अख्तियारको छानबिन नसकिएसम्म एनपीएलका कुनै पनि काम नगर्न क्यानलाई खेलकुद परिषदको आदेश

काठमाडौं । राष्ट्रिय खेलकुद परिषदले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीका सम्बन्धमा छानबिन कार्य सम्पन्न नहुँदा सम्म नेपाल प्रिमियर लिग (एनपीएल) का कुनै पनि कार्य नगर्न र नगराउन नेपाल क्रिकेट संघ (क्यान) लाई आदेश दिएको छ ।

क्यान अध्यक्ष चतुरबहादुर चन्दलाई आइतबार एक पत्र पठाउँदै परिषदले यस्तो आदेश गरेको हो ।

अख्तियारमा गत फागुन १२ गते दर्ता भएको उजुरीका सम्वन्धमा खेलकुद मन्त्रीले गत जेठ ११ गते मन्त्रीस्तरीय निर्णय गर्दै एक कार्यदल गठन गरेका थिए । सो कार्यदलले जेठ १४ गते क्यानलाई उजुरीमा उल्लेखित विषयवस्तुबारे पत्राचार गरेकोमा चित्तबुझ्दो जवाफ नआएको परिषदले जनाएको छ ।

कार्यदलले माग गरेको वा उजुरी उल्लेखित विषयवस्तु सम्बन्धमा आवश्यक कागजात, सुचना र तथ्य प्रदान नगरी केवल झारा टार्ने उद्देश्यबाट अभिप्रेरित भई केवल सतही उत्तर प्रदान गरेको आरोप पत्रमा लगाइएको छ ।

‘छानविन कार्यदल निस्कर्षमा पुग्न नसक्ने अवस्था विद्यमान देखिएको कारणबाट अन्तिम पटक तपसिलमा उल्लेखित प्रश्नहरुको तथ्यपरक, वस्तुनिष्ठ, एवं अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीका सम्बन्धमा स्पष्ट जवाफ पेश गर्न सकिने खालको विवरण पत्र प्राप्त भएको मितिले बाह्र (१२) घन्टा भित्र पेश गर्न हुन मिति २०८२/०३/२२ को निर्णय अनुसार जानकारी गराइन्छ । साथै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीका सम्बन्धमा स्पष्ट जवाफ पेश गरी यस कार्यदलले प्रतिवेदन पेश गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगवाट छानविन कार्य सम्पन्न नहुँदा सम्म नेपाल प्रिमियर लिग (NPL) सम्बन्धि कुनै कार्य नगर्नु नगराउनु हुन समेत जानकारी गराइन्छ ।’

पत्रमा क्यानलाई सोधिएका तीन प्रश्नहरु यस्ता छन्ः

क) नेपाल क्रिकेट संघ, राष्ट्रिय खेलकुद परिषद्मा विधान बमोजिम स्थापित संस्थाले सेवा तथा वस्तु खरीदमा सार्वजनिक खरीद ऐन २०६३ र सार्वजनिक खरीद नियमावली २०६४ को प्रतिकुल कार्य गरी एनपीएलको प्रसारण सम्बन्धि कार्य गर्न तपाईलाई कुन ऐनले अधिकार दिएको हो रु स्पष्ट खुलाउनु हुन ।

ख) त्यस संघवाट आयोजित एनपीएल प्रतियोगिता आयोजना गर्ने भन्ने निर्णय लामो समय अगाडि नै भई सकेता पनि त्यस संघवाट निकालिएको वोलपत्रमा स्पष्ट समय नखुलाई गोलमटोल ढंगवाट सार्वजनिक सुचना प्रकाशित गरी स्वस्थ प्रतिस्पर्धा नहुने अवस्था किन सृजना गर्नु भएको हो रु स्पष्ट खुलाउनु हुन ।

ग) त्यस संघवाट आयोजित एनपीएल प्रतियोगिता आयोजना गर्ने क्रममा विदेशी परामर्श दाताको रुपमा मनिश सुदर्शन पाण्डे जो भारतिय नागरीक हुन उनलाई परामर्श दाता सम्बन्धि कार्य गराउदा राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा ४४ (२) विपरीत कार्य गर्न मिल्छ रु स्पष्ट खुलाउनु हुन ।

Comments

One response to “अख्तियारको छानबिन नसकिएसम्म एनपीएलका कुनै पनि काम नगर्न क्यानलाई खेलकुद परिषदको आदेश”

  1. Ra Avatar
    Ra

    Thukka
    Aba Suru vayo CAN lai sakni khel

Leave a Reply

Your email address will not be published. Required fields are marked *