लहानका उपमेयरले सुनको पैसा नतिरेपछि व्यवसायीले गुहारे मेयर

जनकपुरधाम । सिरहाको लहान नगरपालिकाका उपमेयर रामचलितर महतोले सुन किनेको रकम नतिरेपछि व्यवसायीले मेयरलाई गुहारेका छन् ।

लहान नगरपालिका- ७ स्थित विकास ट्रेडर्सका सञ्चालक राजाराम सारदाले उपमेयर महतोले किनेको सुनबापतको रकम नतिरेको भन्दै मेयर महेश चौधरीसमक्ष निवेदन दिएका हुन् ।

मेयर चौधरीले निवेदन बोर्ड बैठकमा पेश गर्न प्रमुख प्रशासकीय अधिकृतलाई तोकादेश गरेका छन् ।

उपमेयर महतोले २०८१ साउन ३० मा दुई लाख ५१ हजार ४३० रुपैयाँ बराबरको डेढ तोला सुन किनेको विक्रेता सारदाले निवेदनमा उल्लेख गरेका छन् । सुनबापतको रकम ४-५ दिनभित्रै तिर्ने भनेको र हालसम्म नतिरेकाले सोबापतको रकम उपमेयर महतोबाट उपलब्ध गराइदिन सारदाले मेयर चौधरीसँग अनुरोध गरेका छन् ।

उपमेयर महतोले भने विकास ट्रेडर्सबाट आफूले सुन नकिनेको दाबी गरे । उनले आफूलाई जनतामा बदनाम गराउने नियतले यस्तो हर्कत गरेको प्रतिक्रिया दिए ।

उपमेयर महतोले भने, ‘विकाश ट्रेडर्स विकास सारदाको हो । विकास कांग्रेस कार्यकर्ता हुन् । मेयरकै योजनाअनुरुप मलाई बदनाम गर्न निवेदन दिन लगाएको हुनसक्छ । मैले सुन किनेकै छैन । यदि किनेको छु भने मेरो हस्ताक्षरसहितको बिल सार्वजनिक गरोस् ।’

मेयर चौधरी नेपाली कांग्रेस र उपमेयर महतो जसपा नेपालबाट निर्वाचित भएका हुन् । उनीहरुबीच विवाद हुँदै आएको छ । यसैबीच उपमेयरको ‘सुन खरिद काण्ड’ बाहिरिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *