के पढाउँदैछौ हामी ?

एसईई परीक्षाको नतिजा आएपछि हरेक वर्ष उच्च माध्यमिक विद्यालयको चहलपहल बढ्न थाल्छ । असार महिनाभर विषय र विद्यालय रोज्ने लहर चलिरहन्छ, चलिरहेकै छ ।

चट्ट टाई, सुट लगाएर झोला भिरेर विद्यालय जाने ट्रेण्ड सेट भइसकेको हाम्रो समाजमा यो महिना उच्च माध्यमिक विद्यालयहरूका लागि हो । वर्षभरलाई विद्यार्थी भर्ना गराउने, साइन्स वा म्यानेज्मेन्ट (विज्ञान र व्यवस्थापन) विषयमध्ये एउटा छनौटमा पार्न लगाउने पछिल्लो उच्च माध्यमिक शिक्षाको फेसन हो, विद्यार्थी मनोविज्ञान पनि यसैसँग जोडिएको छ ।

निजी होस् वा सामुदायिक, विद्यालयहरूका तौरतरिका फरक छैन । मात्रै लक्ष्य छ, विद्यार्थी थप्ने, खर्च धान्ने वा केही मुनाफा गर्ने । यो साल एसईईको राष्ट्रिय उत्तीर्ण प्रतिशत बढ्यो । राज्य नै खुसी भयो । प्रधानमन्त्रीले समेत विद्यालय शिक्षामा नतिजा वृद्धिको लागि शिक्षक थप गरेर, अनलाइन पढाएर गरिएको मेहनतलाई सम्झना गरे । सामाजिक सञ्जालमा बधाई समेत दिए ।

अघिल्ला वर्षहरूमा जस्तो राज्यका नाममा नतिजालाई जोडेर गरिने टिप्पणी अलि घटेको जस्तो पनि देखियो । जेहोस्, अब एउटा पुस्ता के पढ्ने भनेर उच्च माविहरुको चक्कर लगाउनमा व्यस्त छ अहिले ।

हरेक विद्यार्थी राम्रो तहको नतिजाको लागि सधैँ मरिमेटिरहेका हुन्छन्, विद्यालय शिक्षक पनि त्यसैगरी लागिरहेका हुन्छौँ नै । नतिजामुखी पढाइ हामी खोजिरहेका छौँ । लगानी नतिजामा प्रिन्टेड खोजिरहेका छौँ । तर, नतिजा कसरी मापन गर्ने ? मापन गर्ने शिक्षा प्रणाली हामीकहाँ कस्तो छ ?

एक लाइनमा भन्दा, वर्ष दिनको पढाइ तीन घण्टाको सैद्धान्तिक लेखनले मापन गरिने तरिका नै नेपाली शिक्षा प्रणाली हो । विद्यालय शिक्षाको सुरुआत नै यसैगरी हुँदै आएको छ ।

हाम्रो राज्यले निश्चित पाठ्यक्रम निर्धारण गरिदिएको छ । त्यही आधारमा परीक्षा प्रणाली छ । पाठ्यभार निर्धारित छ । सिकाइको तरिका पनि लगभग तोकिएको छ । देशभरका सामुदायिक र निजी विद्यालयले सोही आधारमा पढाउनुपर्ने व्यवस्था छ ।
एउटा विद्यार्थी विद्यालय शिक्षा सकिएपछि कस्तो मानव संसाधन भएर निस्किन्छ ? उसलाई राज्यले कसरी पूँजीमा परिणत गर्न सक्छ ? ऊबाट राज्यले उत्पादन प्रणालीमा योगदानको हिस्सा कसरी प्राप्त गर्न सक्छ ?

युवा विद्यार्थी अनि पाका पुस्ताको सहज उत्तर पाइन्छ, विदेश (विद्यार्थी भिसा) पठाउने । त्यसपछि रेमिन्ट्यान्स प्राप्ति गर्ने ! राज्यको एक तिहाइ बढी अर्थतन्त्र त्यही विप्रेषणले धानिरहेको अवस्थामा यो जवाफ सामान्य रहला ।

तर, अहिलेको यो विश्व साँघुरिएर एकै गाउँ बनिसकेको अवस्थामा १२ कक्षा पास भएको १८ वर्षे तन्नेरीलाई हामीले सीप सहितको शिक्षा दिएका छौँ त ? हामीले सिकाउने शिक्षा, दिने ज्ञान उसको जीवन आवश्यकतासँग मेल खान्छ ? नयाँ तरिकाबाट जीवन अघि बढाउने सीप हाम्रो शिक्षा प्रणालीले समेट्छ त ?

सानो उदाहरण सहित विवेचना गरौँ ।

अघिल्लो साता म चीनको झेजियाङ प्रोभिन्सको निङ्बो सहरमा थिएँ । त्यहाँको एउटा राम्रो प्राविधिक शिक्षालय मध्येमा गनिने निङ्बो पोलिटेक्निक कलेजमा थियो कार्यक्रम । चीन सरकारबाट यसै सालदेखि विश्वविद्यालयको अनुमति पाएको पोलिटेक्निक कलेज रहेछ त्यो ।

चीनको निङ्बो सहर चीनकै मुख्य मध्ये एक मानिने बन्दरगाह भएको सहर हो । जहाँबाट विश्व बजारमा चीनले आफ्नो उत्पादनलाई सामुद्रिक मार्ग हुँदै निर्यात गर्ने गर्दछ । निर्यात गर्ने मूल मार्ग भएकोले चीनको अर्थतन्त्रमा ठूलो मध्यका सहरहरू मध्ये एउटामा गनिने सहर हो निङ्बो । यो सहर अहिले चिनियाँ अर्थतन्त्रमा ११ औँ नम्बरमा रहेको छ ।

यहाँका उद्योग तथा अन्तर्राष्ट्रिय मागका आधारमा प्राविधिक जनशक्ति उत्पादन गर्ने शिक्षण संस्थाका रूपमा चिनिन्छ, निङ्बो पोलिटेक्निक । अहिले चीनमा प्राविधिक शिक्षा हासिल गरेका स्नातकहरूको संख्या १ करोड ९४ लाख पुगेको छ । निङ्बो पोलिटेक्निकका डीन प्रोफेसर काओ बो का अनुसार चीनमा बढ्दो प्राविधिक जनशक्ति नै यहाँका आर्थिक तथा सामाजिक विकासको सबैभन्दा राम्रो आधार हो ।

उनीहरू राज्य र विश्वव्यापी बजारको आवश्यकतालाई हेरेर प्राविधिक शिक्षामा ७० प्रतिशत भन्दा बढी शिक्षाका कार्यक्रम वर्षै पिच्छे अद्यावधि गर्छन् । किनकि चीनमा उद्योगहरूको गतिशीलता बढ्दो छ । उद्योग—शिक्षा एकीकरण नाम दिएर उद्योगहरूले माग गरे अनुसारका कार्यक्रमहरू प्नि उनीहरूले बढाउँदै लगेका छन् ।

अझ अर्को महत्त्वपूर्ण कुरा त, पढाउने प्रोफेसर जो प्राविधिक शिक्षालयमा छ । उसले पनि वर्षमा ३ महिना जुन विषयमा अध्यापन गर्छ, त्यही काम गर्ने उद्योगमा गएर पूर्णकालीन श्रमिकको काम गर्छ । जसका कारण सीप ज्ञानमा मात्रै होइन व्यवहार सिकाउन सकोस् । उनीहरूकै तथ्याङ्क अनुसार चीनमा प्रत्येक वर्ष ८.६ प्रतिशतले तालिम केन्द्रहरूको वृद्धि भइरहेको छ ।

अर्को महत्त्वपूर्ण पक्ष के छ भने स्थानीय स्तरका उद्योग धन्दाहरूमा काम गर्ने ७० प्रतिशत श्रमिकहरू प्राविधिक शिक्षामा स्नातक रहेको उनीहरूको दाबी छ ।

हुन त नेपालमा स्थानीय शिक्षा माध्यमिक तहसम्म स्थानीय तह अन्तर्गत आइसकेको छ । स्थानीय आवश्यकता के छ स्थानीय तहहरूलाई नै थाहा हुने हो । कक्षा १० सम्मको स्थानीय पाठ्यक्रम पनि बनाएर स्थानीय तहले पढाइरहेका छन् ।

तर, ती पाठ्यक्रममा स्थानीय पालिकाका जनप्रतिनिधि र केही जातीय विवरण, स्थलहरूको जानकारी यी नै कुराले भरिएका छन् । हामी चीनजस्तो विकसित होइनौँ । तर, १९८० अगाडि हामी कहाँ थियौँ, त्यसपछिको अर्थतन्त्रमा हामी कहाँ छौँ ?

राज्यको विकासको सबैभन्दा मूल कडी नै शिक्षा हो । एक अन्तरवार्ताका क्रममा चीनको प्राविधिक शिक्षा एसोसिएसनकै अध्यक्ष र निङ्बो पोलिटेक्निकका पनि अध्यक्ष प्रोफेसर चाङ हुइबो आफ्नो जन्मकालको समयको व्याख्या गर्दै भनेका थिए,— चीनले शिक्षा प्रणालीमा गरेको विकास र लगानीले नै आजको अवस्थामा पुगेको हो ।

विश्व अर्थतन्त्रमा पहिलो नम्बरमा गनिने चीनले १ सय वटा विद्यालयबाट थालेको प्राविधिक शिक्षा अहिले आवश्यकताका आधारमा हुने गरी ‘डबल हाइ लेभल’ को स्तरोन्नतिमा लगिसकेको छ । जहाँ सरकार, उद्योग तथा नागरिक सिधा जोडिन्छन् ।

नेपालको पनि आधुनिक शिक्षा प्रणालीको इतिहास लामो छैन । यद्यपि हामीले प्रजातन्त्र प्राप्ति पछिको यो लामो समयलाई आर्थिक विकासको मोडलमा अघि बढाउन भन्दा पनि राजनीतिक स्थायित्वको लागि मात्रै खर्चिरहेका छौँ ।

नेपालमा पनि केही नभएको होइन । तर, शिक्षा प्रणालीमा सुधार भने सीपबाट हुन निकै ढिला भइसकेको छ । हाम्रो स्थानीय आवश्यकता के हो ? खेती गर्ने मूल पेसा हो भने त्यससँग सम्बन्धित ज्ञान विद्यालय स्तरको शिक्षामा राखिएको छ त ? नेपाल धर्म निरपेक्ष मुलुक हो । यद्यपि हाम्रो सामाजिक संस्कृति हिन्दूधर्मबाट निर्देशित छ । हाम्रा सांस्कृतिक प्रचलनहरूमा दुना, टपरी, बत्ती लगायतका संस्कृति सम्बद्ध सीपलाई व्यावसायिक गराउन सकिने सम्भाव्यता छ ।

यस्ता थुप्रै सिकाइ सम्भाव्यतालाई विश्लेषण गर्न जरुरी छ । स्थानीय पाठ्यक्रमहरूले अघिल्लो पुस्ताको सीप पछिल्लो पुस्तासम्म पुर्‍याउन सकिने गरी शिक्षा प्रणालीमा जोड्न जरुरी छ । शिक्षा नतिजाको आँडामा मात्रै होइन राज्य विकासको प्रणालीसँग जोडिनुपर्छ । हामी विकसित देशमा जस्तो विदेश हिँडेका जनशक्तिलाई शतप्रतिशत फर्काउन सक्ने मनोविज्ञान विकास गर्न सक्ने अवस्थामा छैनौँ ।

तर, स्थानीय संभाव्यता पहिचान गराइदिएर स्वदेशमै नयाँ सीपयुक्त काम गर्नेगरी सक्रिय युवा जनशक्तिको सोचाइ सीप परिवर्तन गराइदिन सक्ने गरी शिक्षामा सुधार गर्न अवश्य सक्छौँ । ३ घण्टामा सिंगो वार्षिक सिकाइ मापन गरिने शिक्षा प्रणालीलाई व्यवहारिक सिपमा पनि अङ्कभार थपिने गरी सिकाइ परिणत हुनेगरी सिकाउने प्रणाली लागु गर्न सकेमात्र विश्वबजारसँग प्रतिस्पर्धा गर्न सक्नेगरी जनशक्ति विकास गर्न सम्भव हुन्छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *