काठमाडौं । आज असार १६ गते- संसद दिवस । विस. २०१५ साल असार १६ गते पहिलो पटक निर्वाचित प्रतिनिधिसभा सदस्यहरुको बैठक बसेको दिनको सम्झनामा हरेक वर्ष असार १६ संसद दिवस मनाइँदै आएको छ । आउनुहोस् पहिलो संसद बैठकका बारेमा केही तथ्यहरु बुझौं ।
२००७ सालको क्रान्ति सफल भएको झण्डै आठ वर्ष बित्दा पनि तत्कालीन दरबारले निर्वाचनका माध्यमबाट सरकार सञ्चालनको बाटो खोल्न दिएन । प्रजातन्त्रको स्थापनासँगै निर्वाचित जनप्रतिनिधिद्वारा देशको मूल कानून निर्माणको प्रतिबद्धता उच्च राजनीतिक तहबाट समेत गरिएको थियो ।
तर, दरबारले लामो समय त्यो प्रतिबद्धता पूरा गर्न आनाकानी गरिरहेको इतिहासकारहरूले विभिन्न पुस्तकहरूमा लेखेका छन् ।
यद्यपि तत्कालीन राजा महेन्द्रले लामो समय त्यसै गरी अगाडि बढ्न सक्ने अवस्था थिएन । त्यही कारण बेलायती प्रख्यात संविधान विज्ञ सर आइभर जेनिड्सको सुझावअनुसार २०१४ साल चैत्र ३ गते संविधान मस्यौदा समिति गठन भयो । त्यसअघिसम्म २००७ सालमा बनेको अन्तरिम संविधानबाट देश शासित हुँदै आएको थियो ।
समितिको अध्यक्षमा तत्कालीन लोकसेवा आयोगका कामु अध्यक्ष भगवतीप्रसाद सिंह थिए । भने सदस्यहरूका नेपाली कांग्रेसका तर्फबाट सूर्यप्रसाद उपाध्याय र होराप्रसाद जोशी, गोर्खा परिषद्का तर्फबाट रणधीर सुब्बा र नेपाल ल क्याम्पसका प्रिन्सिपल रामराज पन्त थिए ।
सो समितिले १० भाग, ७७ धारा र १० परिच्छेद रहेको संविधान मस्यौदा तयार पार्यो । सोही मस्यौदा तत्कालीन राजा महेन्द्रले २०१५ साल फागुन १ गते घोषणा गरेका थिए । यही संविधान घोषणा भएपछि नेपालमा पहिलो आमनिर्वाचनको वातावरण तयार भएको थियो ।
यो संविधानले राज्यको शासन सञ्चालन गर्ने, संसदमा प्राप्त बहुमतको आधारमा सरकार निर्वाचित गर्ने र उक्त सरकारलाई निर्देशित गर्ने विधि निर्माण गर्ने सर्वोच्च थलोका रूपमा ‘राष्ट्रिय विधायिका’ (संसद) को परिकल्पना गरेको थियो ।
उक्त संविधानले धारा १८ देखि २२ सम्म संसद र सोको गठन आदि बारे उल्लेख गरेको थियो । जसमा दुई सदन भएको संसद रहने व्यवस्था भए अनुसार तल्लो सदन प्रतिनिधिसभा जनताबाट प्रत्यक्ष निर्वाचित सदस्य रहने ‘प्रतिनिधिसभा’ र उपल्लो सदन जसलाई ‘महासभा’ भनियो । तल्लो सदन प्रतिनिधिसभामा १०९ जना सदस्य रहने व्यवस्था गरिएको थियो ।
तल्लो सदनको व्यवस्थाअनुसार पहिलो प्रतिनिधिसभाको निर्वाचन २०१५ साल फागुन ७ गतेबाट प्रारम्भ भई विभिन्न चरणमा सम्पन्न गर्ने क्रममा चैत्र २८ गते ४५ दिनमा मात्र पूरा भएको थियो । अन्तिम मतपरिणाम आउन थप एक महिना कुर्नुपर्यो । २०१६ साल वैशाख २८ गते अन्तिम मतपरिणाम घोषणा भएको थियो ।
निर्वाचनमा ४२ लाख ४६ हजार ४ सय ४८ मतदातामध्ये १९ लाख ८१ हजार ३ सय ८१ ले अर्थात् ४७ प्रतिशत मतदाताले मात्र आफ्नो मताधिकार प्रयोग गरेका थिए ।
नेपाली कांग्रेसले देशका १०९ निर्वाचन क्षेत्र मध्ये १०८ क्षेत्रमा उम्मेदवारी दिएको थियो । जसमध्ये ७४ सिट ९६८ प्रतिशत० मा जितेको थियो । गोर्खा परिषद्ले जम्मा १९ स्थानमा जितेको थियो भने, नेपाल कम्युनिष्ट पार्टी ४ स्थान जितेको थियो ।
यसरी निर्वाचित प्रतिनिधिसभाका सदस्यहरूको बैठक २०१५ साल असार १६ गते बसेको थियो । सोही कारण नेपालमा पहिलो पटक संसद बैठक बसेको दिनको सम्झनामा संसद दिवस मनाउने गरिन्छ ।
(तस्बिर क्याप्सन : २०१५ साल असार १६ मा पहिलो बैठक बसेको सिंहदरबारस्थित संसद भवन)

Leave a Reply