रुपन्देही । लुम्बिनी प्रदेशका तीन बाल सुधार गृहमा रहेका करिब ५०० बालबालिकालाई सकारात्मक सोचसम्बन्धी तालिम दिइएको छ । रुपन्देहीस्थित बाल सुधार गृहमा आयोजित कार्यक्रममा सुधार गृह रुपन्देहीका १०४, जयन्दु बाल सुधार गृह बाँकेका १९६ र नौबस्ता बाल सुधार गृहका १६८ बालबालिकाले सहभागिता जनाएका थिए ।
लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजनामा भएको कार्यक्रमको समन्वय गरेकी प्रदेशसभा सदस्य नीमा गिरीले बालबालिकालाई सकारात्मक सोच र जीवन परिवर्तनका सूत्रहरूबारे प्रशिक्षण दिएकी थिइन् ।
सांसद गिरीकै अगुवाइमा लुम्बिनीका तीन बाल सुधार गृहमा बाल पुस्तकालय स्थापना भइसकेको छ । पुस्तकालय र तालिमको माध्यमबाट सुधार गृहमा रहेका बालबालिकाको मनोबल अभिवृद्धि गर्ने उद्देश्य रहेको सांसद गिरीले बताइन् ।
उनले लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा सुधार गृह र कारागारमा रहेका व्यक्तिहरूलाई मागअनुसारको तालिम प्रदान गर्ने व्यवस्था मिलाएको जानकारी दिइन् ।
आगामी दिनमा सुधार गृह र बाल आश्रमहरूमा सीपमूलक कार्यक्रम विस्तार गर्न लागिपर्ने उनले प्रतिबद्धतासमेत व्यक्त गरिन् ।
रुपन्देही बाल सुधार गृहका निमित्त कार्यालय प्रमुख बोधराज आचार्यले पुस्तक पाएका बालबालिकाले पढ्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिएको र सकारात्मक सोचसम्बन्धी तालिमले जीवनप्रति नयाँ आशा पलाएको बताएको जानकारी दिए ।

Leave a Reply