पछिल्लो समय नेपालको राजनीतिमा युवा पुस्ताको मोह बढ्दो छ । यसको ज्वलन्त उदाहरण हो विभिन्न नाममा खुलेका नयाँ दल र केही स्वतन्त्र नामधारी नयाँ शक्ति । जसको मूल नेतृत्व युवाले नै गरिरहेका छन् ।
पुराना भनिएका दलमा पनि युवाको सक्रिय सहभागिताका कारण यसको ‘ग्ल्यामरस’, अर्थात् आकर्षित बढ्दो छ । यद्यपि, राजनीतिमा युवाको सक्रियतामात्रले परिवर्तन सम्भव छैन र यो सक्रियतामात्र परिवर्तनको आधार बन्दैन । जबसम्म राजनीतिमा प्रवेश गर्ने युवामा उद्यमशील सोच हुँदैन र उत्पादनसँग जोडिएको छैन भने ‘युवा’ नाममा मात्रै राजनीति टिक्दैन ।
उद्यमशीलतालाई प्रवर्द्धन गर्दै राजनीतिमा सक्रिय भएका युवाले मात्र राष्ट्र निर्माणको प्रक्रियालाई छिटो र समावेशी बनाउँन सक्छन् । नेपालको भविष्य युवाको हातमा छ भन्ने नारा हरेक दलको साझा नारा हो । यही साझा नारा केबल नारामा मात्र सीमित छ । राजनीतिमा युवा सहभागिता र उनीहरूको उद्यमशील सोचले देशलाई स्थायित्व, समृद्धि र विकासतर्फ लैजान महत्वपूर्ण भूमिका खेल्नसक्छ ।
यसकारण अब राजनीतिसँगै काम गर्ने संस्कृति विकास गर्न ढिला गर्नुहुँदैन । त्यो परिवर्तन ल्याउने शक्ति युवामा छ । यदि युवालाई अवसर, स्रोत र साधनमा पहुँच दिन सक्यौँ भने, नेपालको राजनीति केबल वाद-विवादमा मात्र होइन, समाधान र सिर्जनशीलताको केन्द्र पनि बन्न सक्छ ।
राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा सबैभन्दा धेरै युवा जनशक्ति छ । नेपालमा कूल जनसंख्याको करिब २८ प्रतिशत युवा छन् । युवा जनशक्तिले देशको आर्थिक, सामाजिक, शैक्षिक र राजनीतिक विकासमा महत्वपूर्ण भूमिका खेल्न सक्छन् । सामान्यतया १५ देखि ४० वर्ष उमेर समूहका मानिसलाई युवा भनिन्छ । तर, यो उमेर समूहका व्यक्ति शारीरिक, मानसिक र वौद्धिक रूपमा सक्रिय र सशक्त मानिन्छन् ।
१० देखि ६५ वर्षसम्मको जनसंख्या भने दुई तिहाई छ । यो उमेर समूहलाई पनि आर्थिक रूपमा सक्रिय जनसंख्या मानिने प्रचलनअनुसार दुई तिहाइ जनसंख्या सक्रिय उमेर समूहमा रहनुले आर्थिक विकासका लागि अभूतपूर्व अवसर सिर्जना गरेको छ ।
राजनीतिलाई नवप्रवर्तनशीलमा जोड्नुपर्छ
युवा सिर्जनशील, नवीन सोच र जोशिला हुन्छन् । यसकारण उनीहरुका लागि असम्भव भन्ने कुरा हुँदैन । राजनीतिलाई अब परम्परागत शैलीबाट बाहिर निकालेर समाधानमुखी र नवप्रवर्तनशील बनाउने बेला आएको छ र त्यसको नेतृत्व युवाले गर्नुपर्छ । युवालाई राजनीतिक दलको नेतृत्व सुम्पन पुरानो पुस्ता डराउनु हुँदैन ।
राजनीतिक दलबाटै प्रतिनिधित्व गरेर चुनाव लड्ने र सदनसम्मको यात्रा तय हुने भएकाले जोशिला युवालाई आफ्नो दलको अगुवा बनाउनुपर्छ । युवाले मतदाताको रूपमा मात्र नभई नीति निर्माण, बजेट छलफल र वडास्तरको निर्णय प्रक्रियामा सक्रिय भूमिका लिनुपर्छ । नीति निर्माण तहमै युवा पुर्याउन सके उद्यमशीलतामैत्री नीति बनाएर त्यसमा बढावा हुने थियो ।
नेपालमा युवा नेताको नवीन सोच, प्रविधिको उचित प्रयोग र अपार उर्जाले मात्र देशको जटिल समस्या हल गर्नसक्छ । उनीहरू परम्परागत राजनीतिमा क्रान्तिकारी सुधार ल्याउने आधार हुन्- यदि उनीहरूलाई जिम्मेवारी, साधन र स्थान दिइयो भने ।
नेपालको सन्दर्भमा युवा नेताले ल्याउनसक्ने नवीन सोच, प्रविधि र ऊर्जा देशको राजनीतिक, सामाजिक र आर्थिक रूपान्तरणको महत्वपूर्ण आधार बन्नसक्छ । परम्परागत ढाँचामा अड्किएको नीति निर्माण प्रक्रियालाई व्यवहारिक र तथ्यमा आधारित बनाउनसक्ने तागत राख्ने युवाको राजनीतिमा हुने उपस्थितिले नै हो, उद्यमशीलता बढाउने, अनि समृद्ध अर्थतन्त्र बनाउने ।
राजनीतिमा होमिएका युवा आफैँ पनि कुनै न कुनै उद्यमशीलतामा जोडिनुपर्छ । राजनीति कुनै आय आर्जन हुने पेशा होइन । यसलाई कमाईखाने भाँडो पनि बनाउनु हुँदैन । राजनीतिज्ञ भनेका जनताका सेवक हुन् । उनीहरूको आफ्नो व्यक्तिगत जीवन, परिवार हुन्छ ।
यसकारण राजनीतिमा होमिएको व्यक्ति पनि सामाजिक प्राणी हो र समाजमा बाँच्नका लागि ऊ पनि आर्थिक रूपले समृद्ध हुनुपर्छ । त्यसका लागि राजनीति सँगसँगै उद्यमशीलतामा जोडिनुपर्छ । हरेक दलले आफ्ना युवा नेतालाई कुनै न कुनै उद्यममा जोडिन बाध्य बनाउनुपर्छ, ताकि उसले आफ्नो जिवीकोपार्जन त्यसैबाट गरोस् । यसले भ्रष्टाचार न्युनीकरणमा पनि सघाऊ पुर्याउँ ।
अन्तर्राष्ट्रिय अभ्यासलाई हेर्ने हो भने, अमेरिकामा युवाको राजनीति र उद्यमशीलता डिजिटल अभियान, नीति‑परामर्श परिषद् र ग्रान्ट प्रणालीद्वारा सक्रिय गराइएको छ । भारतमा भने सरकारी योजना, शिक्षा-उद्यम तालिम र युवा संगठनमार्फत नवप्रवर्तन र राजनीतिमा समावेशिता सुनिश्चित गरिएको छ । यी दुवै देशले प्रविधि र युवा सशक्तीकरणलाई अघि बढाउँदै लोकतन्त्र र अर्थतन्त्रमा दीर्घकालीन सुधार गरिरहेका छन् ।
राजनीति केबल चुनाव र पार्टी होइन । यो समूहिक जीवनको मूल आधार पनि हो, जहाँ निर्णय, शक्ति, स्रोत र मूल्य कसरी बाँडिन्छन् भन्ने प्रक्रिया हुन्छ । चाहे सक्षम नेता होस् वा सक्रिय नागरिक राजनीति- सबैको जीवनको हरेक पाटोमा जोडिएको हुन्छ ।
यसकारण युवाको भूमिका केवल मतदानमा सीमित हुनुहुँदैन । उनीहरू नीति निर्माताबाट, जनताको सेवक, राष्ट्रको पहरेदार, सांस्कृतिक परिवर्तन, आर्थिक परिवर्तनको संवाहक र नेतृत्वद्वारा मार्गदर्शक बन्नुपर्छ । यदि युवालाई अवसर, समावेशी वातावरण र प्रविधिमा पहुँच दिइयो भने नेपालमा राजनीतिमा सकारात्मक र दीर्घकालीन परिवर्तन सम्भव छ । र, यसैबाट उद्यमशिलता सुनिश्चित हुन्छ ।
अर्को कुरा, अधिकार भन्ने चिज मागेर मात्र पाइँदैन, लडेर लिनुपर्छ । अहिले नेपालको ठूला एवं पुराना पार्टीमा वृद्ध नेताकै हालिमुहालि छ । उमेरमा ६० कटेकालाई युवा पुस्तामा गणना गर्न थालिएको अवस्था छ । युवालाई निर्वाचनमा प्रयोग गर्ने, कार्यक्रम गर्दा मान्छे जुटाउन प्रयोग गर्ने, विपक्षीसँग लड्न-भिड्न मात्र प्रयोग गर्ने । अवसर दिने भन्दा पनि बढी प्रयोग गर्ने हुँदा अब युवाले सोच्ने बेला भयो । उनीहरूले आफ्नो क्षमताको विकास गर्दै ‘यसम्यान’ नबनी क्षमताअनुसार काम गरेर उत्पादनसँग जोडिएर रोजगार सिर्जना गर्ने हो भने देशले मुहार फेर्न समय नै लाग्दैन ।
(लेखक नेकपा एमाले युवा विद्यार्थी विशेष जिल्ला कमिटीका अध्यक्ष हुन् ।)

Leave a Reply