डोटी । ‘अब यो बाटोमा गाडी चलाउन सकिँदैन सर, कर्मचारी र ठेकेदार मिलेर यात्रुहरु र हामी चालकलाई दुःख दिने नियत हो यो । सडक वनाउने नाममा बर्खामा आएर यसरी खनेर अल्पत्र पार्न पाइन्छ ?’ धनगढी—सिलगढी सडकमा माईक्रो बस (हाईस) गुडाउने चालक रामप्रसाद नेपालको प्रश्न हो यो ।
भिमदत्त राजमार्ग अन्तर्गत मेल्खर्कदेखि हगुल्टेसम्मको सडकको दुर्दसाँ देखाउँदै चालक नेपाल थप्छन् ‘यस्तो बाटोमा गाडी गुडाउदा, यात्रुहरुलाई पनि दुःख हुन्छ, गाडी पनि छिट्टै खराव हुन्छ ।’ उनी यसको सरकारलाई दिन्छन्, भन्छन् ‘यो देशमा सरकारै छैन, सवै लुटाह मात्रै छन् ।’
दिपायल सिलगढी नगरपालिका—१ तिखाका ६१ बर्षीय एक यात्रुको गुनासो पनि त्यस्तै छ । ‘म त मुटुको बिरामी छु, गाडीले धेरै उछिट्याउनु थाल्यो’ उनी भन्छन् ‘चालकलाई त के दोष दिनु, यस्तो बाटोमा ! जसको दोष हो उनीहरु हाम्रा कुरा सुन्दैनन् । उचपारका लागि धनगढी जाँदै गरेका उनी गाडीको धक्काले मुटु झन बढी दुखेको गुनासो गर्छन् ।
गत जेठ २० गतेभित्र कालोपत्रे गर्ने भन्दै राजमार्गको पुरानो पिच डोजर लगाएर भत्काइयो । बर्खा सुरु भएपछि सडक हिलाम्य भएको छ । सडक मर्मतका लागि सडक डिभिजन, डोटी र निर्माण व्यवसायी उच्चाकोटी—चन्द्रविकास जेभीबीच २०८१ साल साउन १३ गते सम्झौता भएको थियो । सम्झौता अनुसार उक्त कार्य २०८२ साल जेठ २० गतेभित्र समाप्त भईसक्नु पर्ने थियो ।

सडक डिभिजन, डोटीका सूचना अधिकारी गौरव धामीका अनुसार महाकाली राजमार्गको आवधिक मर्मत (पिरेडिक मेन्टिनेन्स अफ महाकाली हाईवे) अन्तर्गत गैरा—स्याउले खण्डमा ८ किलोमिटर सडक पुनः पिच गर्न ५ करोड, ४ लाख, ६९ हजार ५८४ रुपैयाँमा काम सम्पन्न हुने गरी उक्त ठेक्का लगाईएको हो । ठेक्का म्याद सकिएको एक महिना बित्दा पनि भौतिक प्रगति ५० प्रतिशत मात्रै भएको धामीले जानकारी दिए ।
ठेकेदारले समयमै काम सुरु नगर्नु र यस बर्ष छिटो बर्षात् सुरु हुनुको कारण काम ढिलो भएको धामीले जानकारी दिए । उनले भने ‘काम गर्न सकिहालिन्छ भन्ने सोचेर निर्माण व्यवसायीले सडक उप्काए, तर पानी पर्न थालेपछि तोकिएको गुणस्तरको काम नहुने भएर हामीले रोकेका हौं ।’
निर्माण व्यवसायी सुरेन्द्र पन्त काम समयमै सम्पन्न नहुनुमा बर्षात्लाई दोषी देख्छन् । ‘हामीलाई त्यो क्षेत्रको मौषमको बारेमा जानकारी भएन, त्यता पानी परेको परेई हुने रहेछ” पन्त भन्छन् ‘पानीले डिष्टर्व गरेर ढिला भएको हो ।’ आफुहरुले माघ महिनाबाट काम सुरु गरेको उनले वताए ।
उनी समाचार बुझेर लेख्न सिकाउँछन् । ‘पत्रकारहरुले बुझेर समाचार लेख्नु पर्छ, पत्रकारको काम सत्यतथ्य बुझ्ने हो’ समाचारका लागि प्रतिक्रिया माग्दा पन्तले भने ‘त्यहाँ कसैको गल्ती होईन्, मौषमकै कारण ढिलो भएको हो ।’

उनी काम गर्नमा आफ्नो थोरै कमजोरी रहेको भने स्वीकार गर्छन् । उनले थपे ‘यसमा सडक डिभिजनको त कुनै कमजोरी छैन, उहाँहरुले समयमै साईड दिनु भएको हो तर हामीबाट केही ढिलो भएको चाँही हो ।’ सडक डिभिजनले साउन १३ गते सम्झौता भएको जानकारी दिएपनि पन्त भने असोजमा ठेक्का सम्झौता भएको दावी गर्छन् ।
उनले अव बर्षात् रोकिएपछि मात्रै पिचको काम हुने वताए । त्यतिवेलासम्मका लागि खाल्डाखुल्डी भएको ठाउँमा ग्रावेल हालेर सहज वनाउने पन्तले वताए । यो क्षेत्रमा पिच नटिक्ने निर्माण व्यवसायी पन्त वताउँछन् । ‘खै उहाँहरुले (सडक डिभिजन) कसरी डिजाईन गर्नु भयो तर यो क्षेत्रमा पिच टिक्दैन’ उनले भने ‘यो क्षेत्रमा त आरसिसि ढलान मात्रै बलियो हुन्छ ।’

Leave a Reply