काठमाडौं । संघीय निजामती सेवा विधेयक २०८० राष्ट्रियसभामा टेबुल गरिएको छ ।
बुधबार बसेको बैठकमा राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालले उक्त विधेयकका सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश टेबुल गरेका हुन् । त्यसअघि बैठकको शून्य समयमा राष्ट्रियसभाका सदस्यहरूले संघीय निजामती सेवा विधेयकमाथि चलखेल भएको भन्दै छानबिन हुनुपर्ने माग गरे ।
राष्ट्रियसभा सदस्य रुक्मिणी कोइरालाले निजामती विधेयकमा चलखेल भएको भन्दै सत्यतथ्य बाहिर ल्याउन माग गरिन् ।
विष्णुकुमारी सापकोटाले विधेयकमा देखिएका त्रुटिहरू सच्याउन भन्दै चलखेल गर्नेमाथि छानबिन गरी कारबाहीको माग गरिन् ।
त्यस्तै सदस्य श्रीकृष्ण प्रसाद अधिकारीले दुई वर्षको कुलिङ पिरियड राख्ने सहमति भएपछि त्यसविपरीत विधेयक आएको भन्दै कानून निर्माण जस्तो विषयमा भएको कीर्ते कार्यमा संलग्नलाई संसदीय समिति बनाएर कारबाही गर्न माग गरे ।
अन्य सदस्यहरूले समेत निजामती विधेयकका सन्दर्भमा छानबिन गरी सत्यतथ्य बाहिर ल्याउनुपर्नेमा जोड दिएका छन् ।

Leave a Reply