काठमाडौं । हलेसी गुफा छिर्दा हिन्दूहरूले वैदिक मन्त्र पढ्दै हुन्छन् भने लामा तथा भिक्षुहरूले आफ्नै मन्त्र र जप गर्दै हुन्छन्। किराँतीहरूको आगमन नि आस्थाकै कोणमा भइरहेको हुन्छ ।
मध्यपहाडी राजमार्गकै किनारमा खोटाङमा रहेको नेपालको चर्चित धाम हलेसी महादेवलाई कोशी प्रदेशमा विभिन्न उपमा दिइएको छ ।
हिन्दू धर्मावलम्बीले पूर्वको पशुपति नाथ त बौद्धमार्गीले दोस्रो लुम्बिनी अथवा मरातिक गुफा र किराँत धर्मावलम्बीलेले आदिम भूमि ठान्छन् ।
गुफा प्याकेज पाइने हलेसी धाममा विशेषतः महादेव बसाह र भैरवका तीन वटा सुन्दर गुफा छन् । जनविश्वास अनुसार हलेसी महादेवको दर्शन गरेमा खडेरीबाट मुक्ति पाउने, दुःखबाट मुक्ति पाउने, सन्तान लाभ हुने, पदोन्नति हुने, निरोगी हुने हुन्छ ।
महादेवलाई भस्मासुर राक्षसबाट बचाउन मोहनी रूप धारण गरी भगवान् विष्णु कैलाशबाट यस ठाउँमा आएको वैदिक कोणको शास्त्रीय मान्यता छ । यही धामबाट पालिकाको नामकरण नि गरेर हलेसी तुवाचुङ नगरपालिका राखिएको छ ।
सदरमुकामबाट र मध्य पहाडी राजमार्गले छुने ओखलढुङाबाटको हिलेपानीबाट समान ३५ किलोमिटर दूरीको यो धाममा नेपाल, भारत तथा भुटानका दर्शनार्थीहरु आउने स्थानीय बताउँछन्।


Leave a Reply