पोखराका मेयरले भाइको इभेन्ट सेन्टरमा राखे महानगरको अन्तरक्रिया, नगरसभा सदस्यको विरोध

पोखरा । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सहोदर भाइ शिव आचार्यको इभेन्ट सेन्टरमा अन्तरक्रिया कार्यक्रम राखेपछि नगरसभा सदस्यहरुले विरोध जनाएका छन् । मेयर आचार्यले शनिबार दिउँसो साढे २ बजेट पोखरा इभेन्ट सेन्टरमा हुने अन्तरक्रियामा उपस्थित हुन नगरसभा सदस्यलाई सूचना पठाएका थिए ।

तर महानगरको कार्यक्रम निजी स्थलमा गर्न लागिएको भन्दै ४ जना सभासदले असहमति जनाए । असार ८ गते हतारहतार आगामी वर्षको नीति तथा कार्यक्रम एवम् बजेट प्रस्तुत गरेर चीन प्रस्थान गरेका मेयर आचार्य पोखरा फर्किएसँगै उक्त अन्तरक्रिया डाकेका हुन् ।

‘श्री नगर सभा सदस्यज्यूहरू, नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र सभासदहरूबीच अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरिएको हुनाले शनिबार दिनको २ः३० बजे पोखरा इभेन्ट सेन्टरमा उपस्थितिका लागि निर्देशानुसार अनुरोध छ’, नगरसभा सदस्यलाई पठाइएको सूचनामा भनिएको छ ।

जसमा वडा नम्बर ४ सदस्य प्रकाश कोइराला, वडा नम्बर १० सदस्य पूर्णचन्द्र घिमिरे, वडा नम्बर ११ का सदस्य सुशील बास्तोला र वडा नम्बर ३३ का प्रकाश कार्कीले सहभागी नहुने सार्वजनिक रुपमै उद्धोष गरेका थिए ।

मेयर आचार्य चीनमा हुँदा प्रस्तुत नीति तथा कार्यक्रम एवम् बजेटमाथि छलफल हालसम्म सुरु भएको छैन । छलफल सुरु हुनुअघि मेयर आचार्यले प्रि-छलफलका लागि बैठक डाँकेका थिए, तर नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरु पनि बैठकमा सहभागी भएनन् ।

कांग्रेसबाट निर्वाचित वडा नम्बर २५ का वडाध्यक्ष तथा प्रवक्ता मोतिलाल तिम्सिनासहित केही जनप्रतिनिधिमात्र अन्तरक्रियामा सहभागी भएका थिए । नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधि भने सहभागी भए ।

वडा नम्बर २ का अध्यक्ष तथा कांग्रेस दलका नेता दिवसमान प्रधानाङले आफूलाई बैठकको बारेमा जानकारी नभएको बताए ।

‘धेरैजसो नगएको सूचना पाए । सदस्यहरुलाई भनेको सुनेको थिएँ । मलाई त कुनै जानकारी नै भएन । मेरो विचारमा धेरैलाई जानकारी छैन होला’, उनले भने ।

उनले त्यस्ता कार्यक्रम महानगर हल तथा सभागृहमा गरे राम्रो हुने सुझाव दिए । उनले भने, ‘त्यतिको कार्यक्रम महानगरको हलमा गरे पनि हुन्थ्यो । सिटी हलमा गरे पनि हुन्थ्यो । खास किन त्यहाँ लगिएको हो । थाहा भएन ।’

एमालेबाट निर्वाचित वडा नम्बर १५ का अध्यक्ष तोरण बानियाले मेयरको अनौपचारिक अन्तरक्रिया बोलाएको र आफूहरु सहभागी भएको बताए । उनले अन्तरक्रियामा नगरसभा सदस्यहरुले आफ्ना कुरा राखेको उल्लेख गरे ।

पोखरा-२५ का वडाध्यक्ष एवम् नगर प्रवक्ता तिम्सिनाले नगरसभा सदस्यको गुनासो सुन्न मेयर आचार्यले आफ्नै खर्चमा बैठक डाँकेको प्रष्ट्याए ।

‘मेयर साबले बजेट पेस गर्ने दिन नै भन्नुभएको हो । नगरसभा सदस्यले आफ्ना कुरा राख्नेगरी अनौपचारिक बैठक डाँकिएको हो । कांग्रेसबाट निर्वाचिन एकदुई जनाबाहेक अन्य अनुपस्थित हुनुहुन्छ’, उनले भने, ‘महानगरको हल र बीपीसी हलमा नअटाउने र राउन्ड टेबलमा छलफल गर्ने गरी मेयर साबले इभेन्ट सेन्टर रोज्नुभएको हो । यसबाट महानगरलाई दायित्व पर्दैन ।’

मेयर आचार्यले पनि उक्त कार्यक्रम कुनै औपचारिक नगरसभा नभएको प्रष्टीकरण दिए । उनले सहभागी सदस्यका जिज्ञासा र सुझाव नै छलफलका विषय हुने उल्लेख गरे ।

‘तपाईंहरुले नगरसभाको औपचारिक सत्रअघि राख्न चाहनुभएको जिज्ञासा तथा सुझावहरुलाई ध्यानमा राख्दै यो छलफलको आयोजना गरिएको हो । यस बैठकका लागि निश्चित एजेन्डा छैन । तपाईंहरुको जिज्ञासा र सुझाव नै छलफलका विषयवस्तु हुनेछन्’, मेयर आचार्यले लेखेका छन् ।

उनले थपे, ‘यो कुनै औपचारिक नगरसभा कार्यक्रम होइन । नगरसभा सदस्यज्यूहरू, मेयर, उपमेयर तथा प्रमुख प्रशासनिक अधिकृतबीच अनौपचारिक छलफलका लागि आयोजना गरिएको बैठक हो । त्यसैले कार्यक्रममा कुनै ब्यानर रहने छैन ।’

मेयर आचार्यको भाइको स्वामित्वमा रहेको उक्त इभेन्ट सेन्टरमा पछिल्लो समय महानगरका गतिविधि अधिक मात्रामा हुने गरेका छन् । आजै पोखरा महानगरपालिका नगर युवा परिषद्ले उक्त ठाउँमा ६ युवालाई वर्ष उत्कृष्ट पुरस्कार प्रदान कार्यक्रम गरेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *