काठमाडौं । गायक तथा मोडल दुर्गेश थापा र भ्लगर सिसन बानियाँले सहकार्य गरेको गीत ‘जाने भए जाम माया’को भिडियोमा टिकटकमा भाइरल गुराँस नानीले मोडलिङ गरेकी छन् । उनी आफ्नो घर सोलुखुम्बुबाट काठमाडौं आएर म्युजिक भिडियोमा मोडलिङ गरेकी हुन् ।
मान्छेले हाँसोको पात्रको रूपमा लिइरहेको गुराँस नानीलाई आफूले म्युजिक भिडियोमा खेलाएर अवसर दिएको गायक थापाले बताए । थापाले भने, ‘गुराँस नानी गाउँमा थिई । हामीले बोलाएर राम्रै पारिश्रमिक दिएर भिडियोमा खेलाएको हो । उसलाई मान्छेले खिल्ली उडाइरहेका थिए, तर ऊसँग पनि ट्यालेन्ट छ भन्ने हामीलाई लाग्यो । अरू सेलिब्रेटीलाई दिने लेभलको पारिश्रमिक दिएरै म्युजिक भिडियोमा खेलायौँ ।’
कति पारिश्रमिक दिएको हो त ? भन्ने प्रश्नमा थापाले भने, ‘पचास हजार दिएको हो । अरू सेलिब्रेटीलाई दिने पारिश्रमिक पनि यही तहकै हुन्छ ।’
जे जस्तो भए पनि गुराँस नानीलाई हल्का रूपमा लिन नहुने थापाको तर्क छ । भगवानले कसैलाई रुवाउने त कसैलाई कसाउने भएकाले सबै मान्छेलाई समान व्यवहार गर्नुपर्ने उनले बताए ।
केही समयअघि गुराँस नानी भ्लगर बानियाँसँगको डोयट टिकटक भिडियोका कारण चर्चामा आएकी थिइन् । त्यसअघि पनि उनी अनेक खाले अभिव्यक्ति दिएर चर्चामा आएकी थिइन् । उनलाई मान्छेहरूले रमाइलोको रूपमा हेर्ने गर्थे ।
सात वर्षको हुँदा नै आमा गुमाएकी गुराँस नानी सोलुखुम्बुमा भाइ र बुवासँग बस्दै आएकी छन् । काठमाडौंमा म्युजिक भिडियोको काम सकाएर आज बिहान मात्रै गाडीमा सोलुखुम्बु गइसकेको थापाले बताए । थापाले भने, ‘सबै मान्छेले आ–आफ्नै दुःख र संघर्ष छ । गुराँस नानीले पनि दुःख झेलेरै आएकी छन् । उनको खिल्ली उडाउनुको कुनै अर्थ देख्दिनँ म ।’
पर्सिको दिन थापाको गीत युट्युबमा सार्वजनिक हुँदै छ । मोडलिङमा मात्रै नभएर बानियाँले गायनमा पनि थापालाई साथ दिएका छन् । यसअघि थापाको ‘दुश्मन हेरेको हेर्यै’ गीतले सय मिलियन भ्युजको आँकडा पार गरेको थियो ।

Leave a Reply