विदेशीलाई नेपाली चियाको स्वाद चखाउँदै ‘एनएमसी’

काठमाडौं । पूर्वी नेपालको एउटा सहकारीले विश्व बजारमा नेपाली चियालाई चिनाउने प्रयास गरिरहेको छ । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) एउटा यस्तो नाम- जसले किसानको पसिना सीधै अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याएको छ ।

झापाकाे मेचीनगर- ६ काकरभिट्टामा रहेको एनएमसी सहकारीले चियाको उत्पादन, प्रशोधनदेखि निर्यातसम्मको श्रृङ्खला निर्माण गरेर सहकारी मोडलमै नयाँ कीर्तिमान राखेको छ ।

विदेशी उपभोक्तालाई नेपाली स्वाद चखाउनेमात्र नभई एनएमसीले स्थानीय किसानलाई उचित मूल्य सुनिश्चित गरेको छ । फलस्वरूप किसानको जीवनस्तर उकासिएको छ, खेतीप्रतिको भरोसा बढेको छ । चियाको उत्पादन थप वृद्धि गर्ने उत्साह पनि पलाएको छ ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) लक्ष्मीप्रसाद उप्रेतीका अनुसार एनएमसीको सफलताको मूलमा स्थानीय किसानसँगको प्रत्यक्ष सहकार्य छ । उनीहरूका अनुभव, सीप र पसिनालाई एनएमसीले व्यावसायिक बजारसँग जोडेको छ  । जसले गर्दा नेपाली चिया अब केवल स्वादकै लागि होइन, किसानको कथा र सामूहिक प्रयासको प्रतीकका रूपमा समेत विश्व बजारमा चिनिँदैछ ।

एनएमसीको यो काम सहकारी मोडलको सम्भावना र क्षमतालाई देखाउने उत्कृष्ट उदाहरण हो । एनएमसीले नेपाली चियालाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याएर किसानको जीवन नै बदलेको छ । स्थानीय तहबाट सुरु भएको प्रयासले पनि अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाउनसक्छ भन्ने उदाहरण दिइरहेको छ ।

एनएमसीको यो यात्रा सामान्य सहकारी मोडलभन्दा फरक छ । चियाको उत्पादन, प्रशोधन र निर्यातसम्मको श्रृङ्खला आफ्नो हातमै राखेर सहकारीले विश्व बजारको ढोका खोलेको छ । नेपाली स्वाद विदेशी उपभोक्तासम्म पुर्‍याउनेमात्र होइन, किसानलाई उचित मूल्य दिलाएर उनीहरूको आत्मविश्वास पनि बलियो बनाएको छ ।

सहकारीले किसानसँग प्रत्यक्ष सम्झौतामार्फत बिचौलियाको सञ्जाल घटाएको छ । यसले किसानलाई उचित मूल्यमात्र दिएको छैन, उत्पादन गुणस्तर सुधार्न पनि प्रेरित गरेको छ । नतिजा, गुणस्तरीय चिया र बढ्दो निर्यातले नयाँ प्रविधि र राम्रो प्रशोधन पद्धतिमा किसानहरूको ध्यान तानिरहेको छ ।

एनएमसीका सीईओ लक्ष्मीप्रसाद उप्रेती ।

‘एनएमसी सहकारीको सबैभन्दा ठूलो उपलब्धि भनेको चियाको मूल्य श्रृङ्खलालाई एकै ठाउँबाट व्यवस्थापन गर्न सफल हुनु हो । उत्पादनदेखि प्याकेजिङ र ब्रान्डिङसम्मको सम्पूर्ण प्रक्रिया आफ्नै संयन्त्रबाट हुँदै चिया अन्तर्राष्ट्रिय बजारमा पुग्छ । सहकारीको सानो पहलले पनि ठूलो प्रभाव पारिरहेको छ’, सीईओ उप्रेती भन्छन् ।

उनका अनुसार सहकारीका चार वटा चिया प्रशोधन केन्द्र छन् । झापाको मेचीनगर- ५, इलामको सूर्योदय- १ र माइजोगमाई- १ मा संस्थाले चिया प्रशोधन कारखाना स्थापना गरेको छ । पछिल्लो चार महिनायता इलामको धारापानीमा पनि नयाँ प्रशोधन केन्द्र चलाएको छ । सहकारीले किसानसँग किनेको हरियो पत्ती आफ्नै कारखानामा प्रशोधन गरी गुणस्तरयुक्त चिया उत्पादन गर्छ । उत्पादन भएको चिया भारत निर्यात हुँदै आएको छ ।

गत वर्षमात्रै यस सहकारीले तीन लाख ६४ हजार ४४ केजी तयारी चिया भारत निर्यात गरेको थियो । जसबाट ११ करोड ४३ लाख ६१ हजार रूपैयाँ नेपाल भित्रियो । चालू आर्थिक वर्षमा १३ करोड रूपैयाँभन्दा बढीको चिया निर्यात गर्ने सीईओ उप्रेतीले सुनाए ।

‘हामीले तीन वर्षदेखि चियामा काम गरिरहेका छौँ । हाम्रा सदस्य किसानहरूले तयार पारेको हरियो पत्ती खरिद गरेर प्रशोधनपछि हामीले निर्यात गर्दै आएका छौँ । गुणस्तरीय हरियो पत्ती तयार पार्न आवश्यक पर्ने सीपदेखि लगानीसम्मको वातावरण सहकारीले तयार गर्ने गरेको छ’, उनले भने ।

संस्थामा साढे ३०० बढी चिया किसान आबद्ध छन् । सहकारीले चिया व्यवसायमा १३ करोड रूपैयाँ लगानी गरेको छ । किसानद्वारा उत्पादित हरियो पत्ती संस्थाले खरिद गरेर प्रशोधनपछि नेपाली ब्रान्डमा निर्यात गर्दै आएको छ । सहकारी संस्थाले ‘एनएमसी’ ब्रान्डमा ब्ल्याक टी, अर्थोडक्स टी, ग्रीन टी, स्पेशल टी उत्पादन गर्दै आएको छ । उत्पादित चियामध्ये १० प्रतिशत स्वदेशमा खपत हुने र बाँकी सबै विदेशमा निर्यात हुँदै आएको छ ।

विशेषगरी भारतमा चिया निर्यात गर्दै आएको एनएमसीले तेस्रो मुलुकमा पनि निर्यात गर्ने तयारी गरिरहेको सीईओ उप्रेतीले जानकारी दिए ।

एनएमसीले सहकारी पसल पनि चलाएको छ । संस्थाका सदस्य र उपभोक्तालाई सुलभ रूपमा उपभोग्य सामग्री बिक्री गर्न विभिन्न १७ ठाउँमा सहकारी पसल चलाएको हो । आफ्नै प्याकेजिङ उद्योगमार्फत एनएमसी ब्रान्डमा दैनिक उपभोग्य सामग्री बजारमा उपलब्ध गराइएको छ ।

संस्थाका कर्मचारी, समिति/उपसमितिका पदाधिकारीहरूले मासिक न्यूनतम रकम बराबर आफ्नै पसलबाट सामान खरिद गर्नुपर्ने नीतिगत व्यवस्था गरिएको छ । प्रत्येक महिना सर्वाधिक कारोबार गर्ने सदस्यलाई पसलगत आधारमा पुरस्कृत गर्ने व्यवस्था गरिएको छ ।

यस्ता पसलहरूबाट वार्षिक ३३ करोडको कारोबार हुनु गरेको सहकारीले जनाएको छ । संस्थाले आफ्ना सहकारी पसलका लागि आवश्यक पर्ने धनिया, मेथी, ज्वानो, सिलाम, तील, गहत, चौसुर, सुप, बेसारको सुख्खा चाना, आलस, दलहन (गेडागुडी) आदि किसानबाट सङ्कलन वा सोझै खरिद गरी प्याकेजिङ गर्ने गर्दै आएको छ । विशेषगरी रैथाने बालीलाई प्राथमिकता दिइने हुँदा किसान सदस्यलाई उत्पादनमा लाग्न प्रोत्साहन गरेको छ ।

करोडौँको कारोबार गर्ने आफ्नै डेरी उद्योग

एनएमसीले आफ्नै डेरी उद्योग सञ्चालनमा ल्याएको छ । २०७२ सालदेखि मेचीनगर- ८ इँटाभट्टामा सञ्चालनमा ल्याएको डेरीले मासिक औसत ४ लाख लिटर कच्चा दूध खरिद गरी प्रशोधित दूध र दुग्धजन्य विभिन्न वस्तु उत्पादन गर्दै आएको छ । उद्योगले वार्षिक ४२ करोडको दूध तथा दुग्धपदार्थ बिक्री गर्ने गरेको संस्थाले जनाएको छ ।

‘यो डेरीले स्थापनाको दुई वर्षमै राम्रो फड्को मार्न सकेको छ । प्रतिघण्टा ३ हजार लिटर प्रशोधन गर्ने क्षमता छ । डेरी व्यवसायको माध्यमबाट पशुपालक किसानसँग पुगेर उनीहरूको क्षमता विकास र आयस्रोत वृद्धिका कार्यक्रम गर्दै आएका छौँ’, सीईओ उप्रेतीले भने ।

उद्योगले उत्पादन विविधीकरणअन्तर्गत पास्चराइज्ड गरिएको बढी फ्याट भएको दूध, साल्टेड बटर (नौनी घिउ) र पास्चराइज्ड बटर पनि बजारमा बिक्री गर्दै आएको छ ।

उद्योगले नौनी घिउ र एसएमपी (पाउडर दूध) भएकाले गुलाब जामुनको स्वादसहित सानो प्याकेटमा धुलो दूध (पाउच प्याक) उत्पादन पनि गर्ने गरेको छ । गत वर्ष यस उद्योगले १ करोड १६ लाख ४८ हजार रूपैयाँ खुद मुनाफा कमाएको थियो ।

एनएमसीले किसानहरूलाई कृषि व्यवसायतर्फ आकर्षित गर्न एग्रो फार्म पनि सञ्चालन गरिरहेको छ । २०७५ सालदेखि मेचीनगर- १४ मै उक्त एग्रो फार्म सञ्चालन गरिरहेको हो । अहिले एग्रो फार्ममा १५० वटा गाई छन् । उच्च नश्लको एउटा गाईले अधिकतम ४५ लिटरसम्म दूध दिने गरेको सीईओ उप्रेतीले जानकारी दिए ।

एग्रो फार्मबाट मुख्य रूपमा गाईपालन गरी मासिक औसत ३३ हजार लिटर दूध उत्पादन हुने गरेको छ । यसका अतिरिक्त तरकारी तथा फलफूलका बेर्ना उत्पादन, माछापालन, हाँसपालन, खाद्यान्न उत्पादन, बेल साइलेज उत्पादन, दूध चिस्यान केन्द्र सञ्चालन र कृषि यन्त्र उपकरण सञ्चालन हुने गरेको छ ।

सीईओ उप्रेतीका अनुसार सहकारीले तोरीको तेल उत्पादन गर्ने, प्रशोधन गर्ने र बजारमा ल्याउने तयारी गरिरहेको छ । एनएमसीले चाँडै आफ्नै ब्रान्डको तेल बजारमा ल्याउँदैछ ।

त्यसबाहेक यस सहकारीले ६० आइटमको प्याकेजिङ गर्ने तयारी गरिरहेको छ । यसमा विशेषगरी स्थानीय किसानले उत्पादन गरेका वस्तुहरू खरिद गर्ने, ग्रेडिङ गर्ने, ब्रान्डिङ, प्याकेजिङ र बजारमा लैजाने तयारी रहेको छ ।

सहकारीले उद्यमशीलताका लागि पनि प्रोत्साहन गर्दै आएको छ । आफ्ना सदस्यहरूलाई आर्थिक उपार्जन गर्न सक्नेगरी स्वरोजगार बनाउन विभिन्न सीप सिकाइरहेको छ । मुख्यगरी बचत तथा ऋणको कारोबार गर्ने सहकारी भए पनि संस्थाले आफ्नै लगानीमा प्याकेजिङ उद्योग, चिया, मह उत्पादन तथा प्रशोधन उद्योग चलाउँदै आएको छ । तरकारी तथा फलफूल उत्पादनदेखि ब्रिकीसम्मको काम पनि सहकारीले गर्दै आएको छ ।

सहकारीले सामाजिक कार्यतर्फ एक रूपैयाँ योगदान पनि सञ्चालन गर्दै आएको छ । संस्थाको यस कार्यक्रममा १४८ एकाइका ६ हजार ७२९ सदस्य आबद्ध छन् । उनीहरूको योगदानको रकम ३१ लाख ७१ हजार ६६६ रूपैयाँ पुगिसकेको छ ।

यसबाहेक सहकारीले विद्यालय वर्ष उत्कृष्ट बाल बचतकर्ता पुरस्कारसमेत प्रदान गर्दै आएको छ । संस्थाले यस्तो पुरस्कारस्वरूप ४८ वटा विद्यालयमा २ लाख २३ हजार रूपैयाँ प्रदान गरिसकेको छ । सामुदायिक तथा त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसहरूमा ३ लाख ३६ हजार रूपैयाँ बराबरको छात्रवृत्ति वितरण गरिसकेको छ ।

स्टुडेन्ट सेभिङ क्लब गठन गरेर ६ हजार बढी विद्यार्थीबाट सहकारीले ४० लाख ८० हजार बचत संकलन गरिसकेको छ । एनएमसी सहकारी व्यवसायमा मात्रै केन्द्रित छैन, सरसफाइ अभियानदेखि संस्थाको अपनत्व विकासका लागि एनएमसी ट्याग वितरणसम्मको कार्यक्रम गर्दै आएको छ ।

‘सहकारी व्यवसायमा मात्रै सीमित हुन सक्दैन । सदस्यको आर्थिक, सामाजिक र सांस्कृतिक उन्नतिका लागि निरन्तर सक्रिय हुनुपर्छ । त्यसैले हामी सदस्यको सुखदुःखमा सधैँ सहभागी बन्दै आएका छौँ’, सीइओ उप्रेतीले भने ।

एक लाख ७७ हजार सदस्य, ११ अर्ब बढी बचत

एनएमसी सञ्चालनमा आएको तीन दशक बढी भइसक्यो । संस्था वि.सं. २०५० साल फागुन २४ गते स्थापना भएको थियो । जतिबेला स्थानीयस्तरमा बचत गर्न चाहने व्यक्तिका घरदैलोमै पुगेर बचत गर्न सिकाउने कुनै निकाय थिएन । बचत गर्ने बानी लगाउन सञ्चालन भएको यस संस्थाले सहकारी मूल्य, मान्यता, सिद्धान्त र मर्मलाई व्यवहारमा प्रयोग गर्दै आज उदाहरणीय बन्न सफल भएको सीईओ उप्रेती बताउँछन् ।

‘३२ वर्षको यात्रामा नेपालका धेरै सहकारी अभियानमा लागेका सहकारीका शुभचिन्तक र अभियन्ताहरूले एनएमसीप्रति गर्व गर्छन् । मजबुती, सक्षमता, सुशासन, विश्वसनीयता र दिगोपनामा सदस्य एवम् समुदायको प्रश्न होइन, विश्वास बढेको छ । सदस्यको जीवनस्तर कसरी सहज र समृद्ध गर्ने भन्नेमा जोड दिएका छौँ’, उनले भने ।

कोशी प्रदेशका तीन जिल्ला झापा, मोरङ र इलाम कार्य क्षेत्र रहेको यस सहकारीले यी तीनै क्षेत्रमा सदस्यलाई स्वरोजगार बनाउनेदेखि करिब एक हजार २०० जनालाई रोजगारीसमेत दिएको छ ।

एनएमसीको जेठ मसान्तसम्मको वित्तीय विवरण हेर्ने हो भने शेयर पुँजी एक अर्ब ४४ करोड ३१ लाख रूपैयाँ छ । यसका साथै संस्थाको जगेडा कोषमा ५६ करोड १३ लाख ५३ हजार ३४५ रूपैयाँ रहेको छ ।

एनएमसीका लेखा तथा वित्त विभाग प्रमुख सूर्यप्रसाद भट्टराईका अनुसार संस्थामा बचत रकम ११ अर्ब ४९ करोड १९ लाख ९९ हजार ९ रूपैयाँ पुगेको छ । ११ अर्ब ७ करोड ९४ लाख ८९ हजार ५८६ रूपैयाँ कर्जा लगानी गरिएको छ ।

संस्थाको कुल संस्थागत पुँजी ८८ करोड १ लाख ९४ हजार रूपैयाँ पुगेको छ । कर्जा जोखिम कोष व्यवस्थामा ३४ करोड ८२ लाख ७ हजार रूपैयाँ रहेको छ । विभिन्न कोषहरूको २० करोड ६ लाख ६८ हजार रूपैयाँ पुगेको छ । २ अर्ब ८३ करोड ९० लाख ४२ हजार तरलता रहेको यस संस्थाको कुल सम्पत्ति १५ अर्ब २८ करोड ८८ लाख ९० हजार रूपैयाँ पुगेको छ ।

चालू आर्थिक वर्षको जेठ मसान्तसम्म संस्थामा कुल शेयर सदस्य सङ्ख्या एक लाख ७७ हजार ७८८ जना पुगेका छन् । यो अवधिमा कर्जा लिने सदस्य संख्या १७ हजार ८०४ जना छन् ।

सहकारी क्षेत्रमा नमुना अभ्यास गर्दै आएको एनएमसीले विभिन्न क्षेत्रबाट उत्कृष्ट सहकारीको पुरस्कारसमेत पाएको छ । २०८० सालमा कोशी प्रदेश सरकारले दोस्रो पटक उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार दिएको थियो । गत वर्ष पनि राष्ट्रिय दुग्ध विकास बोर्डबाट यस सहकारीले सञ्चालन गरेको डेरी उद्योगले सम्मान पाएको थियो ।

सदस्यहरूमा केन्द्रित भएर काम गर्ने हो भने सहकारीमा कुनै पनि समस्या नआउने सीईओ उप्रेतीको अनुभव छ । विगतमा लाभांशमुखी अभ्यास गर्दै आएका सहकारीहरू अब सदस्यमा सेवा केन्द्रित हुनुपर्ने उनको सुझाव छ ।

एनएमसीले पनि यस्तो अभ्यास गरिरहेको जानकारी दिँदै सीईओ उप्रेतीले भने, ‘हाम्रो प्राथमिकता पनि बढीभन्दा बढी सदस्यलाई लाभांश दिने होइन । सकेसम्म सेवा बढी दिने, तर लाभांश कम दिने हो । बचतको ब्याजदरसरहको लाभांश दिने र त्यसबाहेक सेवा दिने कोसिस गरिरहेका छौँ ।’

उनका अनुसार एनएमसीले शेयर सदस्यहरूलाई ठूलो पुँजी किन्न पनि प्रेरित गरेको छैन । १० लाखमाथिका शेयर सदस्य नबनाउने एनएमसीको तयारी छ । यो पनि भविष्यमा घटाउने तयारी रहेको सीईओ उप्रेती बताउँछन् ।

‘ठूलो शेयर हुनेबित्तिकै त्यसको जोखिम पनि हुनेरहेछ । बजारमा हल्ला गर्दा शेयर फिर्ता लिन आइहाल्ने हुँदा यसले अप्ठेरो पार्नेरहेछ । एउटै व्यक्तिमा ठूलो शेयर पुँजी नराखी थोरै पुँजीमा धेरै सदस्य राख्ने सोचसहित अगाडि बढेका छौँ’, उनी भन्छन् ।

संकटको समयमा पनि सदस्यहरूले विश्वास गरेका कारण दिगो रूपमा सदस्यहरूकै लागि काम गर्नेगरी सहकारी अगाडि बढेको सीईओ उप्रेतीले जानकारी दिए ।

असल अभ्यास गरिरहेका अन्य सहकारीसम्बन्धी समाचारहरुः  

 

नोटः केही वर्षयतादेखि सहकारी क्षेत्र संघर्षपूर्ण अवस्थामा छ । सडकदेखि सदनसम्म सहकारी क्षेत्र चर्चामा छ । सहकारीविरुद्ध सडक आन्दोलनदेखि अब चाहिँदैन भन्दै विरोधसम्म भइरहेको छ । समुदायसँग जोडिएको सहकारीका केही बदमासीका कारण यस क्षेत्रको सबल पक्ष ओझेलमा परेको छ । त्यसैलाई मध्यनजर गर्दै नेपाल प्रेसले समुदायका बीच असल अभ्यास गरिरहेका सहकारीबारे जानकारीको श्रृङ्खला प्रस्तुत गरेको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *