काठमाडौं । तातोपानी भन्सार नाकामा पहिलो पटक सडक मार्ग हुँदै हेलिकप्टर आयात भएको छ । चीनबाट तातोपानी नाकासम्म कन्टेनर आएको हेलिकप्टर त्यहाँबाट भने उडेर आउने भएको हो ।
अहिले भन्सार जाँच पासको काम भइरहेको छ । फ्रान्सेली कम्पनीको हेलिकप्टर चीनमा निर्माण भएको हो । भने, चीनको तिया जिनबाट माउन्टेन हेलिकप्टरले नेपालमा खरिद गरेर ल्याएको हो ।
तातोपानी भन्सारका प्रमुख भन्सार अधिकृत राजेन्द्रप्रसाद चुडालले फ्रान्सेली कम्पनीको हेलिकप्टर तातोपानी भन्सारमा आएर भन्सार जाँच पासको काम भइरहेको बताए ।
उनले नेपाल प्रेससँग भने, ‘चीनबाट कन्टेनरमा हालेर हेलिकप्टर आयात भएको हो । पङ्खाहरू खोलेर भन्सारमा आइपुगेको हेलिकप्टरको पङ्खा जडानको र भन्सारको काम सँगसँगै भइरहेको छ । अब भन्सारको काम सकाएपछि यहाँबाट हेलिकप्टर उडेर नै जाने छ । नागरिक उड्डयन प्राधिकरणबाट लिएको अनुमति लागतको कागजातहरू भन्सारले हेरिरहेको छ ।’
हेलिकप्टर आयात कर्ता कम्पनीले १३ प्रतिशत भ्याट र १ प्रतिशत भन्सार गरेर करिब साढे ४ करोड कर तिर्ने छ ।

Leave a Reply