काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारीसँग माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले भेट गरेको चर्चा अहिले मिडियामा छ, तर पछिल्लो समय उनीहरू २ जनामात्र होइन अरु पनि धेरै राजनीतिक व्यक्तिहरूले भण्डारीसँग भेट गरिरहेका छन् ।
चपलीस्थित विद्या भण्डारी निवास यति बेला राजनीतिको नयाँ केन्द्रको रूपमा स्थापित हुँदै गएको छ । पूर्वराष्ट्रपतिको सेवा सुविधा त्यागेर एमालेको सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेसँगै भण्डारीको सक्रियता बढेको हो ।
चपलीस्थित भण्डारी निवासमा सर्वपक्षीय चहलपहल बढेको छ । उनी अहिले एमालेका नेतासँग मात्रै होइन, एमाले बाहिरका नेताहरूसँग पनि भेटवार्तामा केन्द्रित छिन् । भण्डारीको सक्रियता बढेसँग एमालेमा पनि ध्रुवीकरणको क्रम चलेको छ ।
११औँ महाधिवेशनबाट पुनः अध्यक्षमा दोहोरिने तयारीमा रहेका प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिनेगरी विद्या भण्डारीको पुनरागमन भएको ठम्याइ धेरैको छ ।
उनी निकट नेताहरूले ‘मदनको नीति, विद्याको नेतृत्व’ भन्दै अहिलेदेखि नै प्रचार गर्न थालिसकेका छन् । भलै पार्टीमा अन्तर्विरोध ल्याउने गरी यस्ता प्रचार नगर्न महासचिव शङ्कर पोखरेलले पार्टी पंक्तिमा निर्देशन दिइसकेका छन्, तर अध्यक्ष ओलीले भण्डारीको सक्रियता र नेतृत्वको बहसबारे औपचारिक रूपमा मुख खोलेका छैनन् ।
बन्दैछ नयाँ राजनीतिक केन्द्र
भण्डारीले पछिल्ला केही दिनयता एमाले बाहिरका नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, कांग्रेस महामन्त्री गगन थापा, माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलगायतसँग आफ्नै निवासमा छलफल गरेको बताइन्छ ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले स्वास्थ्य अवस्था, चीनसँगको सम्बन्ध, पार्टी एकतादेखि नेकपा एसभित्रको सकसलगायतको विषयमा तीनचार पटक भेटेर कुराकानी गरिसकेका छन् । खनाल नेकपा एसमा वाम एकता गर्दा एमालेसँग मिलेर जानुपर्छ भन्ने मत राख्नेमध्ये पर्छन् ।
खनालमात्रै होइन, माओवादीमा भण्डारीलाई भेटेका वरिष्ठ उपाध्यक्ष श्रेष्ठ पनि एमालेप्रति नरम नै मानिन्छन् । उनीसँग पछिल्लो राजनीतिक अवस्था, एमालेमा विद्याको सम्भावित नेतृत्वदेखि वाम एकताको पुनः प्रयास गर्नेसम्मको चर्चा छ ।
भण्डारीले भेटेका खनाल र श्रेष्ठको पनि चीनसँग राम्रो सम्बन्ध छ । भण्डारीलाई भेटेपछि खनाल चीन भ्रमणमा निस्किएका छन् भने श्रेष्ठ अमेरिकातर्फ लागेका छन् ।
चीनले पनि नेपालका कम्युनिष्टहरू एक भएको हेर्न चाहेको कुरा लुकेको छैन । भण्डारी गत महिनामात्रै एमालेका नेताहरूको नेतृत्वसँगै चीन भ्रमणमा गएर आएकी थिइन् । श्रेष्ठ पनि चीन भ्रमणबाट केही समयअघि फर्किएका थिए ।
भण्डारीलाई चीन सरकारले विदेशी सरकार प्रमुखसरहको सम्मान दिएपछि उनैको नेतृत्वमा फेरि कम्युनिष्ट एकताको चर्चा चल्न थालेको छ । एमालेभित्र देखिएको चलखेलले फेरि नेपालमा कम्युनिष्ट एकता हुनसक्ने भन्दै कांग्रेस बैठकमा समेत कुरा उठेको छ ।
भण्डारीसँग कांग्रेसका महामन्त्री गगन थापाले समेत समसामयिक राजनीति र क्षेत्र नम्बर ४ को विकासका बारेमा छलफल गरेको बताइएको छ । विद्या पनि सोही क्षेत्रकी पूर्वसांसद हुन् ।
त्यस्तै काठमाडौं महानगरका मेयर बालेनले पनि महानगरपालिकाको अवस्था, बजेट प्रकरणदेखि प्रधानमन्त्रीसँग सहजीकरण गर्नेबारेसम्म पूर्वराष्ट्रपतिसँग छलफल भएको बताइन्छ । विगतमा शीतल निवासमा गएर उनले मेयर नहुँदै पानीको बारेमा विज्ञका हिसाबले सुझाव दिएका थिए ।
बालेन काठमाडौंको मेयरको उम्मेदवार भएका बेला राष्ट्रपतिको जलस्रोत सल्लाहकारको रूपमा उनको चर्चा भएपछि शीतल निवासले निर्वाचन आयोगमा पत्रसमेत पठाएको थियो । खासमा उनी तत्कालीन राष्ट्रपति भण्डारीलाई सुझाव दिन जलस्रोतविद् दीपक ज्ञवालीसँगै शीतल निवास गएका थिए ।
हेर्नुस् त्यसबेलाको समाचार र बालेनको स्टाटस : बालेन राष्ट्रपतिका जलस्रोत सल्लाहकार हुन् ? शीतलनिवासले गरायो निर्वाचन आयोगमा ध्यानाकर्षण
पूर्वराष्ट्रपति भण्डारीले काठमाडौं महानगरपालिकामा बजेट नआएकोमा चासो राख्दै सबैलाई समेटेर अघि बढ्न मेयरलाई सुझाव दिएको बताएको छ । उनले प्रशासकीय अधिकृतको सरुवा गरेर भने पनि महानगरको गतिरोध अन्त्य गर्न सरकारका मन्त्रीलाई समेत आग्रह गरेको स्रोतले जनाएको छ ।
भण्डारी निवासमा एमालेका नेता कार्यकर्ताको चहलपहल त पहिलेदेखि नै थियो, पछिल्लो समय यो बाक्लिएको छ । एमालेका नेता कार्यकर्ताको गुनासो सुन्ने र पार्टीमा मिलाउन भूमिका खेल्न आग्रह गर्नेसम्मको छलफल गरेकी छन् । पार्टी संस्थापनसँग असन्तुष्ट पक्षले अहिले भण्डारीलाई अघि सारेका छन् ।
‘उहाँलाई रोक्न मिल्दैन’
एमालेका उपाध्यक्ष युवराज ज्ञवाली पनि भण्डारीप्रति नरम नै सुनिन्छन् । उनी भन्छन्, ‘उहाँले पार्टीकै निर्णयमा म राष्ट्रपति भएँ, अझै मेरो उमेर बाँकी नै छ । म पार्टीमा फर्केर देशको सेवा गर्छु भन्ने उहाँको कुरा छ । त्यो कुरा उचित नै हो ।’
पार्टीमार्फत देशको सेवा गर्छु भनेपछि कसैले रोक्न नमिल्ने उनको तर्क छ ।
‘कानून, संविधान र पार्टीको विधानमा पनि त्यस्तो व्यवस्था छैन । उहाँको निर्णयलाई नकारात्मक रूपमा हेर्न हुँदैन । उहाँलाई अब कुन जिम्मेवारी दिने र कसरी अघि बढ्ने भन्ने पार्टीको छलफलको विषय हो, कुनै अन्तर्विरोध गर्न आवश्यक छैन’, उपाध्यक्ष ज्ञवालीले भने, ‘नेतृत्व पनि महाधिवेशनको हलबाट आउने हो, उहाँले मात्रै होइन, महाधिवेशनमा म नेतृत्वको दाबी गर्छु अरू कसैले भने पनि रोक्न मिल्दैन, भोट हाल्ने नहाल्ने त्यो महाधिवेशन प्रतिनिधिको कुरा हो ।’
भण्डारी एमालेको नेतृत्वमा आए पनि तत्कालै वामपन्थी एकता भइहाल्ने स्थिति नरहेको उनको बुझाइ छ ।
ज्ञवाली थप्छन्, ‘माओवादी केन्द्र, नेकपा एससहितको एकताको चर्चा छ, कसैले चाहँदैमा एकता भइहाल्ने र नचाहँदैमा नहुने भन्ने कुरा हुँदैन । वस्तुगत परिस्थिति पनि हेर्नुपर्छ । विगतमा पनि एकता भएको हो, टुट्यो । वामपन्थी एकता एउटा कुरा होला, तर पार्टी एकता विचार, सिद्धान्त र संगठन पनि मिल्नुपर्यो । अहिले चर्चा भए पनि त्यो कुरा सम्भव छैन भनिसक्नुभएको छ । त्यो परिस्थिति नै बनेको छैन । भविष्यमा विचार मिल्नेहरू मिलेर जानुपर्छ भन्नेमा छौँ ।’
भण्डारीसँग नारायणकाजीले भेट्नु स्वाभाविक
यता माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष श्रेष्ठ र भण्डारीबीचको भेटबारे जानकारी नै नभएको भन्दै पार्टीका प्रवक्ता अग्नि सापकोटाले सोमबार विज्ञप्ति निकालेका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टीको एमालेसँग एकता गर्ने नीति र सोच नरहेको स्पष्ट पार्दछौं । साथै समाचारमा भनिए जस्तो वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले एमालेसँगको एकताका लागि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटेको कुरा पार्टीमा कुनै जानकारी छैन ।’
एमालेबाहेकका अन्य कम्युनिष्ट पार्टी र समाजवादी मोर्चामा रहेका घटकहरूसँग एकताको बारेमा छलफल भइरहे पनि एमालेसँग एकताको चर्चा पनि नभएको उनको प्रष्टीकरण थियो ।
तर माओवादी केन्द्रका सचिव दिनानाथ शर्माले भने विद्या भण्डारी र नारायणकाजीको भेट हुनुलाई स्वाभाविक रूपमा लिनुपर्ने बताए ।
वामपन्थी एकताको प्रस्तावबारे उनले भने, ‘नेताहरूबीच भेट भएपछि विभिन्न चर्चा भइहाल्छ नै । हिजो उहाँ राष्ट्रपति भएको व्यक्तिसँग हाम्रो पार्टीको नेताले भेट्दा विभिन्न कोणबाट प्रतिक्रियाहरू आउँछन् । हामीले त पूर्वउपराष्ट्रपतिलाई जिम्मेवारी नै दिएर राजनीतिमा ल्याइसकेका छौँ । अहिले उहाँ राजनीतिमा आउने नै हो कि बाहिर हल्लामात्रै भएका हुन् कि भन्ने नै छ।’
दुई नेताबीच भेट हुँदा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने कुरालाई सामान्य रूपमा लिनुपर्ने उनको भनाइ छ ।
सचिव शर्माले थपे, ‘हामीले अहिले भर्खरै पार्टी एकता भनेका छैनौँ । एकता त भोलिको एउटा परिस्थितिले निर्धारण गर्ने कुरा हो । अहिले नै भन्ने छलफल र एजेन्डाको विषय भने होइन ।’
उनले भण्डारी एमालेको नेतृत्वमा आएपछि नेकपाकालको उदाहरण दिँदै वैचारिक, सैद्धान्तिक र राजनीतिक रूपले परिस्थिति परिपक्व नभएसम्म आजको भोलि कसैसँग एकता हुने प्रस्ट्याए ।
नेतृत्वमा आउन सम्भव, वाम एकता असम्भव
राजनीतिक विश्लेषक श्याम श्रेष्ठ भने राष्ट्रपति भइसकेको मान्छे राजनीतिमा नै नआउँदा राम्रो हुने मत राख्छन्, तर कसैले आउँछु भन्दा रोक्न पनि नमिल्ने उनको तर्क छ ।
उनी भन्छन्, ‘यो नयाँ पुस्तालाई राजनीतिमा आउनै नदिने खालको प्रवृत्ति हो । आफू नेतृत्वमा हुँदा पनि राम्रो काम नगर्ने, ७० वर्ष पुग्दा पनि नेतृत्व नछाड्ने भनेपछि नयाँ पुस्ता कहिले आउने त ? कोही आउन चाहन्छन् भने अस्वीकार गर्ने, आउन नदिने खालको गतिविधि भइरहेका छन् त्यो राम्रो कुरा होइन ।’
उनले एमालेभित्र उकुसमुकुस रहेको भन्दै भण्डारी आगामी महाधिवेशनबाट नेतृत्वमा आउनसक्ने बताए ।
‘उहाँ एउटा क्षमता भएको मान्छे नै हो । एमाले नेतृत्वमा आउन नसक्ने भन्ने हुँदैन, तर उहाँ आउँछु भनेको खण्डमा अस्वीकार गर्नुपर्ने, नेतृत्वमा आउन असम्भव छ भन्नुपर्ने कारण छैन’, विश्लेषक श्रेष्ठले थपे, ‘धेरै प्रतिभाशाली नभए पनि अनुभवको आधारमा पार्टी चलाउन सक्नुहोला । उहाँको चर्चा छ, त्यो पार्टीमा सल्लाह नभई हुने कुरा पनि होइन ।’
विद्या भण्डारी एमालेको नेतृत्वमा आए पनि माओवादी, नेकपा एससहितको वामपन्थी एकताको सम्भावना कम नै देख्छन् श्रेष्ठ ।
उनी थप्छन्, ‘नेपालका वामपन्थीहरूका बीचमा धेरै रोडाहरू बिछ्याइएको छ । त्यसैले तत्काल एकताको सम्भावना त देखिँदैन, तर राजनीतिमा असम्भव भन्ने कुरा पनि केही हुँदैन । हामीले असम्भव भनेका कुराहरू पनि सम्भव भएर आउँछन्, तर तत्काललाई हेर्दा सम्भव देखिँदैन ।’
एमालेमा आरोप-प्रत्यारोप
भण्डारीको सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेपछिको तरङ्ग एमालेमा अझै साम्य भएको छैन । उनको सक्रियता बढेपछि अहिले एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्थाबारे बहस चलिरहेको छ ।
भण्डारीलाई एमालेमा आउन रोक्ने प्रयास गरिरहेका महासचिव शंकर पोखरेलले ओली नै दोहोरिने दाबी गर्दै यी दुवै व्यवस्था पार्टीले हटाइसकेको दाबी गरेका छन् । पोखरेलको दाबीलाई स्थायी कमिटी सदस्य कर्ण थापाले दुवै व्यवस्था कायम रहेको भन्दै चुनौती दिएका छन् ।
शनिबार काठमाडौंमा एक कार्यक्रममा बोल्दै महासचिव शंकर पोखरेललाई चुनौती दिँदै नेता थापाले भने, ‘छलफल नै नगरी अर्कै विधान जालझेल गरी छापिएको छ । केही नेताहरूले सामाजिक सञ्जालमा आफ्नो पद दुरूपयोग गरेर पार्टी पङ्क्तिमा राष्ट्रिय महाधिवेशनबाट, कसैले विधान महाधिवेशनबाट परिवर्तन गर्यौँ भन्नुभएको छ । त्यो कहीँ छलफल भएको छैन ।’
उनले विद्या भण्डारी हिजो विशेष परिस्थितिमा राष्ट्रपति भएको भन्दै अहिले निष्कलङ्क, सहज र साझा व्यक्ति खोजी हुँदा सक्रिय हुनु स्वाभाविक भएको दाबी गरे । वामपन्थीहरूबीच एकता गर्न स्वीकार्य र सहज व्यक्ति पनि भण्डारी नै भएको नेता थापाले जिकिर गरे ।

Leave a Reply