ईश्वर पोखरेलको चेतावनी- एमालेमा उमेर हद र कार्यकालको व्यवस्था लहडको कुरा होइन

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमालेले आफ्नो विधानमा राखेको २ कार्यकाल अध्यक्ष र ७० वर्षे उमेर हद लहडको विषय नभएको बताएका छन् ।

मदन भण्डारी फाउन्डेशनले शनिबार आयोजना गरेको कार्यक्रममा पोखरेलले पार्टी जीवनको लोकतान्त्रीकरण जबजको मुख्य आत्मा भएकाले तलमाथि गर्न नमिल्ने बताए ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले भने, ‘दशौं महाधिवेशन र त्यसअघिको विधान अधिवेशनले छलफल गरेर पारित गरेका दस्तावेज हामीसँगै छन् । महाधिवेशनले पारित गरेको कार्यकाल,उमेरका पनि कुरा छन्, नियन्त्रण र सन्तुलनका कुरा पनि राख्यौं । त्यो राखेको भनेको कुनै झोँकमा राखेको थिएन, त्यो सुविचारित ढंगले लामो समयदेखि तीन दशकदेखिको बहसपछि राखिएको हो । यसलाई तलमाथि गर्ने कुरा स्वीकार्य हुँदैन ।

पूर्वउपप्रधानमन्त्री पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले जबजलाई विकास निर्माणमा मात्र व्याख्या गरेको भन्दै जबजको खोजी पार्टीभित्र र आन्तरिक लोकतन्त्रको सन्दर्भमा खोजिनुपर्ने बताए ।

उनले विगतमा ओलीकै नेतृत्वमा एमालेमा लोकतान्त्रीकरणको विचार पारित भएकोसमेत स्मरण गराए ।

पोखरेलले विधान महाधिवेशनको बेलामा पार्टीको लोकतान्त्रिकरणको बारे बोल्न पाउँदैनस् भन्न नमिल्ने भन्दै पार्टी नेतृत्वबाट आएका अभिव्यक्तिमा समेत असन्तुष्टि जनाए ।

Comments

One response to “ईश्वर पोखरेलको चेतावनी- एमालेमा उमेर हद र कार्यकालको व्यवस्था लहडको कुरा होइन”

  1. ksp pyl Avatar
    ksp pyl

    विद्याले एमालेमा आउनुहुन्छ पनि भन्ने अनि कार्यकाल र उमेरहदको कुरा पनि गर्ने यस्ता अनैतिकहरूले गर्लान के ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *