माधव नेपालविरुद्ध झाँक्रीको विस्फोटक अभिव्यक्तिः मरेको सिनो काँधमा हालेर हिँड्न सकिँदैन (भिडिओ)

बुटवल । नेकपा (एस) की नेतृ रामकुमारी झाँक्रीले पार्टी अध्यक्ष माधव नेपाललाई लक्ष्यित गर्दै ‘मरेको सिनोलाई काँधमा राखेर हिँड्न नसकिने’ कडा अभिव्यक्ति दिएकी छन् । उनले हिजो गरेको सो भाषणले नेकपा एसभित्र हलहल मच्चिएको छ ।

नेकपा एससम्बद्ध युवा संघ नेपालको लुम्बिनी प्रदेश भेलालाई सम्बोधन गर्दै उनले शनिबार पार्टीलाई अब पुनर्गठन गर्नुपर्ने बताएकी थिइन् । यसका लागि ‘अर्ली महाधिवेशन’ को माग समेत राखिन् ।

झाँक्रीको आक्रामक अभिव्यक्तिको अंश यस्तो थियोः

पार्टी बनाउने….यस्तै संकटहरूबाट हामी उठ्नुपर्छ । पार्टीमा अर्को ठूलो संकट छ । तपाईंहरू सबैलाई थाहा छ, पार्टीमा संकट छ । अध्यक्षकै बारेमा संकट आयो । अब के गर्ने ? अब पार्टीलाई पुनर्गठन गरेर अगाडि बढ्ने हो । संकट आयो भनेर भाग्ने भनेको होइन । पार्टीलाई पुनर्गठन गरौं । कसरी गर्ने ? अर्ली महाधिवेशन गरौं । अर्ली महाधिवेशनबाट पुनर्गठन गरेर अध्यक्ष बनाऔँ । कहाँ हुन्छ यसरी ? म त भन्छु, अब अर्ली महाधिवेशन गरौँ । कानूनी, संवैधानिक हिसाबले अध्यक्षमाथि संकट आयो । अरु कैयौं पार्टीका सदस्यमाथि पनि समस्या आएकै छ । अब काँधमाथि मरेको सिनो हालेर हिँड्न सकिँदैन । होइन भने, हामी सुध्रिने हो भने नयाँ ढंगले जानको लागि केही डिपार्चर गर्नुपरेन ? गरौँ न त, अर्ली महाधिवेशन गरौँ । अर्ली महाधिवेशन गरौँ, हलबाट नेतृत्व छानौँ । तपाईंमध्ये जो कोही पनि नेतृत्वमा आउन सक्छ । होइन भने मतदाता नामावली सारेर ल्याएका मान्छेहरूबाट, टीका लगाएर बनाएको केन्द्रीय समितिबाट चुनाव लडेर यही पार्टी बनाउने हो भने तपाईंहरुले यो पार्टी बनाउनुहुन्न…।

पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली जग्गा सट्टापट्ट प्रकरणमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । त्यसलाई लिएर नै झाँक्रीले ‘अध्यक्षकै कारण संकट आएको’ बताएकी हुन् ।

पार्टीकै उपमहासचिव मेटमणि चौधरी प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा झाँक्रीले कडा शब्दमा नेतृत्वको आलोचना गरेपछि यसलाई बाहिर आउन नदिन प्रयास भयो । खिचिएका भिडियोहरु डिलिट गर्ने र गराउने कामहरु भएको बुझिएको छ । तर, युवा संघकी केन्द्रीय नेतृ तथा नेकपा एस गोरखाकी अगुवा रेखा तामाङ लोप्चनले आफ्नो फेसबुक वालमा झाँक्रीको भिजुअल अपलोड गरिदिएकी छन् ।

झाँक्रीको यो अभिव्यक्तिले नेकपा एसका नेता-कार्यकर्ताहरूलाई आक्रोशित तुल्याएको छ । अध्यक्ष नेपाल निकट केही युवा नेताहरूले सामाजिक सञ्जालमा उनीविरुद्ध प्रहार पनि सुरू गरेका छन् ।

झाँक्री लामो समयदेखि नेकपा एसभित्र असन्तुष्ट छिन् । नेकपा एस स्थापनाका बखत अध्यक्ष नेपालसँग केही समयअघि उनी नेकपा एमालेमा प्रवेश गर्न लागेको चर्चा पनि चलेको थियो ।

अध्यक्ष नेपालको मुद्दामा थुनछेक आदेश आउने बखत झाँक्री विशेष अदालत समेत पुगेकी थिइन् । थुनछेक बहस सकिएपछि बेलुका अदालत गएकी उनी बाहिर रहेका कार्यकर्ताहरूलाई हात हल्लाउँदै भित्र इलाजसमै पुगिन् । उनी राति अबेरसम्म अध्यक्ष नेपालसँगै थिइन् । करिब चार घन्टा इजलासमै बसेकी उनी अध्यक्ष नेपाल धरौटी बुझाएर निस्किएपश्चात मात्रै अदालतबाट बाहिरिइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *