नेपालको ल्हासास्थित महावाणिज्यदूतले गरे हिल्सा नाका निरीक्षण

काठमाडौं। चीनको तिब्बतस्थित ल्हासामा रहेको नेपाली महावाणिज्यदूताका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाले आइतबार हुम्लाको नेपाल -चीन नाका निरीक्षण गरेका छन् । चीनतर्फबाट यात्रा गरेर निरौलाले निरीक्षण गरेका हुन् । आइतबार निरौलाले नेपालतर्फ हुम्ला जिल्ला र चीनतर्फ सिचाङ स्वायत्त क्षेत्रको पुलाङ जिल्ला जोड्ने हिल्सा सीमा नाकाको स्थलगत निरीक्षण गरी सम्बद्ध अधिकारीहरूसँग छलफल समेत गरेका छन् ।

चीनको भाषामा सिचाङ भनिने तिब्बतको नेपालसँगको सीमा नाका आउने क्रममा महावाणिज्यदूत निरौलाले चिनियाँ अध्यागमन, भन्सार, प्रहरी र पोर्ट व्यवस्थापन अधिकारी एवम् नेपालका सुरक्षा निकाय र भन्सारका अधिकारीहरूसॅग छलफल पनि गरेका थिए । छलफलमा नाकाको प्रभावकारी संचालनका निम्ति चीन सरकारले भरखरै निर्माण सम्पन्न गरेको मितेरी पुलको नेपालतर्फको पहुॅच मार्ग तत्काल निर्माण गर्नु पर्ने निरौलाले बताए ।

महावाणिज्यदूतसमक्ष नेपाली अधिकारीहरूले सीमा सहजीकरण र स्थानीय नेपाली अधिकारीहरूलाई पहिले झैं कैलाश मानसरोवरसम्म सहज यात्राकालागि सहजीकरण गरिदिन अनुरोध गरेका थिए। दुवै पक्षसँगको छलफलमा महावाणिज्यदूतले सीमाको प्रभावकारी व्यवस्थापनकालागि आफ्नातर्फबाट अधिकतम पहल गर्ने बताए ।

उनले आजै चीन सरकारले पुलाङ शहरमा निर्माण गरेर नेपाली समुदायलाई व्यवसायकालागि सहुलियत दरमा उपलब्ध गराएको व्यापारिक केन्द्रको समेत अवलोकन गरी नेपाली व्यवसायीहरूसँग अन्तर्क्रिया समेत गरेका छन् ।

उक्त बजारमा हुम्ला र सीमामा रहेका अन्य जिल्लाका गरी २ सयको हाराहारी नेपाली व्यवसायी व्यवसाय गरिरहेका छन् । छलफलमा नेपाली व्यवसायीहरूले चीन सरकारले नयॉ पूर्वाधार निर्माण भएपछि आफूलाई सहज भएको र व्यापार पनि बढेको बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *