काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियूमा असन्तुष्ट पक्षले समानान्तर कमिटी घोषणा गरेपछि भाँडभैलो मच्चिएको छ । सङ्गठनको अध्यक्षको जिम्मेवारी महेश श्रेष्ठलाई दिएपछि रुष्ट बनेकाहरूले नरेश न्यौपानेको नेतृत्वमा नयाँ कमिटीको घोषणा गरेका छन् ।
न्यौपाने समूहले प्रकाश श्रेष्ठलाई महासचिव बनाएको छ । उनीहरूले पदाधिकारीसहित १६७ सदस्यीय नयाँ केन्द्रीय समिति घोषणा गरेका छन् । सङ्गठन नै विभाजित गरेका छन् ।
न्यौपाने पक्षले जारी गरेको सर्कुलरमा भनिएको छ, ‘यो सङ्गठन विधि र पद्धतिप्रति जति प्रतिबद्ध छ, त्यति नै अन्याय र असमानताविरुद्ध सघन लडाइँ लड्दै र जित्दै आएको इतिहास छ । बदलिँदो परिवेशमा भने अनेरास्ववियूका अगाडि समाजवादी शिक्षा प्राप्तिको अभियान आजको मुख्य कार्यभार बनेको छ ।’
गम्भीरतापूर्वक बहस गर्नुपर्ने, विद्यार्थी आन्दोलनलाई नयाँ शिराबाट अघि बढाउनुपर्ने आवश्यकता र दायित्वबोध गरेर अनेरास्ववियू क्रियाशील हुँदामात्रै पार्टी निर्माण र विस्तारको गति स्वतः अघि बढ्ने विश्वास गरिएको सर्कुलरमा उल्लेख छ ।
अनेरास्ववियूको केन्द्रीय महाधिवेशन यथाशीघ्र गर्ने, तर महाधिवेशनको मिति तथा सङ्गठनमा उमेर हदसम्बन्धी निर्णय केन्द्रीय कमिटी बैठकबाट गरिने बताइएको छ ।
सङ्गठनलाई विद्यार्थीको सङ्गठन बनाउन आफूहरूले सामूहिक प्रयत्न गरेर नयाँ कमिटी घोषणा गरेको न्यौपानेले बताए ।
उनले भने, ‘पार्टीले महेश श्रेष्ठलाई अध्यक्ष तोकेको छैन । पार्टीले विद्यार्थी सङ्गठनको विवाद समाधान गर्न विद्यार्थी इन्चार्ज र सहइन्चार्जलाई भनिरहेको छ, तर अहिलेसम्म विवाद मिलेन र मिलाउने सम्भावना पनि देखिएन । त्यसैले हामीले सङ्गठनलाई विद्यार्थीको मात्रै बनाउन जमर्को गरेका हौँ ।’
रियल विद्यार्थीहरूमा विद्यार्थी आन्दोलन र सङ्गठनप्रतिको चिन्ता हुने भन्दै सङ्गठनमा विश्वविद्यालय तहबाट बाहिरिइसकेका पार्टीमा राजनीति गर्नुपर्ने मान्छेले सङ्गठनमा ठाउँ ओगट्न नहुने भएकाले उमेर हदको कुरा उठाएको न्यौपानेले बताए ।
तर सङ्गठनका अध्यक्ष महेश श्रेष्ठले भने न्यौपानेलाई अध्यक्ष बन्न रहर लागेर आफूखुसी कमिटी गठन गर्दै हिँडेको टिप्पणी गरे ।
उनले भने, ‘त्यो कुनै छुट्टै कमिटी होइन, उहाँहरूलाई अध्यक्ष बन्न रहर लागेको होला । उहाँलाई संगठनबाट जिम्मेवारी दिएर पठाइसकेको छ । नरेशलाई प्रशिक्षण विभाग र सुदूरपश्चिम इन्चार्जको जिम्मेवारी दिइएको छ । हामीले अध्यक्ष, सम्मानित नेता र महासचिवसहित सबैको सहमतिमा निर्णय गरेर जिम्मेवारी दिएका छौँ ।’
अध्यक्ष श्रेष्ठले न्यौपाने पक्षलाई पार्टीको कुनै नेताहरूको साथ नभएको दाबी गर्दै यो कदमबारे चाँडै बैठक बसेर निर्णय गर्ने पनि बताए ।
उनले थपे, ‘सङ्गठनलाई काम गर्न नदिने, अनिर्णयको बन्दी बनाउने, सङ्गठनभित्रै बसेर विपक्षीलाई प्रश्रय दिने गतिविधि गरिराख्नुभएको छ । उहाँहरूले एमालेमा पनि बार्गेनिङ गरिराख्नु भएको थियो । एमालेले नलिएपछि उहाँले यहाँ बसेर भद्रगोल गर्न खोज्नुभएको छ ।’
श्रेष्ठले सच्चिएर आए सङ्गठनमा राख्ने, नत्र कारबाही गर्ने चेतावनी दिए ।

Leave a Reply