काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले केन्द्रीय समितिको बैठकमा संघीय निजामती विधेयकमा भएको छेडखानीबारे जवाफ दिएका छन् । सानेपामा जारी केन्द्रीय समितिको बैठकमा बोल्दै उनले पार्टीले छाड भने सभापति पदबाट राजीनामा दिन तयार रहेको बताए ।
उनले भने, ‘मेरो पनि सभापतिको हैसियतमा केही गल्ती कमजोरी छ, अहिले नै पार्टीले बाहिर बस् भन्यो भने म तयार छु, तर पार्टीकै साथीहरू बाहिर गएर बदनाम गर्ने ढङ्गले प्रस्तुत हुँदै हुनुहुन्छ ।’
नेता खतिवडाले पार्टीभित्रै एकले अर्कालाई खुइल्याएर पार्टी नबन्ने भन्दै एकताबद्ध भएर अघि बढ्न जोड दिए ।
उनले थपे, ‘पार्टी सबैको हो, कसैले सभापति, कसैले उपसभापति कसैले महामन्त्री, कसैले केन्द्रीय सदस्यलाई खुइल्याउने, यो पद्धति कहाँसम्म जाने ? हामी यी आरोप–प्रत्यारोपमै सीमित भयौँ भने जनताले, कार्यकर्ताले के गर्ने ? पार्टी नेतृत्वलाई गाली गरेर पार्टी कमजोर हुँदै जाँदा को दह्रो हुने ? चाहे बालकृष्ण खाँण होस्, चाहे मोहन बस्नेत होस् । चाहे रमेश लेखक होस्, चाहे आरजु देउवा होस्, पार्टी पङ्क्तिका गगन थापा कमजोर भयो भने अरू को चाहिँ बलियो हुन्छ ? त्यो कुरा बुझेर सचेत हुनुपर्छ ।’

Leave a Reply