत हुने अवस्था आउने श्रम मन्त्रालयको दाबी छ । पुरानो तलब सम्बन्धी व्यवस्था अनुसार नै रोजगारदाताले आवास, स्वास्थ्योपचार, दुर्घटना र यातायात खर्च बेहोर्नुपर्नेछ ।

युएईले खुला श्रम बजारको नीति अन्तर्गत स्वयं न्यूनतम तलबमान तोक्ने गरेको छैन । १३ वर्षअघि पनि युएईमा उच्च दक्ष श्रमिकको न्यूनतम तलब ५ हजार दिराम मात्रै थियो । तर धेरैजसो नेपाली अदक्ष र अर्धदक्ष श्रमिकका रूपमा जाने गरेकाले अहिले बढाइएको न्यूनतम तलबको व्यवस्थाको लाभ नेपालीले लिने सम्भावना कम छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *