काठमाडौं। बागमती प्रदेशसभाको आजका लागि बोलाएको बैठक स्थगित भएको छ । अपराह्न १ बजे बस्ने भनिएको बैठक आज अबेरसम्म पनि बस्न नसकेपछि विशेष कारण देखाउँदै सूचना टाँसेर स्थगित गरिएको हो ।
अब यही असार १९ गते दिनको ११ बजे बैठक बस्ने प्रदेशसभा सचिव रामकुमार पौडेलले जानकारी दिए।
सभामुख भुवनकुमार पाठकले सत्तापक्ष र प्रतिपक्षसँगको सहमतिअनुसार असार १९ गते बिहीबार दिनको ११ बजे बस्नेगरी बैठक आह्वान र सोहीअनुसार सबै सदस्यलाई सूचना गरिएको बर्ताए ।
गत असार १ गते प्रदेशसभाको बैठकमा प्रस्तुत आव २०८२/०८३ को बजेट निष्पक्ष र पारदर्शी नभएको, व्यक्तिमुखी भएको भनि सत्तापक्ष दलका केही सदस्य र प्रतिपक्ष दलका सदस्यको प्रतिरोध गरिहेका छन् ।
सोही कारण आजको बैठक स्थगित हुनपुगेकोभन्दै राप्रपा संसदीय दलका नेता उद्धव थापा र माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक रत्नप्रसाद ढकालले आपत्ति जनाएका छन् ।
प्रमुख प्रतिपक्षी दल राप्रपा,नेकपा माओवादी र एकीकृत समावादीका नेताहरुले संयुक्त विज्ञप्ति जारी गर्दै प्रदेश सभालाई वन्धक बनाएर वजेट माथिको छलफलबाट भाग्नु भन्दा दलहरुसँग सम्वाद गरी आवश्यक निकाश निकाल्न प्रदेश सरकारसमक्ष माग गरेका छन् ।
आज असार १६ गते १ बजेको लागि बोलाइएको बैठक पनि नराखी ४ बजेसम्मका लागि सारिएको बैठक ४ बजे पनि बस्न नसकेको उनीहरुको भनाइ छ।
दलहरुबीच आपसी समझदारी, परामर्श र कुनै जानकारी समेत नगरी सरकारले एकलौटी ढंगबाट बैठक सार्ने काम भइरहेको भन्दै उनीहरुले आपत्ति जनाएका छन् ।
विज्ञप्तिमा भनिएको छ, यस सन्दर्भमा बजेटमा रहेको नीतिगत त्रुटि, असन्तुलित, बिभेदकारी र सेटिङ्गमा आधारित वजेट सच्याएर मात्र यस समस्यको हल गर्न सकिन्छ । तसर्थ प्रदेश सभालाई वन्धक बनाएर वजेट माथिको छलफलबाट भाग्नु भन्दा दलहरुसँग सम्वाद गरी आवश्यक निकाश निकाल्न प्रदेश सरकारलाई हामी प्रतिपक्ष दलहरु जोड्दार माग गर्दछौ । अन्यथा सरकार आफैले नैतिकताको आधारमा मार्ग प्रशस्त गरोस ।’

Leave a Reply