सरकारले छुट्याएको एक करोड अनुदान ‘सेजन’ द्वारा अस्वीकार

काठमाडौं । आर्थिक पत्रकारहरुको संगठन नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले सरकारबाट प्राप्त हुने एक करोड अनुदान अस्वीकार गरेको छ । सञ्चार मन्त्रालयले सेजनलाई सञ्चालन अनुदानका रूपमा एक करोड रूपैयाँ बजेटमै विनियोजन गराएको थियो ।

आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक विकास कार्यक्रमको बजेट उपशीर्षक नम्बर १ मा सो रकम विनियोजन गरिएको जानकारी हुन आएको सेजनले जनाएको छ । आर्थिक पत्रकारको छाता संस्थालाई विश्वास गरेर सदाशयता देखाएकोप्रति मन्त्रालयलाई सेजनले धन्यवाद दिएको छ । तर, सेजनको असार १७ गते बठेको बैठकले विभिन्न चार कारण देखाउँदै अनुदान अस्वीकार गर्ने निर्णय लिएको हो ।

सेजनले औल्याएका चार कारण यस्ता छन् :

१. सेजनले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग यस प्रकारको कुनै पनि बजेट माग नगरेको ।

२. सेजनले हालसम्म सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट कुनै पनि निःशर्त अनुदान स्वीकार नगरेको ।

३. सेजन र यसका सदस्यहरुले बजेट अनुशासन एवम् वित्तीय स्रोत उपयोगको प्रभावकारिताबारे सरकार र यसका निकायहरुमाथि निरन्तर खबरदारी गर्दै आएका छौं/छन् । यस परिप्रेक्ष्यमा एक करोड रुपैयाँको निःशर्त अनुदान स्वीकार गर्नु सेजनको आफ्नै विरासत र संस्थागत मौलिकताको समेत विपरित हुने देखिएको ।

४. यसै पनि वित्तीय स्रोतको अभाव झेलिरहेको हाम्रो सरकारका लागि नागरिकको आधारभूत आवश्यकता र जीवन रक्षामा ठूलो लगानी गर्नुपर्ने आवश्यकता छ । जनताको करबाट प्राप्त स्रोतको नागरिक हितमा अधिकतम उपयोग गर्न सक्ने विकल्प छाडेर जिम्मेवार पत्रकारहरुको छाता संस्थाले बजेट उपयोग गर्नु हाम्रो पेशागत धर्म र मर्यादाको समेत खिलाफ हुने देखिएको ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *