काठमाडौं । नेपाल र चीनको सीमा भएर बग्ने भोटेकोशीमा आएको बाढीको क्षतिको समाचार नेपाली मिडियाहरुमा आइरहेका छन् । समाचारले भारतीय तथा चिनियाँ मिडियाहरुमा पनि स्थान पाएका छन् ।
चीनको अखबार पिपल्स डेलीले नेपालको उत्तरी भेगमा आएको बाढीमा १८ जना हराइरहेको र त्यसमा ६ जना चिनियाँहरु भएको बताएको छ । बाढीको कारण नेपालको उत्तरी भेगमा पानी पर्नु बताइएको छ । समाचारमा नेपालस्थित चिनियाँ राजदूतावासलाई साभार गरिएको छ ।
यस्तै चीनको ग्लोबल टाइम्सले पनि समाचार बनाउँदै नेपालमा रहेको चिनियाँ परियोजनामा काम गर्ने चिनियाँहरु बाढीमा बेपत्ता भएको उल्लेख गरेको छ । ग्लोबल टाइम्सले पनि चिनियाँ दूतावासलाई साभार गरेर समाचार बनाएको छ ।
यस्तै भारतीय मिडियाहरुमा पनि बाढीको समाचार प्राथामिकताका साथ आएको छ । भारतको अखबार हिन्दुस्तान टाइम्सले राजधानी काठमाडौँ भन्दा १२० किलोमिटिर उत्तरपूर्वको नेपाल चीन जोड्ने मितेरी पुल बगाएको बताएको छ । मंगलबार बिहान ३ः१५ मा बाढी आएर बितण्डा मच्चाएको समाचार उल्लेख गरिएको छ । भारतको टाइम्स अफ इण्डियाले नेपाल र चीनको हिमाली उपत्याकामा आएको बाढी भन्दै क्षतिका आँकडाहरु प्रस्तुत गरेको छ ।
बेलायती समाचार एजेन्सी रोयटसर्एमा आएको समाचारले बाढीमा नेपालमा २० र चीनतर्फ ११ जना हराइरहेको उल्लेख गरेको छ । तिब्बतमा भएको हिमताल क्षेत्र भरिएर वा फुटेर बाढी आएको अनुमान गरिएको रोयटर्सले उल्लेख गरेको छ ।
अमेरिकी अखबार न्यू योर्क टाइम्सले पनि बाढीको समाचारलाई प्राथामिकता दिएर प्रकाशन गरेको छ । समाचारमा १८ जनाको खोजी भइरहेको र ५५ जनाको हेलिकप्टरबाट उद्धार गरिएको बताइएको छ ।

Leave a Reply