काठमाडौं । मदन स्मृति नेकोस यू- १५ (विद्यालयस्तर) राष्ट्रव्यापी बुद्धिचाल प्रतियोगिताका च्याम्पियन हार्दिक पन्तलाई उनी अध्ययनरत कीर्तिपुरस्थित पुष्प सदन स्कुलले सोमबार सम्मानित गरेको छ ।
जनताको बहुदलीय जनवादका प्रणेता मदन भण्डारीको ७४ औँ स्मृति दिवसको अवसरमा गत शनिवार आयोजित प्रतियोगितामा सबै प्रतिस्पर्धीलाई उछिन्दै पन्तले प्रत्येक चरणका खेलमा अग्रता हासिल गरेका थिए ।
१० वर्ष उमेर र कक्षा ६ का विद्यार्थी उनले प्रतियोगितामा भाग लिएका आफूभन्दा ज्येष्ठ प्रतिस्पर्धीहरूलाई पनि हराउँदै च्याम्पियनको उपाधि हासिल गरेका हुन् ।
राष्ट्रिय बुद्धिचाल संघ र हेटौँडा चेस क्लबद्वारा संयुक्त रूपमा आयोजित उक्त खेलका आठ चरणमध्ये सात चरणमा हार्दिक विजेता बनेका थिए । अर्को चरणमा बराबरी भएको थियो । उनले ७।५ अङ्क प्राप्त गरेका थिए ।
प्रतियोगितामा एसियन पब्लिक स्कुलका दिपेन मैनाली दोस्रो र वसुन्धरा नेसनल एकेडेमीका अविन पाण्डे दोस्रो र तेस्रो स्थानमा थिए ।
यू- ९ तर्फ छात्रामा अंकुर पोखरेल र छात्रमा अग्रता आचार्य तथा यू-११ अन्तर्गत छात्रामा निहाना श्रेष्ठ तथा छात्रमा साहस श्रेष्ठ पहिलो भएका थिए ।
च्याम्पियन विजेता पन्त कञ्चनपुर जिल्लाको शुक्लाफाँटा नगरपालिका– १०, झलारीका स्थायी बासिन्दा हुन् । उनी नेकपा एसका युवा नेता माधव पन्तका छोरा हुन् ।

Leave a Reply